कविता | नयाँ वर्ष

  भीम कुमाखी  300 पटक हेरिएको

लाली फक्रियो पखेरीमा
राताम्मै छ रनवन
चिरबिर गर्दैछन् चरी
नयाँ-नयाँ भाका हाल्दै
लहराउँदै छन् लता
वैंशालु नवपालुवासँगै
कोइली र न्याउलीहरू
बसन्त सुसेल्दै छन्
पुराना पत्र झरेर
कलिला पल्लव मुस्कुराइरहेछन्
हरेक बाह्र महिना सकिएपछि
उदाउँछ यो पर्व
अर्को खुसीको लहर बोकी
आयो नयाँ वर्ष !

बसन्तको मध्यान्तरमा
पाइला टेक्छ यो
पुरानो दुनियाँ बिर्साउँदै
काँचुली फेर्छ यो
आकांक्षा हुन्छ सबैको
दुःख र दर्द मेटियोस्
सुखको दिन सुरू होस्
मनभित्रका हरेक सतरञ्जमा
सफलताको पवन चलोस्
बासी हरचिजको अन्त्य गरेर
नयाँ सभ्यता विकास होस्
मनभित्रका हर चाहाहरू
पूरा हुने यात्रा बनोस्
यो सुखमा बितोस्
गरोस् सबैले गर्व
आशाको दियो सल्काई
आयो नयाँ वर्ष !

पालुवा पलाउदै गर्दा
चरीहरू नाच्दै गर्दा
समयले काँचुली फेर्दै गर्दा
रहर ओइलाई रहेछ
दुनियाँभर त्रासदी छ
मानव जगत नै
महामारीको चपेटामा छ
सपनाहरू मुर्छित छन्
कोभिड नाइन्टिनको हमलाले
मानव जीवनका दैनिकी फेरिएका छन्
जाने यो समयले
मृत्यु लिएर आयो
दुःखान्त घटना चियाउँदै
वित्यो त्यो बर्ष
विपदका हर चुनौति तोड्न
आयो नयाँ वर्ष !

अबको यात्रा
अनिश्चयको लागि झै
आरम्भ भयो आजैदेखि
प्रविधिको उच्चतम विकास
यहीँ जातिले गर्यो
विश्वयुद्धका भयानक घाउ
यहीँ मानवले पुर्यो
चन्द्र र मंगल ग्रहमा
वस्ती बसाउने सपना
यही मनले देख्यो
अबको जैविक हमला विरूद्ध
यही प्राणी भिड्छ
हरेक कठिनाई झेलेर
सुगम दुनियाँको नक्सा कोर्छ
साँचिकै मानव जातिको लागि
सुगम बन्ने गरी लड्छ
पूरा गर्छ धर्तीका अनगिन्ती शर्त
उत्साहको बहार बन्ने गरी
आयो नयाँ वर्ष ।

बैशाख १, २०७७
खलंगा, सल्यान

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार