हिमाली रत्नः पीडा र विद्रोहको काव्यिक दस्तावेज

  टीकाराम उदासी  641 पटक हेरिएको

१.आरम्भ

दाङको पत्रकारिता र साहित्यका क्षेत्रमा नारायणप्रसाद शर्मा अघिल्लो पुस्ताका एक अत्यन्त सक्रिय र आदरणीय हस्ताक्षरको नाम हो। दाङमा बसेर लामो समयदेखि यी दुई विधाक्षेत्रमा उनले गरेको परिश्रम र योगदान निकै महत्वपूर्ण रहेको छ। मूलतः पत्रकारितामा समाजिक चेतनासम्पन्न एक अग्रज पत्रकार र साहित्यमा एक प्रगतिशील कविको पहिचान बनाएका शर्माले पत्रकारिता र साहित्य दुबै क्षेत्रको उन्नयनका लागि दाङमा बसेर लामो समयदेखि व्यक्तिगत र संस्थागत दुवै प्रकृतिका गतिविधिहरु गर्दै आइरहेका छन्। यसै कारणले गर्दा आज उनी एउटा राष्ट्रिय व्यक्तित्वका रुपमा पनि स्थापित भएका छन्। नारायणप्रसाद शर्मा साहित्यिक सिर्जनाका दृष्टिले एउटा कवि हुन्। वैचारिक धरातलका दृष्टिले उनी एक अग्रज प्रगतिशील स्रष्टा हुन्।

बि.सं. १९८८ सालमा हालको घोराही उपमहानगरपालिका- १७, बर्गदीमा जन्मिएका शर्माले औपचारिक रुपमा नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। बि.सं.२००४ सालदेखि नै कविता र नाटकहरु लेख्ने गरेका शर्माले साहित्यिक यात्राको आरम्भिक दिनहरुमा केही नाटकहरुमा अभिनय पनि गरेका थिए।

१३ वर्षसम्म अनवरत शिक्षण पेसामा संलग्न रहेका शर्मा २०३३ सालदेखि भने पत्रकारिता क्षेत्रमै समर्पित भएर लागिरहेका छन्। राजनीतिक दृष्टिले उनी बामपन्थी विचारधाराप्रति आस्था राख्ने प्रतिभा हुन्। २०१० सालमै नेपाल कम्युनिष्ट पार्टी दाङको संस्थापक सेक्रेटरी (सचिव) बनेका शर्माले राजनीतिक आस्थाकै कारण तीन वर्ष छ महिनाको कठोर जेलजीवन पनि भोगेका देखिन्छन्। यस्तै समाजसेवा र मानवअधिकारका क्षेत्रमा पनि उनको योगदान रहेको छ।

अग्रज स्रष्टा नारायणप्रसाद शर्माका हालसम्म विभिन्न विषय क्षेत्रका ८ थान पुस्तकाकार कृतिहरु प्रकाशित भएका छन्। जेलदर्शन (खण्डकाव्य), हिमाली रत्न (खण्डकाव्य), मातेको मान्छे र प्रजातन्त्र (कवितासङ्ग्रह), एउटा स्वर सवारीकोट दाङको (खण्डकाव्य) फर्केर हेर्दा (आत्मकथा र संस्मरण), बुद्धको विश्वचिन्तन (अनुवाद), व्यवस्थापिका संसदमा मेरो अनुभूति (अनुभव), पत्रकारिता: मेरो मनोयोग (कवितासङ्ग्रह) उनका हालसम्म प्रकाशित कृतिहरु हुन्। यस्तै अप्रकाशित रुपमा उनका धेरै साहित्यिक र साहित्यत्तर कृतिका पाण्डुलिपिहरु समेत रहेका छन्।

२. हिमाली रत्नको संरचना

कवि नारायणप्रसाद शर्माको हिमाली रत्न खण्डकाव्यको संरचना विभिन्न १८ लिस्नोहरुबाट निर्मित भएको छ। कविले प्रस्तुत काव्यमा खण्ड वा सर्गहरुलाई लिस्नो नामकरण गरेका छन्। ती सर्ग वा अध्यायहरु कुनै लामा छन् भने कुनै छोटा पनि देखिन्छन्। लोकछन्दमा लेखिएको प्रस्तुत खण्डकाव्यको खण्ड वा लिस्नो संयोजन यसरी भएको देखिन्छः

लिस्नो श्लोक सङ्ख्या
पहिलो ६५
दोस्रो २५
तेस्रो ५५
चौथो ४८
पाँचौं ६४
छैठौं ३६
सातौं ६१
आठौं ५४
नवौं ३७
दसौं ३५
एघारौं ४०
बाह्रौं ६५
तेह्रौं ४०
चौधौं ३४
पन्ध्रौं ३१
सोह्रौं ३२
सत्रौं ४३
अठारौं ३६

यस खण्डकाव्यमा प्रत्येक दुई हरफलाई एक श्लोक मानिएको छ। यसरी जम्मा १८ लिस्नो वा खण्डमा विभाजन गरिएको प्रस्तुत खण्डकाव्यमा श्लोक सङ्ख्या ८०१ रहेका छन्। काव्यका सबैजसो श्लोकहरु अत्यन्त सरल, स्वाभाविक र अन्त्यानुप्रासयुक्त रहेकाले कवि शर्माको यो कृति लयात्मक मात्रै नभएर गेयात्मक समेत बनेका देखिन्छ। काव्यमा लोक लयको सुललित प्रयोग भएको छ।

३. हिमाली रत्नको कथावस्तु

कवि नारायणप्रसाद शर्माको हिमाली रत्न नामक प्रस्तुत खण्डकाव्यको कथावस्तु एउटा गरिब परिवारको युवक रत्नबहादुर घर्तीको जीवनभोगाइमा आधारित छ। कृतिमा रत्नबहादुरलाई एउटा युवाको रुपमा मात्रै नभएर नेपाली समाजको आर्थिक, सामाजिक र साँस्कृतिक परिवेशको एउटा बिम्ब बनेर उभिएको पात्रका रुपमा प्रस्तुत गरिएको छ।

दाङ उपत्यकाको सदरमुकाम घोराहीदेखि उत्तरपूर्वी भेगमा रहेको एउटा पहाडी गाउँ हर्नोकमा जन्मिएको रत्नबहादुर आफ्ना बुबाआमासँग कहिले मेलापात र कहिले गोठाले गर्दै हुर्कन्छ। युवावयमा प्रवेश गर्दै गर्दा उसले पल्टनमा लाहुरे हुने सपना पनि देख्न थाल्छ। ऊ अपठित भएकाले संसार र समाजका बारेमा धेरै जान्दैन। घोर गरिबीका कारण उसलाई घरमा खान लगाउन पनि पुग्दैन। घरको यस्तो प्रतिकूल अवस्थाका बीच उसले गाँउलेहरुसँग खयर काट्न जाने निश्चय गर्छ। यहींनिर आएर खण्डकाव्यको प्रथम लिस्नो समाप्त भएको छ।

दोस्रो लिस्नोमा ऊ साथीहरुसँग खयर काट्न नेपालगञ्जतिर जान्छ। निकै दुःख कष्टसाथ उसले अरुजस्तै रातदिन मेहनत पनि गर्दछ। तर, सबै मजदुरहरु विदेशी ठेकेदारको शोषणले आजित बनेका छन्। उसले दुई हिउँद बिताएर रित्तैजस्तो घर फर्कन्छ। घरमै बस्ने निधो गर्छ। उसलाई पुनः खयर काट्न जान मन लाग्दैन।

तेस्रो लिस्नोमा उसले बसन्तीसँग विवाह गर्दछ। यस खण्डमा दहमेलाको वर्णन पनि निकै रोचक रुपले भएको छ। यस खण्डमा एक वर्षभन्दा केही बढी समय नै व्यतीत हुन पुगेको छ।

चौथौ लिस्नोमा चाँहि रत्नबहादुर घोराही आएर मजदुरी गर्न र इँटा बोक्न थालेको देखिन्छ। यहीँ क्रममा ऊ खराब साथीहरुको सङ्गतले जुवा रक्सीको कुलतमा पनि फस्दै जान्छ। झगडा गर्छ र घरबाट हिड्छ। पाँचौ लिस्नोमा ऊ ऋण लिएर प्रदेश लागेको देखाइएको छ।

यसैगरी खण्डकाव्यको छैठौं लिस्नोमा रत्नबहादुर लाहुरे हुन नेपालगञ्ज पुग्छ तर हुन सक्तैन। सातौं लिस्नोमा नेपालगञ्ज आएको भोको रत्नेले एउटी बूढीको पसलबाट भेली र चिउरा चोरी गर्छ, परिणामतः पक्राउ परेर जेलमा पर्छ। जेलमा शङ्कर चन्द भन्ने एउटा सज्जन कैदीसँग उसको भेट हुन्छ। जेलमा ऊ ६ महिना बस्छ।

आठौं लिस्नोमा मलाया जाने लाहुरेसँग रेलमा उसको भेट हुन्छ। ऊ पनि उसँगै गएर सेनामा भर्ति हुन्छ। नवौं लिस्नोमा घरमा आमाको मृत्यु हुन्छ, बुबा पक्षाघातका रोगी हुन्छन् अनि बसन्तीको पीडा र गुनासो पनि धेरै चित्रण भएको छ।

दशौं लिस्नोमा नेपाल भारतका बीचमा सुगौली सन्धि भएको देखाइएको छ। एघारौं लिस्नोमा आइपुग्दा साम्राज्यवादी मलायाको स्वार्थी प्रवृत्तिको वर्णन र कप्तानको मानवतावादी चरित्रको उद्घाटन भएको छ। बाह्रौं लिस्नोमा विश्व युद्धको वर्णन गरिएको छ। तेह्रौं लिस्नोमा रत्नबहादुरले मलायाबाट घरमा पत्र पठाएको उल्लेख छ। चौधौं लिस्नोमा सर्पले डसेर कप्तानको मृत्यु भएको छ। साथै पन्ध्रौं लिस्नोमा कप्तानको मृत्युपछि पल्टन शोकमा डुबेको अनि उसले सबैलाई मजस्तो भएर नेपालीलाई पराईका लागि मर्नु नपरोस् भन्ने सन्देश दिएको र रत्नेको मनले पनि नेपाल फर्कन चाहेको वर्णन भएको छ।

सोह्रौ लिस्नोमा १० वर्ष मलाया सेनामा सेवा गरेपछि रत्नबहादुर घर फर्किएको छ। जेटबाट कलकत्ता आई रेलमा चढेर ऊ नेपाल आएको तथा बाटामा नेपाली व्यापारीसँग भेट भएको चर्चा गरिएको छ। सत्रौं लिस्नोमा रेलभरि गफ गर्दै आएको व्यापारी रक्सौलतिर लागेको र रत्नबहादुर जरुवातिर लागेको वर्णन भएको छ। साथै यसै लिस्नोमा ऊ कोइलाबासदेखि हर्नोकसम्म दुई दिन लगाएर आइपुगेको कुरा उल्लेख भएको छ।

अन्तिम खण्डका रुपमा रहेको अठारौं लिस्नोमा ऊ घर फर्कदा आफ्नो घर नदेखेपछि जेठा बाको घर गएको अनि उनीबाट नै बिस्तारमा सबै दुर्दान्त पारिवारिक विघटनको घटनाक्रम सुनेको उल्लेख छ। यसरी हिमाली रत्नले नेपाली समाजको एउटा गम्भीर समस्याका साथै विश्वका केही घटनासमेतलाई पनि आत्मसात गरेर आफ्नो स्वरुप निर्माण गरेको छ।

अन्त्यमा खण्डकाव्यको प्रमुख पात्रका रुपमा रहेको रत्नबहादुरले आफ्नो परिवारको बिचल्ली बनाउने कान्छा मुखियासँग बदला लिनका लागि गरेको प्रणका साथै उसमा देखिएको विद्रोही चेतनाबाट यो कृतिमा सामाजिक पीडाको प्रतिबिम्ब मात्रै नभएर विद्रोहभाव पनि उत्तिकै प्रखर रुपले अभिव्यक्त भएको देखिन्छ।

लेखक शर्मा शताब्दी पुरुष सत्यमोहन जोशीबाट सम्मान ग्रहण गर्दै

४. हिमाली रत्नमा प्रतिबिम्बित समाज

कवि नारायणप्रसाद शर्माको प्रस्तुत खण्डकाव्य हिमाली रत्नले नेपाली समाजमा विद्यमान आर्थिक असमानता र त्यसले जन्माएको सामाजिक साँस्कृतिक शोषणलाई चित्रण गर्नुका साथै रत्नबहादुरजस्ता निम्न वर्गका मानिसहरुले सामाजिक न्यायका लागि विद्रोह गर्नुपर्ने आवश्यकतालाई पनि औंल्याएको छ।

खण्डकाव्यको परिवेशलाई हेर्दा त्यसले स्पष्ट रुपमा नेपाली समाजका केही दृश्यबिम्बहरु अगाडि सारेको छ। दाङको सदरमुकाम घोराहीको उत्तरपूर्वी पहाडमा रहेको पहाडी गाँउ छ हर्नोक। त्यहाँ रत्नबहादुरको परिवारजस्ता धेरै गरिबहरुको बसाइँ पनि छ साथै गाउँले गरिब र अशिक्षितहरुलाई निर्ममतापूर्वक शोषण र अन्याय गरेर बाँचिरहेका कान्छा मुखियाजस्ता केही साहुसामन्तहरु पनि छन्।

समाजमा साहुकै रिन लिएर खयर काट्न जाने गरिबहरु पनि त्यहीँ छन् भने त्यही रिन तिर्न नसकेर प्रदेश जाने र लाहुरे हुने रत्नेजस्ता युवाहरु पनि छन्। बृद्ध बुबाआमाको मृत्युको साक्षी र बसन्तीजस्ता श्रीमतीको सहारा बन्न असमर्थ रत्नेहरुको घरगोठ बन्धकीमा परेर उठिबास समेत भएको छ। यसले नेपाली समाजमा विद्यमान आर्थिक असमानता र त्यसले जन्माएका अनेकन जटिल समस्याहरुको झाँकीलाई एकैसाथ प्रस्तुत गर्दछ।

प्रमुख पात्रका रुपमा रहेको रत्नेको अभाव, गरिबी र जीवन सङ्घर्षसँग जोडिन आइपुगेका विभिन्न घटनाक्रमबाट यसको कथावस्तु निर्मित छ। काव्यको कथावस्तुलाई अगाडि बढाउने क्रममा कविले गरेको चरित्रचित्रण, परिवेश र घटनावर्णन निकै प्रभावकारी देखिन्छ। जस्तै:

जुगको माग बमोजिम नेपाली इच्छा बढेको
तैपनि आज नेपाली देखिन्छ किन वैलेको । पृ. २

भाषाको ध्वनि झ्याउरे बुद्धको आत्मा प्राण रे
जीवन धान्नै नसक्दा नेपाली भयो लाहुरे । पृ.२

वनको गिठो तरुल साग र सिस्नो टिपेर
हातका नङ्ग्रा खियाई जीवन धान्छन् सहेर । पृ.३

हिमाली रत्नको समाज भनेको वस्तुतः नेपालको ग्रामीण भेकमा विद्यमान वर्गीय समाजको गतिलो प्रतिबिम्ब हो। रत्नबहादुर एउटा गरिब नेपालीको प्रतिनिधि पात्र हो। आर्थिक अभाव र सामन्ती शोषणको निर्मम सिकार बनेर बिदेश जान बाध्य नेपाली युवाको रुपमा उसलाई देखाइएको छ। त्यसैगरी उसकी श्रीमती बसन्ती, साथी सोमे, पसल्नी बुढी, शंकर चन्द, व्यापारी, लाहुरे कप्तानजस्ता विभिन्न पात्रहरु पनि कृतिमा आएका छन्। त्यस्तै कान्छा मुखियाजस्तो शोषक र सामन्ती चरित्रको पात्र पनि आएको छ।

खण्डकाव्यमा नेपालको सामाजिक, आर्थिक र साँस्कृतिक आयामको साथसाथै नेपालको केही राजनीतिक विकासक्रमको पनि ऐतिहासिक व्याख्या प्रस्तुत छ। बेलायतबाट जेटमा कलकत्ता आएपछि रेलमा चढेर नेपाल आइरहेको रत्नेको भेट एउटा नेपाली व्यापारीसँग भएको छ। आफू दश वर्षपछि मात्रै फर्किएकाले नेपालको अवस्थाबारे व्यापारीसँग उसले जिज्ञासा राख्दा उसले पाएको यसप्रकारको जबाफले आफै नेपालको अवस्थामाथि प्रकाश पार्दछः

राणाको जुग अँध्यारो जुग आँखामा पट्टीझैँ
क्रान्तिको भाले बासेको थियो भो आँखा खुलेझैँ
न बोल्न पायो न देख्न पायो न सुन्न क्यै पायो
राणाको त्यत्रो खोरमा पनि नेपाली अटायो
क्रान्तिको ज्वाला दन्केर यहाँ शासन डढायो
उज्यालो भयो बिहानीजस्तो नेपाली रमायो
फलामे बार भाँचिएपछि स्वतन्त्र मान्छे भो
क्रान्तिको फल यही हो दाजु यो ठूलो कुरा हो । पृ.६१

त्यस्तै कृतिमा जहानियाँ राणाशासनको अन्त्यपछि देशका जनता राजनीतिक रुपले स्वतन्त्र भए पनि आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले भने उस्तै पराधीन भइरहेको अवस्थालाई पनि चित्रण गरिएको छ। रत्नेसँग कुराकानी गर्र्दै व्यापारीले भन्छः

भोको र नाङ्गो अपढ जति मान्छे त उस्तै हुन्
टाठा र बाठा अगाडि थिए मालिक उनै हुन्
शासन गर्ने पुरानो लट्ठी जस्ताको तस्तै थ्यो
हाकिमहरु पुराना खाले दुनियाँ उस्तै हो
नियम उनै कानुन उनै चलन उनै हुन्
शिशि छ नयाँ औषधि उनै चेहरा अर्कै हुन्
जिजी र हजुर पहिले जस्तै चाकरी फलेको
सामन्तवादी राणाको जीति धपक्कै बलेकोै
नेताको हुल कुर्सीको निम्ति सिङौरी खेलेको
आदर्श जम्मै घोषणा जम्मै कुर्सीमै देखेको
मालिक गोरा राणाका थिए अब त्यो रहेन
मालिक गुरु नेहरु काका सन्देह रहेन । पृ.६१

राणाशासनको अन्त्यपछि पनि लाखौलाख नेपाली गरिबहरुको पेट नभरिएको र लाखौं लाख गरिबका सन्तानले शिक्षादीक्षाको अवसर प्राप्त गर्न नपाएको ऐतिहासिक विडम्वनालाई पनि काव्यले सारगर्भित रुपमा यसरी चित्रण गरेको छ:

लाखौलाख गरिबले पेट भ¥या छैन
लाखौलाख बालखले क ख भन्या छैन
बिना ज्याला काम गर्ने कर्म छुट्या छैन
ओखती नै नपाएर मर्न छुट्या छैन
नेपालको डाँडोकाँडो अझै बल्या छैन
तराई र बेसीतिर इलम खुल्या छैन
जतिसुकै वाद जप स्वार्थवाद देखें
नेपालका नेपालीको यस्तै दशा देखें
कालो बजारको अझै दिन पुग्या छैन
ठूलो देश सानोलाई हेप्न छोड्या छैन । पृ. ६३

नेपालबाट एउटा अपठित र अज्ञानी युवाका रुपमा प्रदेश लागेको रत्ने बेलायती सेनामा भर्ति मात्रै भएन, विश्वयुद्धमा पनि सहभागी भयो। युद्धमा उसले निकै अनुभव र ज्ञानहरु प्राप्त गर्यो। यसका साथै जीवन र संसारलाई बुझ्ने उसको चिन्तन र दृष्टि पनि निकै फराकिलो बन्यो। काव्यको अन्तिम लिस्नोमा उसले गरेको चिन्तन नै प्रस्तुत कृतिकै निष्कर्षका रुपमा रहेको देख्न सकिन्छ। कविले रत्नेलाई मुखपात्र बनाए तापनि यी भनाइ कविकै चिन्तनका आलोकले उज्यालिएका छन् भन्दा अत्युक्ति हुँदैनः

मानवले मानवलाई लुट्नु अत्याचार
मानले मानवलाई चुस्नु अत्याचार
अशान्तिको जड यही लडाइको जड
इष्र्या द्वेष कपटको यही मात्र जड
हामी बिस्यौं मानवता आफै बिर्से जस्तै
बिषादमा हामी म¥यौं कीरा मरे जस्तै
मान्छे मान्छे एकैनासे बुझिदिएपछि
श्रम लुट्ने चलनमा रोक लागेपछि
अजम्बरी चोला हैन सम्झिदिएपछि
मन बुद्धि एकैनास विकासिएपछि
थोत्रा रीति स्थिति सबै मेटिदिएपछि
मानवतावाद आउँथ्यो त्यति गरेपछि
नेपालमा पुगेपछि यही नै गर्नुपर्छ
हिमालमा क्रान्तिझण्डा गाडिदिनुपर्छ । पृ. ६५

काव्यको अन्तिम पृष्ठमा रत्नेले गरेको यस्तो टिप्पणीले पनि तत्कालीन नेपालमा विद्यमान रहेको वर्गीय शोषण र त्यसबाट उन्मुक्तिको आवाजलाई नै बुलन्द गरेको देखिन्छ। रत्नेको उद्घोष यस्तो छः

राणाराज्य हटे पनि शोषण छ उस्तै
समाजको बनौट यो पहिलेको जस्तै
हावापानी माटो मात्रै नेपाल त हैन
दशपाँच ठालू मात्रै नेपाल त हैन । पृ. ६६

खण्डकाव्यमा नेपालको बजार आजमात्रै होइन इतिहासको लामो समयदेखि नै भारतले एकलौटी रुपमा कब्जा गरिरहेको तीतो यथार्थलाई पनि कविले चित्रण गरेका छन्। नेपालको जङ्गलमा भएको खयर बिदेशी ठेकेदारले गरिब नेपालीहरुलाई नै काट्न लगाइरहेको तर त्यसको प्रतिफल भने नेपालीहरुलाई नभएर स्वयम् उसले नै खाइरहेको कुरा कविले काव्यमा देखाएका छन्। साथै नेपालगञ्जको बजारमा बिदेशी सामानहरु मात्रै रहेको वर्णनबाट उनले नेपालको पराधीन अर्थतन्त्रका बारेमा तीब्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले कृतिमा लेखेका छन्:

पहाड मात्रै नेपाल होइन रछ नेपाली
नेपालगञ्ज यै भन्छ रत्नेले यहाँ बुझ्यो कि
दरबारजस्ता घर छन् बजारे रमझम छन्
भारते वस्तुभाउले दुकान सारा टम्मै छन्
भाषाको ध्वनि अर्कै छ वेष र भूषा अर्कै छ
विविधताको नेपाल कल्पना खुल्ने ठाँउ छ
दैलेखी, जुम्ली , सुर्खेती, सल्यानी हाम्रा हटारु
बजारभरि घुम्दा छन् व्यापारीहरु लुट्दा छन्
हिमाली जेथा अनेक ओइरो लाग्ने रहेछ
जडी र बुटी कस्तूरी मह र घिउ पचेट । पृ.२३

५. हिमाली रत्नको भाषा

हिमाली रत्न लोकलयमा लेखिएको एउटा सामाजिक खण्डकाव्य हो। यसको भाषा अत्यन्त सरल छ भने अभिव्यक्ति पनि निकै सरस, स्वाभाविक र प्रभावशाली छ। काव्यमा कविले स्थानीय जनजीब्रो वा कथ्य भाषाको पनि निकै प्रयोग गरेको देखिन्छ। यसका कारण प्रस्तुत काव्यकृति आञ्चलिक रङले सुसज्जित भएको छ। कविले यस कृतिमा पृथीवी नारान् साह, चाकी, खुर्पा, कोलिके, खोर्रे, ढेट्वा, गुजरान, चिरा, लापो, सिरान, अछट्टै, झोतो, घुर्रो, भाङ्ग्राको गादो, झाला, छट्के, झुलो, ककडे धुवाँ, गुनियो, घलेक, आस्कोट, खलेन,पचेट, आटो फत्काए, ढिडो ओराले, सिङ्कीको झोल, आँग, पसर, दुकान, जाबी आदि धेरै स्थानीय कथ्य शब्दहरुलाई प्रयोग गरेका छन्।

यसरी सरल भाषा र स्वाभाविक अभिव्यक्तिले प्रस्तुत खण्डकाव्य सबैका लागि पठनीय र ग्रहणीय बनेको देखिन्छ। कविले माघे संक्रान्तिमा लाग्ने बाह्रकुने दहको मेलावर्णन यसरी सरलतापूर्वक गरेका छन्ः

मादल डम्फू बजेको गीतमा गीत मिलेको
आएछ माघे संक्रान्ति दहमा मेला लागेको
दाङको पूर्वी किनारा उत्तरतिर कुनो छ
घोराहीबाट कोषको पैदल बाटो त्यहाँ छ
हामीले भन्छौं दह यो बहाह क्षेत्र कथामा
विष्णुको रुप बहान पूजन भनी मेलामा
सल्यान, दाङ, प्यूठान जिल्लाका मान्छे जुटेका
कुण्डमा स्नान गरेर सन्तोष ठूलो लिएका
सुन्तला दाना बजारभरि फिजेको पाइन्छ
भारीका भारी उखुका घारी रमाइलो देखिन्छ
बाहुन, क्षेत्री, मगर, गुरुङ, थारु छन् अधिक
नपुग्ने पुग्ने मान्छेका वर्ग सहजै छुट्टिन्छ
निधारमा टिकी गाजले आँखा आस्कोट भिरेको
छ सुरुवाल, कछाड काढी मादल भिरेको
देखिन्छ ठिटाठिटीको ताँती नाचेको गाएको
बिर्सेर दुःख सुखमा आज देखिन्छ रमेको
यो हुलभित्र बसन्ती पनि रत्नेको साथै छ
मुटुको पोको सुनौलो सृष्टि झलक पाइन्छ
खैंचडी डम्फू मादल बजे गीतका छहरा
मनका भाव सलल बगे न तेरा न मेरा । पृ. ११-१२

काव्यनायक रत्ने पनि एक नेपाली लाहुरेका रुपमा विश्वयुद्धमा लडेको छ। बेलायतको सैनिक भएर युद्धमा वीरतापूर्वक लडेका कारण उसले कप्तानको दर्जा पनि प्राप्त गरेको छ। तर, यता पारिवारिक स्थिति दुर्दशापूर्ण छ। साहुको रिन उस्तै छ, उसकी श्रीमती बसन्तीलाई आफ्नो अस्मिता जोगाउन धौ धौ छ। साहुको जवान छोरो बसन्तीको पछि लागेको छ। यही स्थितिलाई कविले यसरी वर्णन गरेका छन्ः

साहुको छोरो जवान बसन्ती पछि लागेको
काचक जस्तो फटाहा कुकर्मतिरै सोचेको
हेर्दैन धर्मे संसार सुन्दैन कुरा कसैको
खाऊ र पिऊ रमाऊ सिद्धान्त पछि लागेको
पुर्खाको जेथा छँदैथ्यो बाबुको आर्जन छँदैथ्यो
सामन्ती ठाँट रबाफ बिलास उसको बढेथ्यो
बिदेशतिर पढेको चोरेर पास गरेको
मान्छेलाई मान्छे नगन्ने अभद्र स्वाँठे बनेको
बसन्तीलाई फकायो दिनहुँजसो चलायो
निर्लज्ज हाँसो झिकेर भाषण आफ्नो सुनायो । पृ.५०

६. हिमाली रत्नले चित्रण गरेको ऐतिहासिक र साँस्कृतिक परिवेश

गरिबी र अभावले लखेटिएर भौतारिदै हिडिरहेको रत्ने खण्डकाव्यको प्रमुख चरित्र हो। जीवन सङ्घर्षका क्रममा ऊ जहाँजहाँ जान्छ खण्डकाव्यको परिवेश पनि त्यहाँत्यहाँसम्म फैलदै गएको देखिन्छ। यसरी हर्नोक, घोराही, कोइलाबास, नेपालगञ्ज, जरुवा, कलकत्ता हुँदै मलाया भनिने बेलायतसम्म पनि यसको परिवेश विस्तारित भएको छ। हर्नोकदेखि हिडेको रत्ने देशबिदेशका विभिन््न ठाँउमा पुगर पुनः हर्नोक फर्किएसम्म करिब डेढ दशकको जीवनमा भोगेका अनेकौं घटनाहरु नै प्रस्तुत खण्डकाव्यको कथा बनेका देखिन्छन्।

हिमाली रत्नको परिवेश नेपालको सामाजिक, आर्थिक र साँस्कृतिक परिवेशका साथै तत्कालीन विश्वयुद्धकालीन परिवेश पनि हो। नेपालको ऐतिहासिक, सामाजिक र आर्थिक स्थितिका साथै यसमा नेपाली समाजको एउटा विशिष्ट पक्षका रुपमा रहेको लाहुरे संस्कृति र खयर काट्न जाने संस्कृति दुबैको यथोचित चित्रण पनि भएको छ।

नेपाली इतिहासको एउटा विशिष्ट मोडमा आइपुगेर नेपालमा लाहुरे संस्कृतिको प्रारम्भ र विकास भएको हो। सुगौली सन्धिअघि नेपालमा लाहुरे संस्कृति थिएन। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले भारतलाई उपनिबेश बनाइरहेको इस्ट इन्दिया कम्पनीसँग सुगौली सन्धि गरेपछि नै नेपालमा लाहुरे संस्कृतिको प्रारम्भ भएको इतिहासकारहरुले उल्लेख गरेका छन्।

सन् १९४७ मा भारत स्वतन्त्र भएसँगै बेलायतीहरुले पाकिस्तानलाई अलग राज्य गराइदिएका हुन्। त्यसपछि पूर्वी पाकिस्तान पनि सन् १९७१ मा स्वतन्त्र बनेर बङ्गलादेश जन्मिएको हो । यसरी सन् १९४७ अघिको भारत निकै विशाल थियो। लामो समय भारतमा बेलायतीहरुले नै शासन गरेका थिए। हाल पाकिस्तानमा पर्ने र तत्कालीन समयमा भारतभित्र रहेका्े लाहोर सहरमा क्वेटा छाउनी थियो। त्यहाँ नेपाली युवाहरु सेनामा भर्ति हुन जान्थे। बेलायतीहरुले नेपालका राई, लिम्बू, गुरुङ र मगर गरी चार जातका युवाहरुलाई मात्र आफ्नो सेनामा भर्ति लिने गर्थे। साथै तत्कालीन भारतमा यी जातका सेनाहरुको अलग अलग पल्टन पनि थियो। लाहोरमा भर्ति भएर फर्किएका तत्कालीन इस्ट इन्डिया कम्पनीअन्तर्गत् सेनामा कार्यरत नेपालीहरुलाई लाहुरे भन्ने प्रचलन चल्यो।

पछि सन् १९४७ मा भारत स्वतन्त्र भइसकेपछि पनि बेलायतले केही नेपाली पल्टनलाई पनि आफूसँगै लिएर आफ्नो देश फर्कियो। त्यस समयदेखि यता भारतमा र उता बेलायतमा पनि नेपाली युवाहरुलाई भर्ति गर्ने काम चलिरह्यो, जुन अद्यापि पनि चलिरहेकै छ। यसरी लाहुरे शब्दको अर्थविस्तार भएर सयमयक्रममा भारतीय र बेलायती सेनामा कार्यरत नेपालीहरुलाई मात्रै होइन तत्कालीन हङकङ सेना र सिंगापुर पुलिसमा रहेकालाई बुझाउन यसलाई पनि प्रयोग गरिएको देखिन्छ।

पहिलो र दोस्रो विश्वयुद्धका क्रममा मात्रै होइन आज पनि अनेकौं नेपाली लाहुरेहरुले विश्वका विभिन्न देशमा भएका युद्धहरुमा आफ्नो वीरता देखाएका छन्, बलिदान दिएका छन्। उनीहरुको लाहुरे जीवनले नेपाली समाजको ऐतिहासिक, राजनीतिक, आर्थिक, साँस्कृतिक र सामाजिक जीवनमा पारेका प्रभावका साथै स्वयं उनीहरुको पारिवारिक जीवनमा पारेका प्रभावसमेत वहुआयामिक प्रकृतिका छन्। यसका बारेमा अझै विविध आयामबाट विश्लेषण र समीक्षा हुन बाँकी नै छ। यसै परिप्रेक्ष्यमा कवि नारायणप्रसाद शर्माले आफ्नो प्रस्तुत खण्डकाव्य हिमाली रत्नमा लाहुरे संस्कृतिलाई नेपाली समाजको गहिरो पीडा र गम्भीर समस्याका चित्रण गरेका छन् । काव्यको एघारौ लिस्नोमा भनिएकोः

नेपाली पन्ध्र हजार फौज छ त्यहाँ बसेको
पूर्वको ढोका जस्तो छ शोषण गर्ने गोराको
शिकार गर्ने कुकुर बनाई मान्छे पालेको
रबर टिन गरेर अरबौं धन लुटेको
जन्मदा लिई आएको मान्छेको हक खोसियो
दूधको धारा आमाको अर्काले आई चुसेको । पृ .४१— ४२

चराको जस्तो इच्छाको जीवन यहाँ हुँदैन
यन्त्रको पुर्जा जस्तै हो बोलीको मोल हुँदैन। पृ. ४३

बाह्रौ लिस्नोमा कवि एक ठाँउ भन्छन् :
मान्छेको मन साँघुरो पार्छ पश्चिमी बतास
मान्छेको मन आकाशे पार्छ पूर्वीय बतास
चाहिंदो मात्रा चाहिन्छन् दुबै विवेक त्यही हो
मिलेन मात्रा भने त फेरि संसार मासियो
युरोप भयो अगुवा द्वीप उद्योग क्रान्ति भो
क्रान्तिको फल सुटुक्कै खाने गनिने मान्छे भो । पृ.४५

युद्धको मूल साम्राज्यका रुपमा रहेका युरोपबाट भएको पहिलो विश्वयुद्धमा जर्मनीले हार खाएको र त्यसकै प्रतिशोधमा हिटलरले दोस्रो युद्ध आरम्भ गरेको प्रसङ्गका साथै कविले रत्नेका माध्यमबाट दोस्रो विश्वयुद्धका बारेमा विशद वर्णन गरेका छन्। साथै कविले युद्धसम्बन्धी आफ्नो चिन्तनलाई पनि यसरी प्रस्तुत गरेका छन्ः

बाहिरी हार होइन हार भित्रै छ लडाइ
बाहिर जित होइन जित अर्कै छ जिताई
युद्धको रुप दुइटै हुन्छ न्याय र अन्याय
साम्राज्य निम्ति भएको युद्ध प्रकट अन्याय
यो सर्वहारा वर्गको निम्ति मुक्तिको लडाइ
लेनिन नेता रुसमा गर्छन् क्रान्तिको बढाई
जर्मन जाति शासक जाति हिटलर सुनायो
परम तत्व राष्टै« हो भन्ने उसको नारा भो । पृ. ४६

कसरी त्यहाँ हिटलरको फौज आतङ्क मचायो
बस्तीका बस्ती सखाप पारी निर्जन बनायो
रुसेसी पनि दुश्मनलाई हैरान गराए
बिगारे रेल भत्काए पुल कारखाना जलाए
भएको अन्न आगामा हाली सम्पूर्ण जलाए
हिम्मत कति मान्छेमा हुन्छ प्रत्यक्ष देखाए
जापानी पनि हिटलरी बाटो पहिल्यै समाए
विशाल चिन लुटेर त्यहाँ साम्राज्य चलाए
पूर्वमा लुट्यो जापानी सेना हङकङ बजार
मलाया बर्मा सिंगापुर पनि जापानी अचार
जापानी डंका सुनेर सबै अङ्ग्रेज डराए
रबर राज्य छोडेर हिडे ज्यूज्यान जोगाए
विषैला अस्त्र विषैला शस्त्र विषैला बमले
करोड दुई बीस लाख जति मानिस मरे रे
घायल भए करोड तीन चालीस लाख रे
बहिरा लाटा अनेक भए अनेक लुला रे
हिसाब छैन कति हो कति मानिस बिलाए
स्वाहा भो कति अपार धन हिसाब लगाए । पृ.४८

विश्वयुद्धमा धेरै नेपाली लाहुरेहरुको ज्यान गएको छ। त्यसै क्रममा रेलमा भेटिएको रत्नेलाई मलाया पुर्याएर लाहुरे बनाउने अनि शिक्षा र अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने नेपाली कप्तानले आफ्नो अन्तिम घडीमा भनेका यी अभिव्यक्ति पनि शिक्षाप्रद देखिन्छन्ः

नेपालीलाई मजस्तो भई नमर्नु परोस्
अन्तिम इच्छा यही हो मेरो खबर पुगोस् । पृ. ५५

यस्तै कुनै बेला राप्ती क्षेत्रमा खयर काट्ने संस्कृति पनि निकै प्रचलित थियो। राप्ती अञ्चलका पहाडी जिल्लाका साथै दाङकै पहाडी बस्तीका धेरै मानिसहरु बर्षेनी खयर काट्न तराईका जङ्गलतर्फ लाग्थे र कमाएको दुईचार पैसाले आफ्नो गरिबीको घाउमा मल्हमपट्टी लगाउने गर्थे। कविले प्रस्तुत कृतिको नायकका रुपमा रहको रत्ने घर्ती खयर काट्न गएको प्रसङ्ग जोडेर यस संस्कृतिमाथि पनि प्रकाश पारेका छन्। हाल प्रचलनमा नरहेको भए पनि कुनै बेला यस भेगका जनताका लागि यो एउटा अभिन्न जीवन संस्कृतिका रुपमा रहेको थियो। खयर काट्न जाने रत्नेहरुको वर्णन कविले यसरी गरेका छन्ः

भाङ्ग्राको गादो पारेर खुर्पेटो एउटा भिरेर
इलम गर्न हिडेको जहान पाल्न भनेर
खयर काट्ने वनमा टहरा लागे लस्कर
पेटको दाना जुटाउँथे मजुराहरु लडेर
पसिना यिनी बगाउँछन् रगत सबै सुकाउँछन्
सातुको पानी पिएर ढुकढुकी आफ्नो बचाउँछन्
फाटेको टोपी कसैको खाली छ गोडा सबैको
लगौंटी पनि फाटेको धुवाँसे कालो बनेको
थर्थरी छुट्ने जाडामा आगोझैँ पोल्ने गर्मीमा
खयर काट्ने वनमा मान्छेको जुनी देखेमा
चिन्ताको आगो सल्कन्छ जिउँदै मान्छे जलाउँछ
मान्छेको जुनी कस्तो हो ?सभ्यताले गिज्याउँछ । पृ. ७

नेपालको धन गरिब नेपालीको हुन नसकेको, त्यसमा पनि बिदेशी ठेकेदारका लागि मात्रै भएको चित्रण गर्दे रत्नेजस्ता मजदुरहरु उनै ठेकेदारहरुको शोषण र अन्यायमा परेको कुरालाई उनले यसरी चित्रण गरेका छन्ः

हरियो वन धन हो भाषण गर्ने धेरै छन्
यो धन कस्को निम्ति भो राम्ररी सोंच्ने थोरै छन्
बिदेशबाट आएको छ ठेकेदार बसेको
सुपारी, पान चढाई लिएर आज्ञा जमेको
जङ्गल ठूलो अघोर असंख्य यहाँ खयर
नाङ्गा र भोका नेपाली मजुरी गर्छन् अपार
लाखको धन नेपालको हजार भित्रै पारेर
बिदेशी मोटो भएको मजुराहरु मारेर । पृ.७

७. निष्कर्ष

नारायणप्रसाद शर्मा दाङको अघिल्लो पुस्ताका एक स्थापित प्रगतिशील चेतनासम्पन्न कवि हुन्। उनका अन्य विभिन्न काव्यकृति र फुटकर कविताहरुमा जस्तै २०३५ सालमा प्रकाशित भएको प्रस्तुत हिमाली रत्न नामक खण्डकाव्यमा पनि प्रखर युगबोध, वर्गीय पक्षधरता र क्रान्तिचेतना निकै सशक्त रुपमा प्रकट भएको देखिन्छ।

नेपाली समाजमा रहेको सामन्ती शोषण र उत्पीडन, लाहुरे संस्कृतिको पीडा, विश्वयुद्धको त्रासदी र प्रभावका साथसाथै नेपालको पराधीन अर्थतन्त्रको चित्रण गर्दै कविले खण्डकाव्यमा रत्ने घर्तीका माध्यमबाट आमूल परिवर्तनको निम्ति क्रान्तिको उद्घोष गरेका छन्। काव्यमा रत्ने घर्तीलाई नायकका रुपमा प्रस्तुत गरेर कविले वर्गीय समाजको शोषणले जन्माएको गहिरो पीडा र त्यसबाट गरिबहरुले चाहेको उन्मुक्तिलाई पनि प्रस्तुत गरेका छन्।

यस अर्थमा कवि शर्माको प्रस्तुत हिमाली रत्न नामक खण्डकाव्य पीडा र विद्राह दुबै भाव बोकेर आएको एक उल्लेख्य प्रगतिशील काव्यकृति हो भन्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार