अमेरिकामा पनि टिकटकलाई प्रतिबन्ध ?

  एजेन्सी  78 पटक हेरिएको

भारतले प्रतिबन्ध लगाएको महिना दिन नबित्दै भिडियो एप टिकटकले अब अमेरिकाको पनि प्रतिबन्ध सामना गर्नुपर्ने अवस्थामा पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

उनले पत्रकारहरूलाई शनिबारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए।

एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने, ‘जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।’

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो।

बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्।

भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण युवा वर्गमा निकै लोकप्रिय बनेको टिकटक अमेरिकीहरूको व्यक्तिगत विवरण सङ्कलन गर्न प्रयोग हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरेका थिए।

जसलाई उक्त कम्पनीले अस्वीकार गर्दै आएको छ।

यसबीचमा उक्त एपलाई माइक्रोसफ्ट कम्पनीले किन्नका लागि छलफल गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए।

तर ट्रम्पले त्यस्तो सम्झौतालाई कार्यान्वयन गर्न दिन सकिनेबारे समेत संशय व्यक्त गरेका थिए।

टिकटकका प्रवक्ता हिलरी म्याक्वाइडले प्रतिबन्ध लगाउने पछिल्लो कदमबारे प्रतिक्रिया जनाउन अस्वीकार गरिन्।

वाशिङ्टन पोष्ट पत्रिकाका अनुसार उनले ‘टिकटकको दीर्घकालीन सफलतामा कम्पनी विश्वस्त रहेको’ बताइन्।

यूट्युबजस्तै टिकटक निःशुल्क प्रयोग गर्न सकिने सेवाको एप हो।

प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडिओ राख्न सक्छन्।

चलचित्रका संवाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन्।

के हो टिकटक ?

सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ।

महामारीको लकडाउनका कारण यसका मानिसको आकर्षण ह्वात्तै बढेको छ।

अहिले यो एप अनुमानित दुई अर्ब पटक डाउनलोड गरिएको छ र यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन्।

यो एप सबैभन्दा बढी भारतमा डाउनलोड भएको थियो तर प्रतिबन्धका कारण अहिले चीन र अमेरिका यसको सबैभन्दा ठूलो बजार हो।

यसको चीनसँग के सम्बन्ध छ?

टिकटक तीन एपका साथ सुरु भएको थियो।

पहिलो सन् २०१४ मा सुरु भएको अमेरिकी एप म्युजिकल्ली हो। सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले चीनमा उस्तै प्रकारको ठाउयीन एप सुरु गर्‍यो।

बाइटडान्सले त्यसलाई संसारभर टिकटकको नाममा फैलायो।

सन् २०१८ मा बाइटडान्सले म्युजिकल्लीलाई किन्यो र यसलाई टिकटकमा मिसायो।

बाइटडान्सले चिनियाँ स्वामित्वबाट आफ्नो एपलाई पर राख्ने प्रयास गरेको छ।

यसका लागि कम्पनीले टिकटको प्रमुख कार्यकारीको रूपमा डिज्नीको पूर्वकार्यकारी केभिन मायरलाई नियुक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार