अनुभूति | पराजित भएर फर्किएको खारा मोर्चा

  चन्द्रा बस्नेत  5265 पटक हेरिएको

चैतको गर्मी शुरु हुँदै थियो। आज भन्दा ठीक १५ वर्षअघिको कुरा हो यो– हामी रोल्पाको पश्चिम क्षेत्रमा थियौं।

म त्यतिबेला माओवादी जनमुक्ति सेनाको एक सदस्य थिएँ। जनमुक्ति सेनाको सैन्य संरचना अनुसार देशलाई ३ कमाण्डमा बाँडिएको थियो– पूर्वी कमाण्ड, पश्चिम कमाण्ड र मध्य कमाण्ड।

हामी जनमुक्ति सेनाको मध्य कमाण्डअन्तर्गतको मंगलसेन स्मृति फस्र्ट ब्रिगेडका सदस्य थियौं। मध्य कमाण्डको कमाण्डर अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ हुनुहुन्थ्यो। म सदस्य रहेको मंगलसेन स्मृति ब्रिगेडको कमाण्डर विवेक हुनुहुन्थ्यो।

माओवादीले जनयुद्ध शुरु गरेको ९ वर्ष पूरा भएर दश वर्ष शुरु भएको थियो। त्यहीँ समयमा पार्टीले रणनीतिक प्रत्याक्रमणको दोस्रो चरणको योजना तय गरेको थियो।

जनमुक्ति सेनाले सैन्य संगठनभित्र पनि जनकलाकारहरुको टीम तयार गरेको थियो। म सानैदेखि कलाकारिता क्षेत्रमा काम गरेको हुँदा सैन्य फर्मेसनमा पनि जनसैन्य कलाकार टोलीको सदस्य थिएँ।

त्यतिबेला हाम्रो ब्रिगेडको जनसैन्य कलाकार टोलीको कमाण्डर विमर्श र कमिश्नर अजयदीप शर्मा हुनुहुन्थ्यो।

हामी जनमुक्ति सेनाका कमरेडहरुलाई उत्साहित बनाउन र ऊर्जा बढाउन क्रान्तिकारी गीतसंगीत, नृत्य र नाटक (ओपेरा) प्रस्तुत गथ्र्यौं। त्यसले जनसेनाका कमरेडहरुलाई लडाईंको मैदानमा लड्न थप प्रेरित गथ्र्यो।

आक्रमणको संकेत

हामी बसिरहेको रोल्पाको हान्निङमा केही दिनमै ब्रिगेडको सम्पूर्ण फौज जम्मा भयो। जनमुक्ति सेनाका हरेक टुकडीभित्र भइरहेको चहलपहल, कमाण्डरहरुको दौडधुप र कामकाज हेर्दा छिट्टै ठूलै फौजी कार्बाही हुँदैछ भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो। उसो त रोल्पामा जनमुक्ति सेना केन्द्रित हुँदैछ भन्ने तत्कालीन राज्यलाई पनि थाहा भएको हुनुपर्छ– दुई÷चार दिन बिराएर सेनाको जासुसी विमान र हेलिकोप्टरबाट हवाई गस्ती गरिरहन्थ्यो।

त्यो बेला गोपनीयता, सैन्य अनुशासन र चेन अफ कमाण्डको महत्व निकै हुन्थ्यो। अहिले जस्तो जसले जे पनि मनपरी गर्ने, जथाभाबी बोल्ने भन्ने कुरा युद्धकालमा कल्पना समेत हुँदैनथ्यो। सैन्य अनुशासनमा रहनु र कमाण्डरको आदेश पालना गर्नु हरेक सदस्यहरुको कर्तव्य हुन्थ्यो। त्यसैले कमाण्डरहरुलाई अब कहाँ, कहिले आक्रमण हुँदैछ भनेर कसैले सोध्ने कुरा पनि हुँदैनथ्यो। युद्धसामग्रीहरुको संकलन, सरसफाई, स्वास्थ्य विभागको चटारो यस्तै–यस्तै तयारीबाटै बुझिन्थ्यो– अब छिट्टै फौजी कार्बाही हुनेछ।

ब्रिगेडको सबै शक्ति केन्द्रित भइसकेपछि हाम्रो जनसैन्य कलाकार टोलीले रोल्पाको हान्निङमै एक दिन राती साँस्कृतिक कार्यक्रम गर्यौं। कार्यक्रममा जनमुक्ति सेनाका साथै स्थानीय गाउँलेहरु पनि सहभागी भएका थिए।

म्याप कोचिङ र कमाण्डरको निर्देशन

हामीले अनुमान गरेजस्तै ठूलै फौजी कार्बाहीको तयारी हुँदै रहेछ भन्ने कुरा सम्बन्धित बटालियन र कम्पनीका कमाण्डरहरुमार्फत् खबर आइसकेको थियो। तर कहाँ हुँदैछ भन्ने थाहा थिएन।

आक्रमणको केही दिन अघिमात्रै रोल्पाकै दुम्ला जंगलमा नक्साको कोचिङ तथा कमाण्डरहरुले निर्देशन दिनुभयो। नक्साको ब्रिफिङ गर्दा पनि स्थान प्रष्ट भनिएको थिएन तर भूगोलको अध्ययन गर्दा त्यो रुकुम खारास्थित शाही सेनाको क्याम्प हो भन्ने अनुमान गर्न सकिन्थ्यो।

म जीपीएमजी ग्रुपमा परें

दुम्लामा नक्साको ब्रिफिङ र कमाण्डरहरुको निर्देशनपछि हामी सबै आ–आफ्नो फर्मेशनको आवश्यक तयारीमा जुट्न पुनः हान्निङ फर्कियौं। जनसैन्य कलाकारको टोली आर्टिलरी ग्रुप (ठूला हतियार)मा विभाजन भयो। हामीसँग ठूला हतियार भनेको एट्टी वान र जीपीएमजी थिए।

कार्य विभाजनअनुसार म जीपीएमजी ग्रुपमा परें। प्लाटून कमाण्डर विधान दाजुको नेतृत्वमा रक्तिम, विमल, निर्मलालगायत पर्यौं भने विमर्श दाजुसहित सर्मिला, पाटन, सिस्टमलगायतका साथीहरु एट्टी वानको ग्रुपमा पर्नुभयो। जीपीएमजी ग्रुपमा हाम्रो कमिश्नर अजयदीप शर्मा पनि हुनुहुन्थ्यो।

गन्तव्यतर्फको यात्रा शुरु

सदस्य र हातहतियारको बाँडफाँड गरिसकेपछि हामी लडाईं लड्न शारिरीक तथा मानसिक रुपमा तयार भएर हान्निङबाट गन्तव्यतर्फको यात्रा शुरु गर्यौं।

जनमुक्ति सेनाको त्यो लावालस्कर– पुराना हतियार पनि सफा गरेर टिलिक्क टल्किछन्। कसैले माइन बोकेका छन् त कसैले गोलीका माला। कम्मरमा ग्रिनेड, काँधमा दुईतिर जीपीएमजीका माला, हातमा राइफल, पिठ्यूमा झोला– झोलामा सातु, पानी पिउने जर्किन र बन्दोबस्ती सामान। जनमुक्ति सेनाको ड्रेसमा सजिएका हतियारबद्ध योद्धाहरुको लस्करमा आफूलाई पनि पाउँदा छुट्टै खुसी र गर्वको अनुभूति हुन्थ्यो।

आँखाले समेत देखेर नसकिने लावालस्करको बीच–बीचमा स्टे«चर, गैंटी–बेल्चा, कोदाली, आधा काटिएका डोको बोकेका आफ्नै साथीहरुलाई देख्दा भने शरिरमा काँडा उम्रिन्थे।

साथीहरु ठट्टा गर्थे– यो स्ट्रेचरमा त मलाई बस्न मन छ, राम्रोसँग बोक्नु है!’

गह्रुंगो भारी, लामो हिडाइ र भोक तिर्खाले हैरान बनाउँदा पनि लडाईंको मैदानमा पुग्ने उत्कट चाहना र साथीहरुको ख्याल ठट्टाले सबै दुःख बिर्साउँथ्यो।

आक्रमणको अघिल्लो दिन हाम्रो टोली रोल्पाको सुखाओढार बस्यो। भोलिपल्ट बिहान खाना खाएर त्यहाँबाट अन्तिम सेल्टरको रुपमा सल्यानको बाफूखोला पुग्यौं। त्यसपछि हामी ढुक्क भयौं कि– अबको केही घण्टाभित्र हुने लडाईं रुकुमको खारास्थित सैन्य क्याम्प हो।

बाफूखोला आइपुग्दा स्थानीय पार्टीका नेता, कार्यकर्ता र जनता हाम्रो खानाको बन्दोबस्तका लागि मेस सञ्चालन गरिरहेका थिए। स्वयंसेवकहरु डोका, स्ट्रेचरहरु बनाइरहेका थिए। हामी दिउँसो ४ तिर आ–आफ्नो समूहमा खाना खाएर आक्रमणको अन्तिम तयारीमा जुट्यौं।

हामी बाफूखोलाबाट खारातर्फ ‘साइलेन्ट मुभ’ भयौं। बेलुकी ठीक आठ बजे हाम्रै जीपीएमजी ग्रुपले फस्ट फायर खोल्ने कमाण्डरको निर्देशन थियो। कमाण्डरको निर्देशनअनुसार आठ बज्नुअघि नै सबै ग्रुप आ–आफ्नो ‘आर्क’ मा पुगिसक्नुपर्ने थियो।

अहिलेको खारा व्यारेक । तस्बिर: कुलदीप न्यौपाने

घमासान युद्ध शुरु

हामी जंगलको बाटो उकालोमा हस्याङफस्याङ गर्दै रुकुम र सल्यानको सिमाना खौला पुग्यौं। त्यहाँबाट झुल्नेटा बजार क्रस गरेर अलि तलको जंगलमा पुगेका मात्रै के थियौं– एक्कासी ठूलो विष्फोटको आवाज आयो। हामीलाई जिम्मा दिइएको आर्कमा नपुग्दै विष्फोट भएपछि दुश्मन पक्षले थाहा पाएको हामीले अनुमान गर्यौं। दौडदै आर्कमा पुगेर हाम्रो ग्रुपको कमाण्डर विधान र सदस्य तुफानले जीपीएमजी फिट गरेर फायर खोल्नुभयो। हामीले भने कभर लिदै बंकर खन्न थाल्यौं।

एकछिन अघिसम्म सुनसान खारा एकैछिनमा युद्धभूमिमा परिणत भयो। विष्फोटका आवाजले जमिन नै थर्किन्थ्यो भने वारिपारिका डाँडापाखाहरुमा बम गोलीको ध्वनि प्रतिध्वनिले गुञ्जायमान हुन्थ्यो।

दोहोरो गोली हानहान र कासनको क्रम निकै लामो समयसम्म चलिरह्यो। गोलीहरु यति नजिक भएर जान्थे कि छेवैबाट चुईचुई गरेको आवाजले मात्रै थाहा हुन्थ्यो। शाही सेनाले व्यारेकबाट बेला बेलामा भेरिलाइट हानेर डाँडापाखा नै झिलिमिली बनाइदिन्थ्यो। भेरीलाइटको प्रकाशबाट बच्न हामी आफै बनाएका बंकर (खाल्डो)मा कभर लिन्थ्यौं।

लडाईं शुरु भएको केही समयपछि ब्रिगेड कमाण्डर विवेक जीपीएमजीको आर्कमा आइपुग्नुभयो। उहाँले हाम्रो एसल्ट अगाडि बढिसकेको भन्दै लडाईं जितिन्छ, नआत्तिएर लड्नुस् भनेर हौसला दिनुभयो। हामीलाई उहाँको उपस्थितिले हौसला बढ्यो।

टूइन्च मोर्टारले झण्डै सिध्यायो

मध्यरात भइसकेको थियो– लडाईं चलिरहेको थियो। सैन्य क्याम्पबाट हानेको टूइन्च मोर्टार मेरै अगाडि पर्यो। मोर्टारको धमकाले पूरै जमिन थर्कियो। म बंकरमा कभरमा बसिसकेकी थिएँ।

कमाण्डरले ‘प्रतिष्ठा’ भनेर कराउनुभयो। मैले तत्कालै ‘हजुर’ भनेर आफूलाई केही नभएको जानकारी गराएँ। मोर्टार म भन्दा अलि अगाडि खसेको थियो। म भने बंकरमा माटैमाटो भएकी थिएँ।

समय बित्दै गयो। लडाईं टुङ्गिने छाँट देखिएन। दुवैतर्फ घाइते हुनेहरुको ‘ऐय्या! मरें’ जस्ता चित्कार बढ्न थाले। कति घाइतेहरुलाई पछाडितिर लाँदै गरेको पनि देखिथ्यो। कतिपय साथीहरु सहिद भइसकेका थिए। तर, को घाइते भयो? को सहिद भयो भन्ने केही थाहा थिएन।

नाइट भिजन हेलिकोप्टरको गस्ती

बिहानपख हुनुपर्छ– आकाशमा हेलिकोप्टरको आवाज सुनिन थाल्यो। बिस्तारै खाराको आकाशमा सेनाको नाइटभिजन हेलिकोप्टरले गस्ती लगाउन थाल्यो। तर, किन हो त्यति धेरै हेलिकोप्टरबाट आक्रमण गर्न सकेन। हाम्रो जनमुक्ति सेनाको फोर्स पनि हेलिकोप्टरको कुनै पर्वाह नगरी लडिरह्यो।

बिहानपख लडाईं चल्दै गर्दा एसल्टका साथीहरु तारबार भित्र छन्, तिनीहरुलाई सर्पोटका लागि अझ अगाडि जानुस् खबर आएपछि जीपीएमजीको ग्रुपबाट रक्तिम दाजु, विमल लगायतको टोली अगाडि गयो। विडम्बना ! सपोर्ट दिन गएकै ग्रुपका साथी पनि ढलेपछि उहाँहरु ब्याक हुनुभयो।

बिहान भयो, लडाईं सकिएन

उज्यालो भइसक्यो तर लडाईं टुङ्गिएन। कति साथीहरु ढले? कति घाइते भए? केही हिसाब भएन। रातभरको लडाईंले शाही सेनाहरु पनि थाके होलान्, उनीहरु रातीजस्तो चर्को बम गोली बर्साउन छाडिसकेका थिए। हाम्रोतिर पनि अपेक्षित सफलता नहुँदाको निरासा, थुप्रैको सहादत र घाइते भएकाले होला– आक्रमण खरो हुन सकेन।

बिस्तारै घाम चर्को लाग्दै थियो– अब भने शाही सेनाको फाइटर हेलिकोप्टर, जासुसी विमानले आकाशबाट आक्रमण गर्न थाले। हेलिकोप्टरको सर्पोट पाएपछि व्यारेकबाट पनि तीव्र फायरिङ शुरु भयो। जनमुक्ति सेनाले जीपीएमजी, एलएमजी, एसएलआरले हेलिकोप्टरमाथि जवाफी हमला गर्यौं।

शुरुको हेलिकोप्टर आकाशमै फन्को मारेर फर्कियो। तर, केही छिनपछि आएको ठूलो हेलिकोप्टर जबर्जस्त व्यारेकमै ल्याण्ड गर्यो। त्यो हेलिकोप्टरले सायद थप सेना र हतियार गोली गट्ठा ल्याएको हुनुपर्छ।

दिउँसो १२ बजेसम्म पनि हामी बेलुकीदेखि बसेकै आर्कमा थियौं। समन्वयको अभावले हामी पछि परेका रहेछौं। लडाईं हारियो भनेर करिब १० बजेतिर नै सबैतिरबाट हाम्रो फोर्स ब्याक भइसकेको रहेछ। एकैपटक दुई तीनवटा हेलिकोप्टरले आक्रमण गर्न थालेपछि कमाण्डर विधानले जीपीएमजी सिधैं उचालेर हेलिकोप्टरमाथि अटोमै फायरिङ गर्नुभयो। त्यसपछि हेलिकोप्टर केही माथि गएपछि फायर गर्दै ब्याक भयौं।

हारेर फर्किदाको पीडा

सबै साथीहरु फर्किइसकेको र लडाईं हारिसकेको थाहा भएपछि हामी आफ्नो आर्कबाट जंगलतर्फ लाग्यौं। हारेर फर्किनुको पीडा कस्तो हुन्छ? त्यतिबेला नराम्रोसँग अनुभूति भयो। भोक, तिर्खा, अनिदोको पीडाभन्दा कयौं गुणा ठूलो पीडा लडाईंमा हार्नुपर्दा हुँदोरहेछ।

जमिन र आकाश दुवैतर्फबाट निरन्तर हमला गर्न थालेपछि हामी रुखमा छलिदै, लुक्दै खारा व्यारेकभन्दा माथि झुल्नेटाको तलको जंगल आइपुग्यौं। त्यहाँ तितरवितर भएर फर्किएको अन्य टोलीसँग पनि भेट भयो। हेलिकोप्टरको हवाई हमला जारी थियो।

फर्किदा साथीहरुले सुनाउनुभयो, एसल्टमा गएका केही साथीहरु तारबारभित्रै सहिद हुनुभयो रे। तारबारमा अल्झिएका साथीहरुका लागि सपोर्टका लागि जानुभएका बटालियन भिसी चिरन पनि सहिद हुनुभएछ।

कति साथीहरु सहिद भए? कति घाइते भए केही पनि थाहा थिएन। सबै अन्धाधुन्ध थियौं। बाटोमा भेटिएका साथीहरुले आफूले चिनेका साथीहरु सहिद भएको सुनाउनुहुन्थ्यो। हवाई हमला जारी थियो– आफू कसरी जोगिएर फर्किने भन्ने चिन्ता पनि उत्तिकै थियो।

जसोतसो साँझ परेपछि डल्सिङ्गे डाँडामा पुग्यौं। अघिल्लो दिन साँझ बाफूखोलामा खाएको खानापछि मुखमा पानी समेत परेको थिएन। डल्सिङ्गे गाउँमा आफै मेस चलाएर करिब ३० घण्टापछि खाना खायौं।

भोलिपल्ट थाहा भयो– लडाईंमा जानुअघि सँगसँगै हाँस्दै रमाउँदै खेलेका, मेसमा दुई दिनअघि सँगसँगै खाना खाएका थुप्रै साथीहरु गुमाइएछ। यो लडाईंबाट फर्केपछि सँगै घर जानुपर्छ है भनेर सल्लाह गरेकी मेरो गाउँकै साथी रीता कँवर पनि सहिद भइछिन्।

मैले नजिकबाट चिनेका चेतना दिदी, सुरज, सौगात, लालबहादुर, जलन लगायत धेरैको सहादत भएछ। त्यति धेरै सहयोद्धाहरु गुमाएर पनि लडाईं हार्नुपर्दाको पीडाले पछिसम्म सताइरह्यो।

झन् रेडियोले ‘रुकुमको खारा लडाईंमा सयौं माओवादी आतंककारी मारिएको’ भनेर समाचार भनिरहँदा मन कटक्क खान्थ्यो। खाराको हारपछि शाही सेनाले हामीलाई यसरी पिछा गर्यो कि जमिन र आकाशबाट आक्रमण गरिरह्यो। खारापछि डल्सिङ्गे, रातामाटा, घर्तीगाउँ, हान्निङ, कोटगाउँ, भाबाङसम्म दोहोरो भिडण्त भइरह्यो।

भाबाङबाट जलजलातर्फ लागेपछि भने दुश्मन सेना रनभुल्ल पर्यो कि थकित भयो कुन्नी? हाम्रो पीछा गर्न छोड्यो।

खारा हारको १५ वर्षपछि

मेरो लागि खाराको लडाईं जीवनकै एउटा निकै दुःखद घटना बनेको छ। उसो त खारा मात्रै होइन, जनयुद्धकालमा म सहभागी भएका अरु लडाईंहरुको स्मृति अहिले पनि ताजै छन्। तर, अरु ठाउँभन्दा खारामा भोगेको पराजयको पीडा सम्झिदा शरिरभरि काँडा उम्रिन्छ।

कहिलेकाँही आफैलाई विश्वास लाग्दैन– के त्यतिबेलाका ती मोर्चाहरुमा म पनि थिएँ र ? त्यतिबेला फर्किएर फेरि घर गइएला, परिवार होला जस्तो पनि लाग्दैनथ्यो।

तर अहिले स्थिति फेरिएको छ। त्यतिबेला लडाईंको मोर्चामा सँगै लडेका साथीहरु कति खाडीमा होलान्, कति देशमै दुःखजिलो गरेर जिविका चलाइरहेका छन्। कति राजनीति गर्दै होलान्, कति सेना समायोजनमा गएर नेपाली सेनाका सिपाही भएका छन्। कतिको त बिचल्ली नै भएको छ। ख्वै कहाँ गयो हिजोको त्यो सपना ?

हेर्छु– हिजोको त्यो त्याग र बलिदानको भावना ! साथीको लागि ज्यान दिने त्यो समर्पणभाव ! अनि, आज त्यत्रो बलिदानको जगमा बनेको पार्टीको टुटफूट र विसर्जन ! पार्टीभित्रै फैलिएको चरम व्यक्तिवाद, गुटबन्दी र आफ्नो स्वार्थका लागि आफ्नैमाथि गरिने घात, अन्तर्घात !

कहाँबाट कहाँ पुग्यौं हामी?

हजारौंको बलिदान र लाखौंको कठीन संघर्षबाट प्राप्त उपलब्धि जोगाएर फेरि पनि त्याग, बलिदान, सामूहिक भावना र वर्गीय मुक्ति आन्दोलनको सपना पूरा गर्न सम्भव होला?

अहिले पनि आकाशमा चट्याङ गर्जिदा र हेलिकोप्टरको आवाज सुन्दा झस्किन्छु। लाग्छ– म अझैं युद्धकै त्यहीँ भीषण मोर्चामै छु।

खारा आक्रमणको तयारी र लडाईंको केही दृश्य हेर्नुस्-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार