ज्यामिरे तालको प्रवद्र्धन गर्दै पूर्वसभामुख महराः डुङ्गा चढेर लगाए फन्को

  हल्कारान्यूज  259 पटक हेरिएको

दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पर्यटकीय स्थलको अवलोकन तथा भेटघाट गरिरहेका छन्।

मंगलबार दाङको घोराही उपमहानगरपालिका १३ मा रहेको ज्यामिरे ताल र आसपासका पर्यटकीय पूर्वाधारको निरीक्षण गरेका महरा आइतबार दाङको पहाडी गाउँ सैघा पुगेका थिए।

जिल्ला जाँदा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँ, टोलसम्म पुग्ने र भेटघाट गर्ने महराको पुरानै बानीलाई कोरोना भाइरसको प्रकोपले पनि रोक्न सकेको छैन।

मंगलबार पनि महरा स्थानीय पार्टी कार्यकर्ता, शुभेच्छुक, पत्रकार र सुरक्षाकर्मीहरुको साथमा बाह्रकुने दहदेखि ज्यामिरे तालसम्म बनेको ट्रेकिङ मार्गमा पैदल यात्रा गरेका थिए। झण्डै आधा घण्टाको टे्रकिङपछि महराको टोलीले ज्यामिरे तालमा डुंगाबाट जलयात्रा पनि गरेको थियो।

घोराही उपमहानगरपालिकाको लगानीमा करीब एक हजार मिटर लम्बाइ र ३५ मिटर गहिरो कृत्रिम जलाशय बनेपछि ज्यामिरे ताल अहिले पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको छ।

जिल्लाकै स्थापित बाह्रकुने दहदेखि ज्यामिरेसम्म जोड्ने पैदल मार्ग बनेपछि यसमा अझ आकर्षण बनेको छ। दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका महराले गुरुयोजनाअनुसार यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

सो क्रममा घोराही वडा नं. १३ का अध्यक्ष रविलाल घर्ती र सदस्य केशव बिसी, घोराही १२ का अध्यक्ष राजेन्द्र बुढा, वन समिति अध्यक्ष दयाजी बुढालगायत स्थानीयले यो क्षेत्रलाई महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सरकारको अझै सहयोग आवश्यक रहेकाले पहल गरिदिन अनुरोध गरेका थिए।

सो अवसरमा महराले घोराही १२ र १३ मा बनेका विभिन्न कृत्रिम जलाशयको पनि निरीक्षण गरेका थिए।

त्यसअघि मंगलबार नै महराले घोराही १७ स्थित निर्माणाधीन सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालय भवनको पनि निरीक्षण गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार