व्यवहारको कसीमा साँस्कृतिक रुपान्तरण

सहयात्रीहरुको नाउँमा अनुयायीहरु मात्र निर्माण गर्ने रोग कम्युनिष्ट आन्दोलनको भयानक रोग हो।

  प्रमोद धिताल  487 पटक हेरिएको

कुनै पनि राजनीतिक आर्थिक व्यवस्थामा परिवर्तन भइसकेपछि समाजमा विद्यमान पुरानो संस्कृति स्वतः फेरिदैन। फेरिनको लागि त्यसले महत्वपूर्ण आधारको काम त गर्छ तर राजनीतिक वर्गसंघर्षको नियम संस्कृति र विचारधाराको क्षेत्रमा पनि उत्तिकै लागू हुन्छ। यदि त्यो काम स्वतस्फूर्त रुपमा हुन्थ्यो भने देशमा निरंकुश राजतन्त्रात्मक सामन्तवादी व्यवस्थाको अन्त्य भएर गणतन्त्रको स्थापना भएको डेढ दशक हुन थालिसक्यो। के सामन्तवादी मूल्य, मान्यता, चिन्तन, विचारधारा, रीतिरिवाज र बानी ब्यहोराहरुमा स्वतः परिवर्तन भयो त? यतिखेर पनि लैंगिक उत्पीडन कायम छ। जातीय उत्पीडन कामय छ। साँस्कृतिक पछौटोपन यथावत् छ। विचारधारा, संस्कृति, रितिरिवाज र आनीबानीका हिसाबले समाज धेरै हदसम्म पुरानै ठाउँमा छ। यतिखेर पनि जुन वर्गको हातमा राज्यसत्ता छ ऊसँग साँस्कृतिक आन्दोलन या क्रान्तिको कार्यक्रम हुने कुरै भएन। जे जस्तो सम्झौता र समीकरणअन्तर्गत राजनीतिक व्यवस्थामा परिवर्तन भयो त्यसमा साँस्कृतिक रुपान्तरणको कुनै एजेण्डा नै थिएन। त्योसँग एउटै एजेण्डा थियो त्यो भनेको राजतन्त्रको अन्त्य गर्नु। तसर्थ अहिलेको सत्ताको चरित्रले शोषक वर्गीय संस्कृतिको अन्त्य गरी उत्पीडित वर्गको पक्षमा वैज्ञानिक, समतामूलक र उन्नत संस्कृतिको निर्माण गर्छ भनेर विश्वास गर्नु अज्ञानतामात्र हुन जान्छ। जसले यतिखेर ती सबै संंस्कृतिहरुलाई निरन्तरता दिइरहेको छ जुन जनविरोधी, शोषणकारी र अवैज्ञानिक छन्।

यदि विश्वमा भएका कम्युनिष्ट क्रान्तिका घटनाहरुलाई हेर्ने हो भने पनि यो कुरा त्यत्तिकै लागू हुन्छ। चीनमा माओको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो। तर राजनीतिक, आर्थिक र फौजी रुपमा वर्गसंघर्ष सिद्धिएपनि विचारधारात्मक वर्गसंघर्षको अन्त्य भएको थिएन। सर्वहारा र बुर्जुवा दुवै वर्गहरु आ–आफ्नो विश्व दृष्टिकोणअनुसार समाजलाई बदल्ने कोशिश गरिनै रहन्छ्न्। चिनियाँ जनवादी क्रान्तिपश्चात् सन् १९६६६ देखि माओको अगुवाईमा सञ्चालित महान सर्वहारा साँस्कृतिक क्रान्ति वर्गसंघर्षकै निरन्तरता थियो।

विचार निर्माणको हिसाबले नेपालको सर्वहारा साँँस्कृतिक आन्दोलनभित्र विगतदेखि नै समस्याहरु रहँदै आएका छन्। ज्ञानको बारेमा कुरा गर्दा हामी अहिले पनि निकै कम्जोर अवस्थामा छौं। पिछडिएको चिन्तन–दृष्टिकोण लिएर समाज रुपान्तरणकारी आन्दोलनमा सहभागी भइरहेका छौं। अन्ततः आन्दोलनको स्तर र उँचाई त्यसमा सहभागी कार्यकर्ताहरुको दृष्टिकोण, वोध र अनुभभूतिको स्तरले नै निर्धारण गर्ने हो। व्यक्तिको स्तर कम्जोर हुने तर आन्दोलनको स्तर मजबूत हुने कुरा सम्भव हुँदैन। आमूल रुपान्तरणकारी शक्ति र आन्दोलन दुनियामै रक्षात्मक अवस्थामा छ। यस्तो बेलामा हाम्रो दैनिक कार्यसूचिभित्र आफूभित्रको आत्मगत अवस्थालाई मजबुत बनाउने कार्यक्रम महत्वका साथ राखिनुपर्छ। आन्दोलनमा सहभागीहरुको वैचारिक–साँस्कृतिक उन्नयनका लागि सामुहिक तथा संस्थागत प्रयत्न गर्नु, त्यस अभियानमा आम जनतालाई पनि सरिक गराउनु यसबेलाको अत्याधिक महत्वको विषय हो। तर दुःखका साथ भन्नुपर्छ, वैचारिक, सामाजिक र साँस्कृतिक एजेण्डाहरु राजनीतिकै एजेण्डा हुन् भनेर हामीले व्यवहारतः स्वीकार गर्न सकिरहेको अवस्था पनि छैन।

व्यवहारको कसीमा यदि साँस्कृतिक रुपान्तरणलाई राखेर हेर्ने हो भने हाम्रो अवस्था निकै गएगुज्रेको देखिन्छ। यस सम्बन्धमा सबैभन्दा बेसी चर्चा कम्युनिष्ट आन्दोलनभित्र हुँदै आएको छ। अन्य विचार–दर्शनबाट प्रेरित राजनीतिक खेमावरिपरि यस विषयमा चर्चा पनि सुनिदैन। जसको दिमाग, कार्यदिशा र कार्यक्रमभित्र वैकल्पिक समाजको कुनै प्रस्ताव नै छैन उनीहरुको लागि यो सरोकारको विषयभित्र पर्ने कुरा पनि भएन। व्यक्तिगत रुचिका कारणले लेख्नु, बोल्नु अलग्गै कुरा हो।

नयाँ र अहिलेभन्दा भिन्न समाज निर्माण गर्ने अभियानमा लागेकाहरुको आफ्नै दैनिक जीवन व्यवहार कस्तो हुनुपर्ला? निःसन्देह उनीहरुको व्यवहार त्यस्तै हुनुपर्छ, जस्तो समाजको उनीहरु वकालत गर्छन्। अर्थात् जुन दर्शनमा आधारित समाजको पक्षमा उनीहरु छन् त्यही अनुकूल संस्कृतिको अभ्यास आफ्नो जीवनमा गर्दै जानुपर्ने हुन्छ। समाज व्यवस्था भनेको एउटा प्रणाली हो। दर्शन, अर्थतन्त्र, राजनीति र संस्कृति यसका मुख्य घटकहरु हुन्। कुनै पनि व्यवस्थामा परिवर्तन या क्रान्तिको लागि सुरुवात कहाँबाट हुन्छ? त्यसको सुरुवात विद्यमान व्यस्थाको विचारधारामाथिको आक्रमणबाट हुने गर्छ। जसरी कुनै पनि पुरानो घरलाई भत्काउने काम सुरुमै जग र पर्खालबाट हुँदैन। बरु पहिलो आक्रमण घरको उपरी तह र रंगरोगनहरुबाट हुन्छ। त्यसैगरि शोषणकारी राज्यव्यवस्थाको अन्त्य गर्नुछ भने त्यसको प्रारम्भिक सुरुवात त्यसमाथिको साँस्कृतिक एवं विचारधारामाथिको आक्रमणबाटै गर्नुपर्ने हुन्छ।

जसरी राज्यसत्ता र राजनीतिमा भएको परिवर्तनले पूरै संस्कृतिमा र मानिसको सोच्ने तौरतरिकामा परिवर्तन ल्याउने काम गर्छ, त्यसैगरि संस्कृतिले पनि पूरै राजनीति–आर्थिक व्यवस्थामा परिवर्तनको लागि वातावरण तयार गर्ने काम गर्छ। शोषणकारी राज्यसत्ताको अन्त्यको लागि वातावरण तयार गर्ने कामको सुरुवात विचारधारात्मक आन्दोलनबाटै हुन्छ। एउटा विन्दुमा पुगेर त्यसले भौतिक संघर्षको रुप लिन्छ र आर्थिक–राजनीतिक–सामाजिक व्यवस्थामा परिवर्तन आउँछ। त्यसैगरि आर्थिक–राजनीतिक रुपमा व्यवस्था परिर्तन त भयो तर निरन्तर रुपमा पुरानो विचारधारा र संस्कृतिको विरुद्धमा संघर्ष चलाइराखिएन भने पुरानो सँस्कृतिले नयाँ व्यवस्थालाई पराजित गरी प्रतिक्रान्तिको आधार तयार गरिदिन्छ। तसर्थ साँस्कृतिक आन्दोलन भनेको नयाँ मानव निर्माण गर्ने, आफूलाई बदल्ने, संशोधनवादविरोधी, प्रतिक्रान्तिविरोधी, द्वन्दात्मक ऐतिहासिक भौतिकवादलाई व्यक्ति, संगठन र समाजमा लागू गर्नको लागि चलाइने विचारधारात्मक आन्दोलन हो।

जुन आन्दोलनसँग समाज रुपान्तरणको सवालमा आफ्नो साँस्कृतिक एजेण्डा छैन राजनीतिक हिसाबले पनि ती निकै कमजोर हुन्छन्। किनभने राजनीति, आर्थिक प्रणालीमा परिवर्तन हुनेबित्तिकै संस्कृतिमा स्वतः परिवर्तन आउँदैन। संस्कृतिको आफ्नो सापेक्षित स्वतन्त्र भूमिका पनि हु्न्छ। साँस्कृतिक रुपमा विद्यमान सामन्तवाद त घरका कोठा चोटाहरुदेखि चिया पसलहरुसम्म छ। तसर्थ साँस्कृतिक आन्दोलनलाई राजनीतिक आन्दोलनसँगै अगाडि नबढाउने हो भने राजनीति पक्षाघातको शिकार बन्नेमा कुनै द्विविधा छैन। साँस्कृतिक रुपमा पछौटे राजनीति, राजीनीतिक पार्टी र आन्दोलनको निरन्तरताअन्तर्गत गरिने अग्रगामी परिवर्तनका कुराहरु केबल दैनिक चिया गफ, पार्टी तथा चुनावी घोषणापत्रहरु र औपचारिक कार्यक्रमहरुमा सीमित हुनपुग्छन्। वास्तविक जीवनमा सम्भव हुँदैन। साँस्कृतिक दासत्वले कब्जा गरेको दिमाग पराधीन हुन्छ। पराधीन दिमागहरुले समाजमा क्रान्तिको अगुवाई गर्दैनन्।

आज हाम्रो समाजमा राजनीतिक पार्टी र आन्दोलनको अगुवाई गर्ने अधिकांश पार्टी तथा तिनका नेता–कार्यकर्ताहरुको दिमागमा दासत्वले शासन गरेको छ। जो आफै शासित छ ऊ कसरी शासनको विरुद्ध लड्न सक्छ? शासनविरुद्ध संघर्ष गर्नको लागि पहिला आफै शासनमुक्त हुनुपर्र्ने हुन्छ। उनीहरुका दिमागहरु सामन्तवादी साँस्कृतिक मूल्य, मान्यताहरुबाट निर्देशित छन्। जस्तो कि कुनै बेला समाजमा राजतन्त्र थियो। अर्कोतिर शासित रैतीहरु थिए। राजा र दरबारको वरिपरि हैसियतवाला दासहरु र चाकडीवाजहरु हुन्थे। उनीहरुको आ–आफ्नै श्रेणी हुन्थ्यो। अर्कोतिर आम रैतीहरु हुन्थे। आजको अवस्था चाहिँ के छ? के सारमै त्यो भन्दा भिन्न के छ? साँस्कृतिक चिन्तन र अभ्यासको हिसाबले हेर्ने हो भने आज पनि हाम्रो देशमा राजतन्त्रबिनाको राजतन्त्र कायम छ। कम्युनिष्ट आन्दोलन पुरानै सामन्तवादी दृष्टि र चेत लिएर आमुल परिवर्तनको नक्कली डम्फु बजाउने नेतृत्व र कार्यकर्ता पंक्तिको शिकार भएको छ। व्यक्तिपूजा, वीरपूजावादी चिन्तन र मानिसको देवत्वकरण घट्नुपर्ने ठाउँमा झन बढेर गएको छ। विचारविहीन र असैद्धान्तिक राजनीति हावी हुँदै जानुको परिणाम हो यो। साम्राज्यवादले राजनीतिको विभिन्न तहमा र व्यक्तिका नशा–नशामा उपभोक्तवादी संस्कृतिको इन्जेक्सन लगाएर लठ्याएको छ। स्वतन्त्रता, मुक्ति र क्रान्तिका नाराहरु खोटा सिक्कामा परिणत भएका छन्। औपनिवेशिक साँस्कृतिक दासता झन–झन मौलाउँदो छ।

गणतन्त्रको नाउँमा पूँजी (दलाल)तन्त्र छ। पार्टीतन्त्र छ। अझ त्यसभित्र प्रवेश गर्दै जाने हो भने गुटतन्त्र छ। त्यसभन्दा पनि भित्र व्यक्ति (मालिक)तन्त्र छ। देश, जनता र परिवर्तनको नाउँमा एकाध पार्टीले निर्णय लिन्छन्। व्यवस्था भजाएर सरकारले आफूखुशी निर्णय गर्छन्। पार्टी र कार्यकर्ताको नाउँमा एउटा व्यक्तिले निर्णय लिन्छ। जसको सम्बन्ध न देशको स्वार्थसँग हुन्छ, न आम जनताको कल्याणसँग न त परिवर्तनको ध्येयसँग। मानौं कि चुनाव भनेको देश लुट्नलाई लाइसेन्स बाँड्ने विधि हो। यस्तो लाग्छ, चुनाव भनेको पार्टी कार्यकर्ताहरुलाई नयाँ युगको राजा चुन्ने विधि हो। व्यवहारले यस्तो पुष्टि गर्दैछ कि देश, जनता र परिवर्तनका एजेण्डाहरुको मजाक उडाउने सवालमा पार्टी र सरकारहरु नयाँ रंगका राजा साबित हुने दौडमा छन्। भूमण्डलीकृत साम्राज्यवादी हैकमतन्त्रभित्रका उनीहरु बफादार रैतीहरु हुन्। तर यी सबैको बीचमा अझ रमाइलो कुरा के छ भने यिनीहरु आफूलाई कम्युनिष्ट भन्न छोड्दैनन्। उत्पीडित वर्ग र क्रान्तिका अगुवा भएको दाबी गर्न कुनै शरम मान्दैनन्।

पूँजीवादी–साम्राज्यवादी दासत्वले उनीहरुको मनमस्तिष्कलाई उपनिवेश बनाएको छ। साम्राज्यवादी आक्रमणका प्रमुख हतियारहरुमध्येको एउटा साँँस्कृतिक हतियार हो। कसैलाई पराधीन बनाउनको लागि उसले सबै ठाउँमा हतियार र सेना लिएर जाँदैन। पहिला त्यो समाज र देशका शासक, राजनीतिक पार्टी, तिनका कार्यकर्र्ता र जनताको दिमागलाई गुलाम बनाउँछ। विभिन्न देशहरुमा उसले कठपुतली सरकारहरु निर्माण गर्छ। मानसिक रुपमा आफ्नो वर्चश्व स्वीकारिसकेपछि कसैलाई भौतिक रुपमा तर्साइरहनुपर्दैन। तर औपनिवेशिक दिमागले आफ्नो होइन अरु कसैको विचार बोकेर हिडिरहेको छु भन्ने कुरा पनि बुझ्दैन। किन भने उसमा सत्तालाई प्रश्न गर्ने सामथ्र्य निकै कमजोर हुन्छ। सत्ता हावी भइसकेपछि उसमाथि भय या लालचले शासन गर्न पुग्छ।

वैचारिक अस्पष्टता आमूल परिवर्तनकारी साँस्कृतिक आन्दोलनको महारोग नै हो। धेरैजसो मानिसहरु कम्युनिष्ट पार्टीहरु, आन्दोलन र राजनीतिको वरिपरि त आउने तर आजीवन गैह्र कम्युनिष्ठ चिन्तन, संस्कृति र व्यवहारलाई पक्षपोषण गर्दै हिडिरहेको दृष्य देख्न सकिन्छ। भावनात्मक रुपमा या अन्य कुनै कारणले आन्दोलनको वरिपरि आइपुग्ने तर त्यो पंिक्तको विचाराधारात्मक रुपान्तरण नहुने समस्या कायम नै छ। एउटै व्यक्ति कम्युनिष्ट पार्टीको कार्यकर्ता पनि, इसाई धर्मको प्रचारक पनि। माक्र्सवादको वकालतकर्ता पनि बाबा रामदेवको चेला पनि। एउटै व्यक्ति श्रमजीवी वर्गको सहयात्री पनि साम्राज्यवादी–उपभोक्तावादी संस्कृतिको अभ्यासकर्ता पनि। उही व्यक्ति कम्युिनष्ट पार्टीको कार्यकर्ता पनि महिला उत्पीडक पनि। उही व्यक्ति समाज रुपान्तरणको वकालत पनि गर्ने जातीय भेदभााव पनि गर्ने। उही व्यक्ति सर्वहारा साँस्कृतिक क्रान्तिको वकालत कर्ता पनि सामन्तवादी–साम्राज्यवादी संस्कृतिको पक्षपोषण पनि गर्ने! एकैचोटि एउटै व्यक्तिको जीवनमा यो कसरी सम्भव हुन्छ? एउटै आदर्शलाई पछ्याउने संगठन र आन्दोलनभित्र फरक–फरक दृष्टिकोणको अभ्यास कसरी सम्भव भइरहेको छ? तर यो सबै हाम्रै अगाडि भइरहेछ। यसको शिकार हामी स्वयं भइरहेका छौं। जे भइरहेको छ त्यो कुनै पनि अर्थमा ठीक भइरहेको छैन। अर्थात् यसले हामीलाई घोषित लक्ष्यबाट त बिमुख गराउँछ नै अझ त्यसमा थप नकारात्मक कुरा आन्दोलनलाई लिएर समाजमा गलत बुझाइलाई स्थापित गर्ने काम नै गर्छ।

विचारधारात्मक अस्पष्टताले आन्दोलनलाई दिग्भ्रमित, दिशाविहीन र भ्रष्टिकरण गर्छ। सर्वप्रथम त हामीले रुपान्तरणको सुरुवात हाम्रो पुरानो दार्शनिक चेत र सौन्दर्यवोधमाथिको आक्रमणबाटै गर्नुपर्छ। पुरानो समाजले सामन्तवादी र भाग्यवादी दार्शनिक चेत एवं सौन्दर्यवोध हाम्रो दिमागमा चेतन या अवचेतन रुपमा स्थापित गरिदिएको छ। सँगसँगै पूँजीवादी व्यवस्थाले आफ्नो उपभोक्तावादी सौन्दर्यचेत पनि मन मस्तिष्कहरुमा भर्ने काम गरेको छ। यतिखेर हामी कहाँ छौ? हिड्नुपर्ने बाटो कुन हो? पुग्नुपर्ने गन्तव्य कहाँ हो? यी सवालप्रति गम्भीर बन्नैपर्छ। दार्शनिक रुपमा द्वन्दात्मक ऐतिहासिक भौतिकवादी चेत र साँस्कृतिक रुपमा समाजवादी सौन्दर्यवोधको उज्यालोमा नै क्रान्तिकारी बाटो र गन्तव्यतर्फ अगाडि बढ्न सकिन्छ।

जुन मूल्य, मान्यता, संष्कार र परम्पराहरु भाग्यवादी छन्, विज्ञानविरोधी छन्, विभेदलाई मलजल गर्ने खालका छन् तिनको पहिचान राम्रोसँग गर्नुपर्छ। त्यसपछि तीसँग कत्ति पनि सम्झौता नगरी संघर्ष चलाइरहनुपर्छ। जुन मूल्य, मान्यता र संस्कृतिहरु श्रमजीवी वर्गको पक्षमा, मानव जीवनको पक्षमा छन् तिनलाई जगेर्ना नै गरेर जानुपर्छ। तर विद्यमान व्यवस्थाअन्तर्गत यसको ठीक विपरित नै भइरहेको छ। संस्कृतिको नकाब पहिरेरै साँस्कृतिक साम्राज्यवादले हाम्रा मौलिक एवं अर्थपूर्ण र जनसंस्कृतिहरुलाई निमिट्यान्न पार्ने काम गरेको छ। संस्कृति मात्र होइन उसले हाम्रो मौलिक अर्थतन्त्र पनि ध्वस्त बनाउने काम गरेको छ। त्यसैगरि हाम्रो समाजमा विद्यमान विकृति र विसंगतिहरुलाई चाँहि संरक्षण गर्ने काम गरेको छ।

यदि साम्राज्यवादी साँँस्कृतिक, आर्थिक र राजनीतिक आक्रमणको विरोध गरियो भने एकथरि मानिसहरुलाई त्यो कुरा सह्य हुँदैन। किनभने साम्राज्यवाद र पश्चिमिकरणले मानिसका दिल दिमागहरुलाई आफ्नो गुलाम बनाएको छ। मानौं कि त्यसको विरोध गर्नु भनेको विकासको विरोध गर्नु हो। अग्रगामी चेतना र संस्कृतिको विरोध गर्नु हो। उन्नति र प्रगतिको विरोध गर्नु हो। त्यसकै परिणाम हो कि आज आफू जन्मिएको माटोमा पसीना बगाएर बाँच्ने खोज्ने युवा–युवतीहरु त्यति सम्मानको पात्र छैनन् जति युरोप अमेरिका पुगेर ग्रीनकार्ड लिएर बसेकाहरु। हाम्रो समाजले आफ्ना बालबालिकाहरुका लागि खोज्ने रोलमोडल भनेको एउटा स्वाभिमानी, संघर्षशील र आत्मनिर्भर व्यक्ति होइन परजीवी, परपूजक र पैसावाल व्यक्ति हो। तसर्थ जसले आफू हुनुमा गवै गर्दैन, बरु महंगो ज्यालादारी चाकर बन्नु बनाउनुमा गर्व गर्छ। यो संस्कृतिले ले समाजलाई मुक्ति, स्वतन्त्रता र आत्मसम्मानको बाटोमा हिडाउन सक्दैन।

साँँस्कृतिक आन्दोलनभित्र अवसरवाद एउटा चुनौती हो। यो प्रतिक्रियावादभन्दा पनि डरलाग्दो समस्या हो। प्रतिक्रियावादले हाक्काहाकी क्रान्तिकारी रुपान्तरणको विरुद्ध आफूलाई उभ्याउँछ भने अवसरवादले आन्दोलनभित्रै प्रवेश गरेर घुमाउरो तरिकाले सैद्धान्तिक जामा लगाएर आफूलाई क्रान्तिकारी रुपान्तरणको विरुद्धमा उभ्याउँछ। अवसरवादी व्यवहार, रुझान र प्रवृत्तिको सिकार दुईवटा अवस्थाभित्र आउँछ। एउटा वैचारिक प्रष्टताले अवसरवाद निम्त्याउँछ। अर्को वैचारिक प्रष्टताको बाबजुद पनि जब व्यक्तिगत स्वार्थको अगाडि मानिस घुँडा टेक्न पुग्छ त्यसपछि अवसरवाद जन्मिन्छ। एउटा दृष्टिकोण निर्माणसँग जोडिएको समस्या हो भने अर्को रुपान्तरणको समस्या हो। वैचारिक प्रष्टतामार्फत् सही दृष्टिकोण निर्माण गर्ने र सो अनुरुपको व्यवहार या रुपान्तरण एउटा क्रान्तिकारीको लागि नभई नहुने कुरा हुन्। जसलाई आत्मसात नगरी अवसरवादलाई जित्न सकिन्न।

साँस्कृतिक आन्दोलन सबैखाले विशेष अधिकार र भोगचलनका विरुद्धमा उभिन्छ। विचार र दृष्टिकोणको स्तरमा भिन्नता हुनसक्छ तर यसले नेतृत्वका निम्ति एउटा, कार्यकर्ताका पंक्तिको निम्ति एउटा र आम जनताका निम्ति अर्को जीवन जिउँने कुराको समर्थन गर्न सक्दैन। विचार, दृष्टिकोण र साँस्कृतिक स्तर उन्नत बनाउने सवालमा, पुरानो संस्कृतिसँग संघर्ष गर्ने सवालमा कसैसँग सम्झौता गर्नु हुँदैन। तर सरल जीवशैली जिउने र जनताको साथी बन्ने सवालमा जति पनि सम्झौता गर्न तयार हुनैपर्छ। अन्यता कुरा उत्पीडित वर्ग र आमूल परिवर्तनको व्यवहार र जीवनशैली बुर्जुवा वर्गको हुन जान्छ। जस्तो कि संंघर्षको स्वरुप जनताको स्तरबाट उठान गर्दै जानु तर सिद्धान्तलाई ऐतिहासिक द्वन्दात्मक भौतिकवादी स्तरबाट आम जनतामा प्रशिक्षित गर्दै जानु क्रान्तिकारीहरुको दायित्व हो। संघर्षको स्वरुप मनोगत रुपमा आफ्नो स्तरबाट जनतामाथि थोपर्ने र सिद्धान्तको सवालमा आम जनताको स्तरम झरेर सम्झौताको बाटो चल्ने उल्टो काम हुँदै आएको छ। यी दुबै गलत र सिद्धान्तविरोधी अभ्यासहरु हुन्। श्रमजिवी वर्गको रुपान्तरणको समस्या भनेकै नेतृत्व तहको रुपान्रणको समस्या हो। जब नेतृत्वले एउटा बोल्छ अर्को गर्छ, कुरा समाजवादको गर्छ अभ्यास सामन्तवादी र पूँजीवादी संस्कृतिको गर्छ, चिन्तन र व्यवहार कुनै पनि हिसाबले उसमा अनुकरण गर्न सकिने क्रान्तिकारी संस्कृतिका लक्षणहरु छैनन् भने त्यो नेतृत्व र संगठन अरु जेसुकै होला आमूल परिवर्तनकारी र श्रमजिवी संस्कृतिको अगुवा हुन सक्दैन। आम जनताको बीचमा पनि नेतृत्व, संगठन र विचारप्रति नकारात्मक धारणा औं अविश्वासले घर गर्दै जान्छ।

क्रान्तिकारी रुपान्तरणको अथक योद्धा त्यही हो, जसले आजीवन र अथक रुपमा क्रान्तिकारी आचरणलाई आफ्नै जीवनशैली बनाउँदै हिड्छ। क्रान्तिकारी कर्मलाई केवल चर्का भाषण, पाण्डित्य प्रदर्शन, बुद्धिविलास र हतियार उठाउनु र हिंसालाई मात्र बुझ्नुले कहीं न कहीं गएर विचलनको शिकार हुनपुग्छ। राज्यसत्ता परिवर्तनको आन्दोलनमा साँस्कृतिक आन्दोलन कति मूल्यवान छ भन्ने कुराको दृष्टान्त विगतको समाज र त्यसमा भएका क्रान्तिकारी उथलपुथलका घटनाहरु, क्रान्तिपश्चात तत्कालीन नेतृत्वले यसलाई दिइएको महत्व साक्षी छन्। त्यतिमात्र होइन नेपालको आजसम्मको क्रान्तिकारी आन्दोलन, यसभित्रका पात्र र प्रवृत्तिहरुको वैचारिक–साँस्कृतिक पुनरुत्थान र विचलनका घटनाहरुदेखि लिएर हामी बाँचेको वर्तमान समाज र स्वयं हाम्रो जीवन नै भुक्तभोगी छ।

मैले कतिपय यस्ता व्यक्तिहरु देखेको छु, जसको राजनीतिक आन्दोलनभित्र त्यति व्यापक पहिचान छैन। न उनीहरु ठूलै विचारकको रुपमा स्थापित छन्। पदीय हैसियत गाउँ, जिल्ला कमिटीभन्दा माथि छैन। तर कतिपय सवालहरुमा उनीहरुले राष्ट्रिय स्तरमा दिग्गज ठानिएकाहरुभन्दा माथिल्लो स्तरको उदाहरण बनेका छन्। क्रान्तिकारी सिद्धान्त र आदर्श अनुकूल व्यवहार गर्ने प्रयत्न गरेका छन्। कयौं वरिष्ठ कहलिने क्रान्तिकारी आन्दोलनमा लामो समयदेखि क्रियाशील पात्रहरु पनि ती सवालहरुमा विद्रोह गर्न नसकेर आत्मसमर्पण गरेको देखेको छु। श्रमबाट कटेर अपारदर्शी जीवन जिउनु। जिविकाका लागि जस्तासुकै पात्र र स्रोतहरुबाट पनि आर्र्र्थिक सहयोग लिन तयार हुनु, सामन्तवादी, भाग्यवादी, अवैज्ञानिक मूल्यमान्यता र संस्कृतिहरुको अगाडि घुँडा टेक्नु, उपभोक्तावादी, फजुलखर्ती, ऐयाशी र विकृत पूँजीवादी आचरण र फेसनमा रमाउने प्रवृत्तिले गर्दा आन्दोलनकै बदनाम हुने काम गरेका छन्। देखावटी रुप सर्वहाराकरणको सारतः पूँजीवादीकरणको अभ्यास भइरहको अवस्था छ। सर्वहाराकरण भनेको सर्वहारा वर्गको हीत र स्वार्थसँग एकाकार हुनु हो। विचार, दर्शन र आन्दोलनलाई त्यो वर्गसम्म पु¥याउनु हो। त्यसको लागि सबैखाले बुजुवा चिन्तन, आचरण, कर्म र जीवनशैलीहरुबाट मुक्त हुनु हो। नेतृत्व पंक्तिभित्रै सर्वहारा वर्ग र क्रान्तिको नाम भजाउँदै झन पछि झन बुर्जुवाकरण र वर्गउत्थान भइरहेको छ। नेतृत्वपंक्तिभित्रै त्यसो भइसकेपछि यसको नकारात्मक प्रभाव सबैतिर पर्नु स्वाभााविक छ।

यसबाट के प्रष्ट हुन्छ भने अभ्यासकै कसीमा साँस्कृतिक रुपान्तरणलाई राखेर हेर्ने हो भने यो बौद्धिक कसरत, ज्ञान र पदीय हैसियतको सवालभन्दा बढी इमान्दारिता, आत्मसंघर्ष, अन्तसंघर्ष र स्व–रुपान्तरणको सवाल हो। आत्मसंघर्ष बिना अन्तरसंघर्ष कमजोर हुन्छ र अन्तरसंघर्षबिना वर्गसंघर्ष कमजोर हुन्छ। त्यसैगरि वर्गसंघर्ष बिना क्रान्ति कमजोर हुन्छ। थोरै सैद्धान्तिक स्पष्टताको बाबजुद पनि जो आफूले बुझेजति कुरामा इमान्दार छ भने उसले रुपान्तरणको यात्रामा प्रशस्त योगदान गर्न सक्छ। रुपान्तरण ज्ञान र दृष्टिकोणको सवाल जति हो सँगसँगै त्यो आत्मसंघर्ष र इमान्दारिताको सवाल नै हो। रुपान्तरणको निशाना सर्वप्रथम आफूलाई बनाउने सवाल हो।

शब्द र तर्कहरुको आवरणले जतिसुकै लिपापोति गरे पनि हाम्रो कम्युनिष्ट आन्दोलनमा विचारधारा, संस्कृति, रीतिरिवाज, आनीबानी सबै कुराहरुमा सामन्तवादी मूल्य र संस्कृतिको भरमार प्रभाव छ। जहाँ अहिले पनि कोही तल हुन्छ भने कोही माथि हुन्छ। सहकार्य गर्ने होइन साथ लिने र दिने मानसिकता हुन्छ। कोही शासक अनि कोही शासक हुन्छ। जति महत्वपूर्ण नीति निर्माण या कार्यक्रमहरुको तर्जूमा गर्नुपर्ने हुन्छ त्यही नै व्यापक सहभागिता होइन केही सीमित व्यक्तिहरुको विचार हावी हुने परम्परा कायम नै छ। सबैका लागि सबै होइन धेरैका लागि केहि मुठ्ठीभर मार्गदर्शक हुन् र अरु त्यो मुठ्ठीभर जमातका अनुयायी हुन् भन्ने मान्यता बलियो छ। कम्युनिष्ट आन्दोलनमा कम्युन संस्कृति होइन सोपानमुखी संस्कृति नै हावी छ। उच्चारणको लागि साथी (कमरेड) भनियो। तर सँगै हिडने, सँगै मर्ने र मिलेर क्रान्ति गर्ने साथी संस्कृति (कमरेड कल्चर) धेरै निम्छरो देखियो। कोही अति जान्ने, कोही थोरै जान्ने र कोही जान्दै नजान्ने सहयात्रीहरुको उपस्थिति रह्यो। विचार, दर्शन, आचरण र विज्ञानको सवालमा कूटनीति चल्दैन। त्यहाँ केवल इमान्दारिता र इमान्दारिता मात्र चल्छ। तर ती सबै प्रश्नहरुलाई कूटनीतिक खेलको रुपमा प्रयोग गर्न खोज्दा हाम्रो कम्युनिष्ट आन्दोलन साँस्कृतिक आन्दोलन बन्न सकेन। जसको परिणाम प्रतिक्रान्तिभन्दा अरु केही हुन सक्दैन।

आमूल परिवर्तनकारी राजनीतिक आन्दोलन आफैमा साँस्कृतिक आन्दोलन पनि हो। किनकि बिना संस्कृतिको राजनीति हुन असम्भव छ। समाजको सवाल व्यक्तिको सवाल हो। अर्थात् कस्तो व्यक्ति निर्माण गर्ने भन्ने सवाल पनि राजनीतिक आन्दोलनसँगै जोडिएको सवाल हो। कम्युनिष्ट राजनीति या आन्दोलनको हकमा त यो कुरा झनै सत्य हो। किन कि यसले आमूल रुपान्तरणको कुरा गर्छ। सचेत पहल र प्रयत्नद्वारा समाजलाई बदल्ने कुरा गर्छ। समाजमा विद्यमान जति पनि विभेदकारी अमानवीय, असमान, शोषणकारी मूल्य, मान्यता र व्यवस्थाहरु छन् तिनलाई निमिट्यान्न पार्ने कुरा गर्छ। यदि यो मुद्धा कम्युनिष्ट पार्टी र आन्दोलनसँग छैन भने त्यो सरासर दुनिया झुक्याउने खेल मात्र हुन पुग्छ।

कम्युनिष्ट आन्दोलन भनेको सहयात्रीहरुको आन्दोलन हो। जुन संगठन र त्यसका अगुवाहरु शोषण, शासनरहित समाज निर्माणको कुरा गर्छन् त्यहीभित्र शोषण शासन छ आम जनताको मुक्तिको लडाईंमा त्यो संगठन सहयात्री बन्न सक्दैन। विगतका गल्तीहरुबाट सिक्ने हो भने यो पक्षमाथि गम्भीर नभई सुख छैन। बोल्दा र लेख्दा कमरेड तर अभ्यासमा आपसी सम्बन्ध कमरेडको नहुनुले हामीभित्रको रुपान्तरणको संकटलाई संकेत गर्दछ। व्यक्ति र वीर पूजाको संस्कृतिले हामी सहयात्री होइन मालिक चाहन्छौं भन्ने कुराको संकेत गर्छ। सहयात्रीहरुको नाउँमा अनुयायीहरु मात्र निर्माण गर्ने रोग कम्युनिष्ट आन्दोलनको भयानक रोग हो। त्यसैगरी नेतृत्वको नाउँमा युद्ध सरदार र मुक्तिदाता मालिकहरु मात्र निर्माण गर्ने रोग पनि डरलाग्दो हो। यी दुवै एक अर्कासँग सम्बन्धित रोगहरु नै हुन्। किनकि मालिक नभई दासहरु हुँदैनन्। जहाँ सत्यको एकाधिकारी केही सीमित व्यक्तिहरु अनि बाँकी जम्मै तिनका आदेशपालक मात्र हुन्छन्। सत्यका अन्वेषक र एक अर्काका सहयोगी हुँँदैनन्। सबैको निम्ति सबै नेता हुँदैनन्। हाम्रो आन्दोलनको अभ्यासमा कि त मालिक भए कि त दाशहरु भए सहयात्रीको अभ्यास भएन। कि अघि–अघि हिड्ने अगुवा भए, कि पछि–पछि लाग्ने पछुवा भए। संगै हिड्ने सहयात्रामुखी संस्कृतिको अभ्यास नै भएन या त अत्यन्त कम भयो।

एउटा शब्दको प्रयोग हामीकहाँ निर्वाध रुपमा प्रचलनमा छ– त्यो हो शासन। शब्द केवल शब्द मात्र होइन त्यसभित्र अर्थको गहिराई, दृष्टिकोण र सामाजिक मनोविज्ञान सन्निहित हुन्छ। अहिलेसम्म पनि कम्युनिष्टहरुलाई शासनमोहले छोडेको छैन। हामी सेवा गर्दैनौं। गर्छौं त केवल शासन। आफू स्वयं शासित र शासक, संगठनभित्र शासन, आफ्नै वर्गमाथि शासन अनि कसरी हुन्छ हामीले भन्दै आएको क्रान्तिको सेवा? जनताको सेवा? हाम्रो व्यवस्थाभित्र व्यक्तिहरुबीचको, त्यसमा पनि एउटै वर्गभित्र सम्बन्ध के हुने? जो आपैm शासनमुखी मानसिकताबाट मुक्त छैन ऊ जनताको सेवक र क्रान्तिको सहयात्री हुन कसरी सम्भव छ? यो मानसिकताअन्तर्गत न क्रान्तिकारी पार्टी, न संस्कृति न त त्यस्तो खालको व्यवस्था नै निर्माण सम्भव छ। यदि केही समयको लागि सम्भव भइहालेछ भने पनि त्यो प्रतिक्रान्ति र पतनकै लागि हुने कुरा निर्विवाद छ।

हाम्रा हालसम्मका साँस्कृतिक अभ्यासहरु हेर्दा कतिपय त बुर्जुवा अभ्यासहरु भन्दा पनि गएगुज्रेका छन्। कैयन अभ्यासहरु भने सामन्तवादी संस्कृतिको जगमा निरन्तरता पाइरहेका छन्। व्यक्तिपूजा त्यसकै एउटा ज्वलन्त उदाहरण हो। आफूलाई, अरु कसैलाई या कुनै समूह विशेषलाई मात्रै केन्द्रमा राखेर सोच्नु व्यक्तिपूजा र व्यक्तिवादकै परिचायक हुन्। व्यक्तिगत व्यक्तिवाद होस् या सामुहिक व्यक्तिवाद कुनैले पनि जनता र क्रान्तिको सेवा गर्दैनन्। तर हालसम्मको नेपालको कम्युनिष्ट आन्दोलनभित्रको अभ्यासले त्यो भन्दा भिन्न अनुभूति दिएको छैन। हिजो त्यो सैद्धान्तिक कलेवरमा हुन्थ्यो भने आज अराजक ढंगले भइरहेको छ। व्यक्तिहरुलाई देवता बनाउने, भिन्न–भिन्न गुटका मन्दिरहरु खडा गर्ने अनि तिनै मन्दिरमा सजाएर कसका देवता ठूला भन्दै भक्तजनहरुको बीचमा हुने कलहले संक्रामक रुप धारण गरेको छ। व्यक्तिपूजाको योभन्दा घृणित रुप अर्को हुन सक्दैन। तसर्थ साँस्कृतिक आन्दोलनभित्र विद्यमान जति पनि सामन्तवादी सम्बन्ध, मूल्य, मान्यता, दृष्टिकोण र अभ्यासहरु छन् तिनको पहिचान आवश्यक छ। जससँग निरन्तर, अथक र निर्मम संघर्ष छेड्नुको विकल्प छैन।

साँस्कृतिक रुपान्तरण शोषणकारी लुटाहा वर्गको विचार, दृष्टिकोण, संस्कृति र व्यवहारबाट आफूलाई अलग गर्ने प्रक्रिया हो। मन, वचन र कर्ममार्फत् आफूलाई उत्पीडित, श्रमजीवी वर्गको कित्तामा उभ्याउने यात्रा हो। सर्वहाराकरणको विषयमा विश्व कम्युनिष्ट आन्दोलनभित्र निरन्तर बहस हुँदै आएको हो। सर्वहाराकरण भन्ने विषय चिन्तन र व्यवहार दुवैमार्फत् छुट्ट्याउन नमिल्ने गरि अभिव्यक्त भइरहन्छ। यो बोल्ने विषय मात्र होइन, न त लेख्ने विषय मात्र हो। यो सोच्ने विषय मात्र होइन न कि विज्ञापनको विषय हो।

नेपालको कम्युनिष्ट आन्दोलनभित्र साँस्कृतिक रुपान्तरण चिन्तन, कर्म, आचरण र अभ्यासभन्दा पनि पाण्डित्य र पाखण्ड प्रदर्शनको विषय बन्दै आएको छ। कार्यकर्ताहरुलाई सम्पत्ति पार्टीलाई बुझाएर भौतिक रुपमा सर्वहाराकृत हुन अपील गर्ने नेतृत्व तहमा विद्यमान प्रवृत्ति र पाखण्डको बारेमा अनिवार्य चर्चा नगरी यो विषय स्पष्ट हुन अप्ठेरो पर्छ। क्रान्तिको पहिलो निशाना आफू बन्नुपर्छ भन्दै पार्टी कार्यकर्ताहरुलाई घर छोड्न, सम्पत्ति पार्टीलाई बुझाउन, बुर्जुवा विशेष सुविधाहरु त्याग्न अपील गर्र्ने नेतृत्व पंक्ति आफैभित्र चाहिँ त्यो इमान्दारिताको अभाव देखिन्छ। विद्रोह गर्नु जनताको अधिकार हो भन्दै कार्यकर्तालाई विद्रोही बन्न, आलोचनात्मक बन्न र हरेक बेठीकहको विरुद्ध संघर्ष गर्न प्रेरित गर्ने नेतृत्व पंक्ति आफ्नै हकमा चाहिँ किन भक्तिमार्गको अभ्यास गर्छ र त्यसैलाई संस्थागत गरेर हिड्छ? दुनियाँलाई विद्रोहको पाठ पढाउँदै हिड्ने नेताहरु जब प्रश्न, आलोचना र विद्रोह आफैप्रति लक्षित हुन्छ त्यसप्रति उनीहरु सधैं असहिष्णु किन हुन्छन्? यो सरासर बेइमानी हो। बाहिर क्रान्तिकारिताको ढोंग रच्दै भित्र शासक बन्ने महत्वाकांक्षा हो।

हुँदा–हुँदा एकदशक अगाडि ‘सर्वहाराकृत’ भएर आन्दोलन र क्रान्तिमा होमिएको योद्धा लाल बादशाह बनेर देखा पर्छ। अर्को एकदशक पछाडि सत्ता, शक्तिका बुर्जुवा अवसरहरुको पोखरीमा पौडिदा पौडिदै जनविरोधी शासक बनेर उदाउँछ। त्यसपछि दुनियाँमा उपलब्ध सबै सुख, सुविधा र अवसरहरु भोग गर्नबाट उसलाई कुनै तागतले रोक्न सक्दैन। तसर्थ साँँस्कृतिक रुपान्तरणको आन्दोलन जीवनको एउटा कालखण्डमा उठान गर्ने, एउटा कालखण्डमा लागू गर्ने र अर्को कालखण्डमा त्याग्ने विषय होइन। बरु यो त निरन्तर जीवन संस्कृति, संस्कृति र दर्शनको रुपमा अभ्यास गरिरहनुपर्ने विषय हो। यसो भन्दै गर्दा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि आजसम्म देखा परेका ती उदाहरणीय पात्र र प्रवृत्तिहरुलाई बिर्सनुहुँदैन जो आजीवन आफूले अँगालेको सिद्धान्तप्रति इमान्दार बन्ने प्रयत्न गरे।

आफूलाई प्रश्न र आलोचनाबाट मुक्त अलौकिक मानव ठान्ने तर त्याग, तपस्या र विद्रोहको उपदेश कार्यकर्ताहरुले मात्र सुन्नुपर्ने र लागू गर्नुपर्ने आग्रहले आन्दोलनभित्र द्वैध संस्कृतिको अभ्यास हुनु कुनै अनौठो कुरा भएन। यो द्वैध संस्कृतिले अन्ततः जन्माउने भनेको लाल शासक र शासितहरु हो। एकातिर सबैभन्दा माथि विशेष अधिकार र सुविधासम्पन्न मुक्तिदाताहरु हुन्छन् भने अर्कोतिर सोपान क्रममा विभिन्न श्रेणीमा बाँडिएका शासितहरु। यो सोपान क्रम बढ्दै जाँदा सबैभन्दा पींधमा हुने भनेका आम उत्पीडित वर्ग नै हो। जसले त्यहाँबाट आफ्नो मुक्तिको सैद्धान्तिक अस्त्र होइन भ्रम, धोका र बेइमानी मात्र प्राप्त गर्छ।

जति पनि क्रान्तिकारी आन्दोलन भए ती कति र कुन अर्थमा क्रान्तिकारी थिए? ती आन्दोलनको अन्तर्य र अभीष्ट के थियो? ज–जसलाई क्रान्तिका एकल नायक र प्राधिकारको रुपमा उभ्याउने प्रयत्न भयो के ती साँच्चिकै क्रान्तिकारी थिए? अनि अरु क्रान्तिका लागि जीवन अर्पण गर्ने अरु चाहिँ नायक थिएनन्? रुपान्तरणको सारतत्वलाई भित्रैदेखि आत्मसात नगरेको आन्दोलन, नेतृत्वपंक्ति र क्रान्तिको परिणाम प्रतिक्रान्तिभन्दा अर्को के हुन सक्छ? औचित्यहीन देवत्वकरणले रुपान्तरणको सन्देश दिन्छ या सामन्तवादको? यी यस्ता विषय हुन् जसको बारेमा गम्भीर समीक्षा नगरीकन आगतको क्रान्तिकारी आन्दोलनलाई इमान्दारिपूर्वक अगाडि बढाउन असम्भव छ।

यतिखेर साँस्कृतिक (कम्युनिष्ट) आन्दोलनभित्र उपभोक्तावादको आक्रमण डरलाग्दो छ। आजको पूँजीवादी आक्रमण विशेषगरि चारवटा क्षेत्रहरुमार्फत् क्रियाशील छ। सैन्य आक्रमण, आर्थिक आक्रमण, राजनीतिक आक्रमण र साँस्कृतिक आक्रमण।

साँस्कृतिक आक्रमणको उसको नीतिलाई हामी साँस्कृतिक साम्राज्यवाद भनेर पनि चिन्छौं। तर जब नेतृत्वपंक्ति अवसरवादी हुन्छ, उसभित्र बुर्जुवा सौन्दर्यवोध हावी हुन्छ, उसले आवश्यकताको आफू अनुकूल सिद्धान्त तयार गर्छ। “जस्तो कि कम्युनिष्टहरु पित वस्त्रधारण गर्ने जोगीहरु होइनन्।”, “उनीहरुमा सधैंभरि पिछडिएको जीवनशैली भइराख्नुर्छ भन्ने छैन।”, “क्रान्तिको निम्ति उनीहरुले हरसम्भव साधन, स्रोत र सुविधाहरुको प्रयोग गर्नुपर्छ।” यी प्रश्नहरुको बीचमा एउटै प्रश्न काफी छ– के जनताको स्तरमा सादा जीवन बिताउनु पिछडिएको हुनु हो? के समानताको अभ्यासले क्रान्तिमा अवरोध सृजना गर्छ?

रुपान्तरित हुन नसकेको आफ्नो बुर्जुवा दृष्टिकोण, सौन्दर्यवोध र व्यवहार र विचलनलाई वैधानिकता दिलाउन उनीहरुले यस्तै–यस्तै तर्कहरुको आविष्कार र पुनरावृत्ति गर्दै आएका छन्। अनि यही दिशामा सिंगो आन्दोलन र कार्यकर्ता पंक्तिलाई उन्मुख गराएका छन्। जसको परिणाम पूरै नेतृत्व, पार्र्टी पंक्ति, कार्यकर्ताहरु उत्पीडित र श्रमजीवी वर्गबाट टाढा हुँदै जान्छन् र आन्दोलन अवसरवादी भासमा गएर सिद्धिन्छ।

नेतृत्व पंक्तिदेखि र पूरै पार्टीपंक्ति शारीरिक तथा मानसिक श्रमबाट कट्दै जानु। आयआर्जन तथा दैनिक जीवनयापनको लागि अपारदर्शी तथा अनुचित धन्दा र स्रोतहरुमा निर्भर हुनु। आफ्नो फाइदाको लागि विरोधी राजनीतिक कित्तासँग पनि साँठगाँठ गर्न तयार हुनु। बाहिर जनतातिर फर्किएर बोल्दा चाहिँ नक्कली क्रान्तिकारी कुरा गर्नु। क्रान्तिकारी आचरण र संस्कृति चाहिँ केवल पाण्डित्य प्रदर्शन र कर्मकाण्डमा सीमित हुनुले कोही पनि त्यसबाट अछुतो नहुने अवस्था सृजना हुन्छ। देश, जनता र क्रान्तिको लागि यो भन्दा बेइमानीपूर्ण राजनीति अरु केही पनि हुन सक्दैन। यो कम्युनिष्ट आन्दोलनभित्र विद्यमान प्रतिक्रियावादी, जनविरोधी संस्कृति हो।

गलत धन्दाहरुमा आधारित भएर विलासी र भड्किलो जीवन बिताउन दुनियाँको कुनै पनि निष्ठावान कम्युनिष्टको लागि सुहाउने कुरा होइन। यो क्रान्तिकारी आचरण अनुकूल पनि छैन। क्रान्तिले त क्रान्तिकारी आचरणको मात्र माग गर्छ। यदि क्रान्तिका अगुवा–सहयात्रीहरुको जीवन अनुभव र जीवनशैलीलाई हेर्ने हो भने यो मामिलामा उनीहरु धेरै हदसम्म पाखण्डमुक्त छन्। उनीहरुको जीवन खुल्ला पानाझैं पढ्न सकिन्छ। उनीहरुले कहिंनेर पनि आफू र आफ्नो परिवारको लागि विशेष अधिकार तथा अवसरको माग र भोगचलन गरेको देखिन्न।

यदि हाम्रो देशको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्ने हो भने दुवैथरि प्रवृत्तिहरु भेटिन्छन्। तर सकारात्मक प्रवृत्ति मूल प्रवृत्ति बन्न सकेको छैन। जीवनको एउटा कालखण्डमा सादगी, निष्ठा, आदर्श र क्रान्तिकारी आचरणको नमूनाजस्तो देखिने त अर्को कालखण्डमा पूरै कायापलट हुने रोग मुल प्रवृत्तिको रुपमा देखिएको छ। समाज रुपान्तरणकारी आन्दोलनमा लगानी गरेको लगानी र त्यागको साँवा ब्याज असुल्ने मानसिकताले विचलनलाई वैधानिकता दिएको छ। त्यागको मानसिकताले त कसैको उद्धारको लागि आफूसँग भएका अमूल्य सम्पत्ति बलिदान गरेको निष्कर्षमा पुगिन्छ। घुमाउरो तरिकाले किन नहोस् यो पूँजीवादको लगानी र असुलीको सिद्धान्त हो। यहीँ मनोविज्ञानअन्तर्गतको प्रशिक्षण र हुर्काइले नै हुनुपर्छ हिजोको त्यागी क्रान्तिकारी पल्टन आज लगानी असुल्न दुई खुट्टा र दुई हात फालेरै युद्धरत देखिन्छ। यो आमूल परिवर्तनकारी आन्दोलनमा देखिने विचलनको चरम रुप हो।

एकथरि अगुवाहरु जो सर्वहाराकरणको कुरा गरेर थाक्दैनथे। आज उनीहरुलाई त्यही शब्द भारी भएको छ। सर्वहाराकरणका नक्कली सूत्रहरु कण्ठस्थ गर्दागर्दै हातमुख जोर्न आज एकथरि कमरेडहरु विदेशी श्रमबजारमा बिक्री भइरहेका छन्। तिनै सर्वहाराकरणको प्रशिक्षण दिएर नथाक्नेहरु आज पूँजीवादी घरानियाहरुका असल हितैषी र अघोषित दरबारहरुभित्रका रहस्यमय पात्र बनेका छन्।

अवचेतन रुपमा गढेर बसेको हामीभित्रको साँस्कृतिक सत्ता चेतन संस्कृतिभन्दा धेरै मजबूत हुने गर्छ। भौतिक रुपान्तरण सपाट र ठम्याउन सरल–सहज हुन्छ। तर आत्मिक रुपान्तरणको प्रकृति धेरै सुक्ष्म हुन्छ। आत्मिक रुपान्तरणका लागि आत्मसंघर्षको जरुरत बेसी नै पर्छ। हामीमा देखिने सामन्तवाद, अवसरवाद, उभोक्तवादा जति खतरनाक छ त्यो भन्दा झनै खतरनाक छ नदेखिने गरी बसेको साँस्कृतिक सत्ताको आसन। त्यो सत्ताको विरुद्ध निरन्तर, अथक र योजनाबद्ध भिडन्त गर्नु यतिखेरको आवश्यकता हो। कुनै विन्दुमा गएर यो निकै उथलपुथलकारी, पीडादायी र छलाङमय पनि हुन्छ। जो वर्गसंघर्षकै एउटा रुप हो। साँस्कृतिक रुपान्तरण भनेकै साँस्कृतिक पुनर्जन्म हो। जसअन्तर्गत मानिसले आफूलाई भत्काउँछ र आफूलाई पुनर्सिजन गर्छ। आफू सँगसँगै समाजलाई बदल्ने यात्रामा यो भन्दा अर्को कुनै विकल्प छैन। यदि हामी स्व–रुपान्तरणको यो प्रक्रियामा आफैप्रति निर्मम बन्न सकेनौं भने हामीभित्र अपराजित भएर बसेको अवचेतन साँस्कृतिक सत्ताले अनुकूल छिद्र भेट्नेबित्तिकै जतिखेर पनि हामीलाई पराजित गर्नसक्छ। आफैभित्र पराजित हुनुभन्दा ठूलो पराजय अरु केही पनि हुँदैन।

२०७७ श्रावण १

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार