
म्याग्दी, असार २६ । अविरल वर्षासँगै आएको पहिरोमा परी म्याग्दीका ३३ जना बेपत्ता भएका छन्। बिहीबार रातिदेखि बाढीपहिरोमा परी ३३ जनाभन्दा बढी बेपत्ता भएको र विभिन्न स्थानका ३५ घर पुरिएका हुन्।
पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धारकर्ता घटनास्थल पुग्न सकेका छैनन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन्। मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन्।
त्यसै गरी मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन्। मालिका गाउँपालिका–४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्याएको स्थानीयले बताएका छन्।
भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताउनुभयो। धवलागिरि गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिनुभयो। ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ।
यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ। नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो।
बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ। रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ।
रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन्। सो बस्ती कटानको उच्च जोखिममा परेको छ। स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको उहाँले जानकारी दिनुभयो।
गलेश्वरका स्थानीय दीपक कार्कीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताउनुभयो। बेलिब्रिजको छेउमा पक्की पुल निर्माणका क्रममा छ। पहिरो प्रभावित ठाउँमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो। घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ।
वर्षा भइरहेको र बादल लागेको तथा ठाउँ ठाउँमा पहिराले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले जानकारी दिनुभयो। प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उहाँले बताउनुभयो।
बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिञ्गा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ।
भू तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाइ म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सीमित ठाउँमा भएको अत्यधिक वर्षा, कमजोर भूगोल र अव्यवस्थित विकास गतिविधिले पहिरोको जोखिम बढेको बताउनुभयो।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको बाढीले क्षति पु¥याएको पुल। तस्बिरः सन्तोष गौतम/रासस