लकडाउनपछि युएईमा ८९ नेपालीको गयो ज्यान

  हल्कारान्यूज  1311 पटक हेरिएको

दुबई । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारी शुरु भएपछिका चार महिनाको बीचमा युएईमा ८९ जना नेपालीको ज्यान गएको छ। लकडाउन शुरु भएको गत मार्च २२ अर्थात् चैत ९ गतेपछि युएईमा यी नेपालीहरुको ज्यान गएको हो।

यो अवधिमा कोरोना संक्रमणबाट मात्रै २९ जना नेपालीको ज्यान गएको आबुधावीस्थित नेपाली दूताबासले जनाएको छ। दूताबासका अनुसार कोरोना संक्रमणबाट एक महिला र २८ जना पुरुषको ज्यान गएको हो।

कोरोना संक्रमणबाट मृत्यु भएका २९ र अन्य कारणले मृत्यु भएका ४२ गरी ७१ जनाको युएइमै दाहसंस्कार गरिएको नेपाली दूताबासले जनाएको छ। दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवको यूएईमै अन्त्येष्टि गरिएको हो।

बाँकी १८ मध्ये ११ जनाको शव नेपाल पठाइएको छ। ७ जनाको शव भने युएईको विभिन्न अस्पतालको शवगृहमा राखिएको छ। नियमित हवाई उडान नहुनु तथा अन्य विभिन्न कारणले शव नेपाल पठाउन समस्या भएको दूतावासले जनाएको छ।

युएई नेपाली श्रमिकका लागि रोजाईमा पर्ने श्रम बजारका रुपमा परिचित छ। हाल यूएईमा दुई लाख ७५ हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्।

फोटो क्याप्सनः कफिनबक्समा फर्किएका नेपाली– लकडाउनपछि विदेशमा मृत्यु भएका नेपालीहरुका शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिरः महेन्द्र महक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार