संसदीय समितिका बैठकहरु रोक्न कर्मचारी युनियनको माग [अपीलको पूर्णपाठ]

  हल्कारान्यूज  498 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्न थालेपछि संघीय संसद सचिवालय कर्मचारी युनियनले अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न माग गरेको छ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार एक अपील जारी गर्दै पछिल्लो समय काठमाडौं उपत्यकामै कोरोना भाइरसको संक्रमण बढेकाले ठूलो जमघट हुने संसदीय समितिका बैठकहरु रोक्न माग गरेको हो।

संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थपन समिति, संसदका पदाधिकारी र र संसदका महासचिवलाई सम्बोधन गरिएको पत्रमा समितिका बैठक, संसदीय दलका बैठकहरु र त्यसमा संलग्न व्यक्तिहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ।

पत्रमा ‘संघीय संसदको दुवै सभा अन्तर्गतका संसदीय समितिका बैठक, संसदीय दलका बैठक र संसदीय समितिको स्थलगत अनुगमनजस्ता कार्यमा सरिक हुने माननीयहरु र सचिवालयका कार्यरत कर्मचारीहरु यतिबेला कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको’ उल्लेख गरिएको छ।

युनियनले सचिवालयमा कार्यरत कर्मचारीलाई आवश्यकताबाहेक शाखाबाट बाहिर ननिस्कन समेत आग्रह गरेको छ।

वैज्ञानिक वन व्यवस्थापनबारे स्थलगत अनुगमन गर्न गएका लेखा समितिद्वारा गठित उपसमितिका संयोजक सांसद् प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण भएको छ। उक्त टोलीमा गएका सांसद र कर्मचारीहरु हाल क्वारेन्टिनमा छन्।

सभामुखकै अगुवा गाडीको ड्राइभरका रुपमा कार्यरत नेपाल प्रहरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ।

उपत्यकामा देखिएको सङ्क्रमण दर र संघीय संसदमै आवतजात गरिरहने व्यक्तिहरुमा संक्रमण देखिएका कारण अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न माग राखिएको कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार