‘प्यारा राम’ गजलको समीक्षा

  डा. खगेन्द्र घोडासैनी  78 पटक हेरिएको

विषय परिचय :

युवाकवि मोतीराम भट्टको जन्म विसं. १९२३ कुसे औंसीका दिन माता रिपुमर्दिनीका कोखबाट काठमाडौँको भोसिको टोलमा भएको थियो। उनका पिताको नाम दयाराम भट्ट थियो। आफ्ना बाबु दयाराम आफ्नी माइली आमाको सेवा सुश्रूषा गर्न बनारस गएर बसेका हुनाले मोतीरामले पनि आफ्नी आमासँग छ वर्षकै उमेरमा बनारस जाने मौका पाए। त्यहाँ उनले फारसी स्कुलमा शिक्षा लिई फारसी र उर्दुको राम्रो ज्ञान हासिल गरे। बनारस बसाइका क्रममा मोतीरामले सितारबादक पन्नालाल गुप्तासँग सङ्गीतको शिक्षा लिने अवसर पाए । यसबाट उनी गजल लेखनमा प्रवृत्त भए (पाण्डेय, २०३७, ११–१२)

उनी वि.सं. २०३७ मा काठमाडौँ फर्किर विवाह बन्धनमा बाँधिए। त्यसै क्रममा नेपाली समाजमा गाइने लोकगीत र भजनहरु सुनेपछि नेपालीमा कविता लेख्ने सुरु गरे। उनले भानुभक्तका रचनाको सुइको पाएर त्यसको खोजी गर्न सुरु गरे। उनी पुनः बनारस गए (भट्टराई, २०५१, ३४)। यसबीच बनारसका कवि भारतेन्दुसँग उनको भेट भयो। भनिन्छ एउटा कार्यक्रममा भारतेन्दुले आधा सेर भने ‘अपने ही कपडे जलाकर लगा आग तापने’ मोतीरामले तुरुन्त जवाफ फर्काए– ‘ऐसा भी मूर्ख देखा है कहीँ आपने’। यो सुनेर हरिच्छन्द्र मोतीरामसँग निकै खुसी भए र काँधमा धाप दिँदै स्यावास तिमी राम्रो कविता लेख्छौ भनेर प्रशंसा गरे। यसरी मोतीराम सानै उमेरका भए पनि हरिच्छन्द्र जस्ता बनारसका प्रतिष्ठित कविका साथी बन्न पुगे।

वि.सं. १९३८ मा मोतीरामले ‘भारत जीवन’ नामक हिन्दी पत्रिकाको नेपाली संस्करण बनाई त्यसका प्रकाशक सम्पादक भएर काम गरे। यसैक्रममा भानुभक्तको बालकाण्ड १९४१ र पछि १९४४ मा सम्पूर्ण रामायण प्रकाशित गराए। बनारस बस्दा उनले सम्पादक, प्रकाशक, छापाखानाको व्यवस्थापक तथा समस्यापूर्ति कविता लेख्दै साथीहरुको समूहसमेत बनाई विभिन्न अनुभव बटुलेको देखिन्छ। बनारसमा सङ्गीतको प्रशिक्षण र हिन्दी उर्दु गजलको वातावरण पाएका भट्टले २०४१ सालदेखि नै गजल लेख्न थालेको पाइ्रन्छ। उनले आफूले मात्रै नलेखी समकालीन युवाहरुलाई समेटेर मोती मण्डली बनाई त्यसका माध्यमबाट गजल लेख्न अभिप्रेरित गरेको देखिन्छ (बराल, २०६०, ६८)

वि.सं. १९४४ मा काठमाडौँ फर्किएर संस्कृत र अङ्ग्रेजीको थप अध्ययन गरी दरबार हाइस्कुलमा भर्ना भए। मोतीराम भट्ट नेपाली, संस्कृत, हिन्दी, अङ्ग्रेजी, उर्दु र फारसी भाषाका जानकार थिए। उनले आफ्ना केही नेपाली कवितामा संस्कृत र नेवारी भाषाको प्रयोग गरेर कूटपद्य निर्माण गरेका छन्। उनले १९४८ मा कलकत्ताबाट प्रवेशिका उत्तीर्ण गरे। यसैबीच उनले ‘कवि भानुभक्त आचार्यको जीवन चरित्र’ जीवनीपरक समालोचना पनि लेखे। उनी आइएको अध्ययन गर्दै गर्दा सिकिस्त बिरामी भई थला परे र १९५३ औंसीकै दिन यस संसारबाट बिदा भए (भट्टराई, २०५१, ३५)

मोतीराम भट्टको मुख्य देन प्रकाशन, समीक्षा, शृङ्गारिक काव्य, गजल र नाटकका क्षेत्रमा देखिन्छ। नेपाली गजलको आरम्भ र विकासमा मोतीराम भट्टको उल्लेख्य योगदान देखिन्छ। त्यसबेलाका केही गजलहरु ‘सङ्गीत चन्द्रोदय’ (१९६९) मा प्रकाशित छन्। उनका समग्र कृतिहरु ‘मोतीराम भट्टका गजलहरु’ (२०३८) गजल सङ्ग्रह, ‘मोती ग्रन्थावली’ (२०४५ र ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’ (२०४६) मा उपलब्ध छन्।

मोतीराम भट्टले शृङ्गारिक धाराको थालनी गर्नुका साथै वीर र भक्ति धाराको अन्त्य पनि गरे। उनले उर्दुमा प्रचलित गजल विधाको नेपालीमा प्रचलन गराई नेपाली साहित्यलाई फराकिलो पारे (शर्मा, २०२७, ५४) त्यतिखेर राणादरबारमा पनि गजल गायनलाई रुचाइन्थ्यो। यसले पनि मोतीराम गजल लेखनमा उत्साहित भएका देखिन्छन्। उर्दु ठेट्टर र गजलको प्रवेश नेपालका दरबारमा त्यतिखेर मनोरञ्जनका साधन बनेका थिए। त्यसैले उर्दु गजलका ठाउँमा नेपाली गजल लेखनमा तत्कालीन बनारसका शिक्षालय र नेपालका दरबारको वातावरणले मोतीरामको युवासुलभ भावलाई पाख्ने मौकाका रुपमा उनले गजल लेख्न थालेको देखिन्छ।

मोतीराम भट्टले शृङ्गारिक भावका अतिरिक्त भक्तिभावका गजल पनि लेखेका छन्। यही भक्तिको विषयवस्तु समेटिएको मोतीराम भट्टको ‘प्यारा राम’ गजलको समीक्षा गर्ने उद्देश्य यस लेखमा राखिएको छ। मोतीराका गजलको समीक्षा गरिए पनि ‘प्यारा राम’ गजलको कथ्यबारे अध्ययन भएको नदेखिनुलाई यस लेखमा प्रमुख समस्या मानिएको छ। उक्त समस्याको समाधान गर्न गजलको समीक्षा गर्ने प्रयास यस लेखमा गरिएको छ।

गजलकार मोतीराम भट्ट

मोतीराम भट्टले बनारसमा बस्दै गर्दा सिकेको फारसी र उर्दु भाषासँग गजल लेखनमा पनि अभ्यस्त हुँदै नेपाली भाषामा गजल लेख्न सुरु गरेको देखिन्छ। उनका गजल शास्त्रीय नियममा आधारित भएर लेखिएका छन्। उनी आफूले मात्रै गजल नलेखी समकालीन युवाहरुलाई पनि लेख्न प्रोत्साहन गरेका कारण उनको सिर्जनशील र उदारवादी व्यक्तित्व झल्किन्छ। उनका गजल शृङ्गारिक भावधारमा भए पनि ‘प्यारा राम’ गजल भने विशुद्ध भक्तिभावमा आधारित छ। यो भक्ति सगुण र निर्गुण भक्तिधाराभन्दा भिन्न विचारधारामा केन्द्रित भएर रचना गरिएको देखिन्छ।

‘प्यारा राम’ गजलको मूलपाठ

यो परमसत्य, अनित्य र सर्वव्यापक रामका विषयमा लेखिएको गजल हो। यसको सर्वसुलभ प्रकाशन साझा कविता (२०२५) मा भएको देखिन्छ। यसमा गजलको शीर्षक ‘प्यारा राम’ नै उल्लेख गरिएको छ। यसको मूलपाठ यसप्रकार छ:

यता हे¥यो यतै मेरा नजर्मा राम प्यारा छन्,
उता हे¥यो उतै मेरा नजर्मा राम प्यारा छन् ।
यसो भन्छौ त फल्फूल्मा उसो भन्छौ त जल्थल्मा,
जता हे¥यो उतै मेरा नजर्मा राम प्यारा छन्,
त्रिलोक् चौधे भुवन्माहाँ प्रभु व्यापक् जहाँ ताहाँ,
कहाँसम्मन् भनूँ याहाँ सबैका राम प्यारा छन् ।
रसीलो राम्रो नाऊँ भजन् तिन्को सधैँ म गाऊँ,
दरस् मो हर्बखत् पाऊँ दयालू राम प्यारा छन् ।
पियारा भै हरी मेरा सधैँ मन्मा गरुन् डेरा,
सबै सन्सारले भन्छन् र मोतीराम प्यारा छन् । (साझा कविता, २०२५, ३१)

संरचना

नेपाली भाषामा लेखिएका गजलहरु अक्षर वा मात्रामा आधारित र शास्त्रीय बहरमा आधारित गरी दुई प्रकारका छन् (बराल, २०६४, ६८–७०)। शास्त्रीय बहरहरु उर्दु भाषामा प्रचलित छन्द व्यवस्था हो। यो संस्कृतमा प्रचलित आचार्य पिङ्गलको छन्दशास्त्रसँग धेरै मात्रामा मिल्दोजुल्दो देखिन्छ। गजललाई शीर्षक दिने चलन नभए पनि साझा कवितामा यसलाई ‘प्यारा राम’ शीर्षक दिइएको छ। यसलाई साझा कवितामा पढेर अध्ययन गरिएका कारण सोहीअनुसार शीर्षकबाटै सम्बोधन गरिएको छ। यो ‘बहरे हजज मुसम्मन सालिम’ नामक ‘बहर’मा आधारित छ। बहर भनेको उर्दु र फारसीमा प्रचलित गजलमा प्रयोग हुने एक प्रकारको छन्द हो। यो बहर संस्कृत छन्द ‘विधाता’सँग मेल खान्छ। कतिपय गजलका बहर र आचार्य पिङ्गलका सूत्रअनुसारको छन्द व्यवस्थाका बीच समानता पनि पाइन्छ। यस गजलमा प्रयोग भएको सूत्र ‘मफाईलुन्’ जोड ४ (ISSS) मात्राको हुन्छ अर्थात् प्रत्येक पङ्क्तिमा ‘मफाईलुन्’ ४ पटक दोहोरिएर आएको हुन्छ। यस्ता ‘मफाईलुन्’– ४ ले एक पङ्क्तिको काम गरेको हुन्छ, जस्तै:
यता हे¥यो यतै मेरा नजर्मा राम प्यारा छन् ।
I  S  S  S  I S SS   ISS    S I  SS    S
यस्ता दुई पङ्क्ति बराबर १ ‘सेर’ हुन्छ । यस गजलमा जम्मा पाँच ओटा सेर छन् । त्यसैले यो लघु आकारमा संरचित गेय गजल हो।

रामको तात्पर्य

संस्कृत हिन्दी कोशअनुसार ‘रम्’ धातुमा कर्ता अर्थ बुझाउने ‘घञ्’ प्रत्यय लागेर यसको निर्माण हुन्छ। यसका मुख्य चार ओटा अर्थ उल्लेख गरिएका छन् १. आनन्दप्रद, हर्षदायक, २. सुन्दर, प्रिय, मनोहर, ३. मलिन, धुमिल, कालो, ४. तीन ओटा प्रसिद्ध व्यक्तिका नाम (क) जमदग्निका छोरा पर्शुराम, (ख) वसुदेवका छोरा र कृष्णका दाजु बलराम र (ग) अयोध्याका राजा दशरथका जेठा छोरा।

नेपाली बृहत् शब्दकोशमा रामका पाँच ओटा अर्थ दिइएका छन्। तीमध्ये प्रमुख तीन उल्लेख्य छन् १. अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा, रामचन्द्र, २. ईश्वर, भगवान्, र ३. प्रसिद्ध तीन रामका नाम (मर्यादापुरुषोत्तम राम, पर्शुराम र बलराम)।

यस्तै रामको जीवनी र लीलाको वर्णन गरेर विभिन्न कृतिहरू रचना गरिएका पाइन्छन्। वाल्मीकि रामायण, अध्यात्म रामायण, मंगल रामायण, नारद रामायण, पुलस्त्य रामायण र वशिष्ठ रामायण संस्कृतमा लेखिएका रामायण हुन्। यीमध्ये वाल्मीकि र अध्यात्म रामायण प्रसिद्ध छन्। यिनैको अनुवाद र केही मौलिक ढङ्गले पनि विभिन्न आधुनिक भाषाहरुमा पनि रामको जीवनीमा आधारित भएर कृतिहरु लेखिएका छन्। यिनमा ‘राम’ शब्दसँगको तात्पर्य अयोध्याका राजा दशरथका जेठा छोरा र उनको जीवन जीलासँग सम्बन्धित त छँदैछ यसबाहेक ईश्वरीय तात्पर्यका रुपमा पनि रामको वर्णन पाइन्छ। अध्योराका राम भगवान् विष्णुका अवतार हुन्। उनको संसारमा आउनुको उद्देश्य रावणको बध हो भन्ने कुरा वाल्मीकि रामायणमा यसरी वर्णन गरिएको छ:

त्वां नियोक्ष्यामहे विष्णो लोकानां हितकाम्यया ।
तत्र त्वं मानुषो भूत्वा प्रवृद्धं लोककण्टकम् ।
अवध्यं देवतैर्विष्णो समरे जहि रावणम् । (वाल्मीकि रामायण, १.१५–१८–२१)

अर्थात् दशरथको पुत्रेष्टि यज्ञमा उपस्थित देवतागणले भने हे प्रभु विष्णु ! लोकहितको कामनाले हामी हजुरलाई मनुष्यरुपमा अवतार लिएर संसारमा बढेको लोकसङ्कट र देवताले पनि मार्न नसकेको रावणलाई युद्धमा संसार गर्न अनुरोध गर्दछौँ। यसबाट वाल्मीकिका राम विष्णुका अवतार दशरथका छोरा नै थिए भन्ने बुभिन्छ।

मोतीराम भट्टले मानुभक्तीय रामायण खोजेर सम्पादन र प्रकाशन गरेका कारण मोतीराममा पनि त्यसको प्रभाव पर्नु स्वाभाविक कुरा हो। मोतीराम भट्ट भानुभक्तकै अनुयायी भएर रामभक्ति धाराका गजल लेख्छन् (बराल, २०४९/५०, ७५) भन्ने भनाइ भने मोतीरामको रामलाई हेर्ने दृष्टिकोणका विपरीत देखिन्छ। भानुभक्तका राम पनि अयोध्याका राजा दशरथका जेठा छोरा र विष्णुका अवतार हुन्। बनमा राक्षसहरुबाट आजित भएका ऋषि विश्वामित्र दररथको दरबारमा पुग्छन्। दशरथसँग राम र लक्ष्मणलाई आफूसँग पठाउन अनुरोध गर्छन्। दशरथले आनाकानी गर्दै उपयुक्त के होला भनी वशिष्ठ ऋषिलाई सोध्छन्। वशिष्ठले रामका बारेमा भनेको कुरालाई भानुभक्तले यसरी वर्णन गरेका छन्:

हे राजन् ! तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी ।
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्का धनी ।।
भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झ¥या ।
कोशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे ग¥या ।। (बालकाण्ड, ७३–७४ श्लोकांश)

यति मात्र नभई भानुभक्तले ती रामको नेपालीकरण पनि गरेका छन् । भानुभक्तका रामले बाल्यकालमा सिकार गरेको कुरा वर्णन गरेर भानुभक्तले रामलाई नेपाली पहाडिया जस्ता देखाएका छन्:

‘खेल्या क्यै दिनमा सिकार बनमा साँचा सिकारी बनी (बालकण्ड–६५)

यस्तै बनबासका बखत रामले मिर्ग मारेर खाएको कुरा भानुभक्तले उल्लेख गरेका छन्:

गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ (अयोध्याकाण्ड–६०)

भानुभक्तको लेखाइमा पाइने यस सन्दर्भले त स्वयं दशरथका छोरा रामको जीवनसँग पनि मेला खाने देखिँदैन। जबकि
मोतीरामका राम सर्वव्यापक, सर्वदेश, काल र सीमामा व्याप्त छन्। तिनलाई मनमा खोजेर पाउन सकिछ। ती कुनै मनुष्य वा राजा होइनन्। बरु यो राम शब्दको व्युत्पत्तिका नजिकको अर्थसँग मेल खाने सन्दर्भका रुपमा पनि देखिन्छ। ‘रमन्ते योगिनः अस्मिन् सः रामः’ अर्थान् योगीजन जसमा रमाउँछन् त्यही राम हो’ तर मोतीराम मनमा पनि बस्ने थलथल, फलफूल आदि सबैमा बस्ने तत्त्वलाई रामको उपाधि दिइरहेका छन्। यस दृष्टिले मोतीरामका राम र भानुभक्तले काव्यमा चित्रण गरेका राममा निकै भिन्नता देखापर्दछ।

गोस्वामी तुलसीदासले रामचरितमानसमा रामलाई निगुर्ण निराकार मानेका छन्। उनी भन्छन्:
निर्गुन रुप सुलभ अति सगुन जान नहिं कोइ।
सुगम अगम नाना चरित सुनि मुनि मन भ्रम होइ।। (रामचरितमानस, ७.७७)

अर्थात् प्रभुका रुप र गुणलाई बुझ्न त्यति कठिन छैन जति प्रत्यक्ष सगुण रुपलाई बुझ्न कठिन छ। प्रभुले मनुष्यरुप धारण गरेपछि साधारण मात्रै होइन ऋषिमुनिहरु पनि अलमलिन्छन्। उनको वास्तविक रुपलाई बुझ्न सक्दैनन्। तुलसीदास याज्ञवल्क्य र भारद्वाज संवादमा भारद्वाज सोध्छन्:

रामु कवन प्रभु पूछउँ तोही । कहिअ बुझाइ कृपानिधि मोही ।
एक राम अवधेस कुमारा । तिन्ह कर चरित बिदित संसारा ।
नारि बिरहँ दुखु लहेउ अपारा । भयउ रोषु रन रावनु मारा ।
प्रभु सोइ राम कि अपर कोउ जाहि जपत त्रिपुरारि ।
सत्यधाम सर्बग्य तुम्ह कहहु बिबेकु बिचारि ।। (रामचरितमानस, १.४५.३–१.४६)

भारद्वाज सोध्छन्– हे प्रभु ! ती कुन राम हुन्? मलाई राम्रोसँग बुझाउनुहोस्। एक राम त अयोध्या नरेश दशरथका छोरा थिए। जसलाई संसारले जानेको छ। उनले आफ्नी पत्नीको वियोगमा धेरै दुख खेपे। रिसाएर रावणलाई मारे। के तिनै राम हुन् वा अर्का कोही छन् जसको नाम शिवजीले पनि जप्ने गरेका छन्। हजुर सत्य र ज्ञानका रुप हुनुहुन्छ। विवेकले यस कुराको निर्णय दिनुहोस्। याज्ञवल्क्यले त्यसको के उत्तर दिए त्यो कुरा तुलसीदास लेख्छन्:
ऐसेइ संसय कीन्ह भवानी । (रामचरितमानस, १.४६.४)
ब्रह्म जो ब्यापक बिरज अलक अनीह अभेद।
सो कि देश धरि होइ नर जाहि न जानत बेद । (रामचरितमानस, १.५०)

तपाईंले सोधे झैँ यस्तो शङ्का पार्वतीले पनि गरेकी थिइन्। पार्वतीले शिवजीसँग सोधिन्– जो ब्रह्म सर्वव्यापक, मायारहित, अजन्मा, अगोचर, इच्छारहित र भेदरहित छ अनि जसका बारेमा वेदले पनि जान्दैन के त्यसले शरीर धारणा गरेर मनुष्य भएर आउँछ? यसको जवाफमा शिवले भने– गएर परीक्षण गर न। त्यसपछि पार्वतीले गएर हेर्दा जे देखिन् त्यसको यसरी वर्णन गरिएको छ:

जहाँ चितवहिं तहाँ प्रभु आसीना । सेवहिं सिद्ध मुनीस प्रबीना ।।
देखे सिव बिधि बिष्नु अनेका । अमित प्रभाउ एक तें एका ।।
बंदत चरन करत प्रभु सेवा । बिबिध बेष देखे सब देवा ।। (रामचरितमानस, १.५३.३–४)

अर्थात् परीक्षा लिन गएकी पार्वतीले जतासुकै केवल राममात्रै देखिन्। उनको सेवामा तत्पर भएर बसेका अनेक प्रकारका भेष धारणा गरेका महान सिद्ध पुरुष, मुनीश्वर, अनेक ब्रह्मा, विष्णु आदि देवता देखिन्। ती सबैले रामको आराधना गर्दै थिए। त्यसैले मायाका कारण रामको वास्तविक स्वरुपलाई चिन्न कठिन छ। शिवले भनेका छन् :
सगुनहि अगुनहि नहिं कछु भेदा । गावहिं मुनि पुरान बुध बेदा ।।
अगुन अरुप अलख अज जोई । भगत प्रेम बस सगुन सो होई ।।
जो गुन रहित सगुन सोइ कैसें । जलु हिम उपल बिगल नहिं जैसें ।।
जासु नाम भ्रम तिमिर पतंगा । तेहि किमि कहिअ बिमोह प्रसंगा ।।
राम सच्चिदानंद दिनेसा । नहिं तहँ मोह निसा लवलेसा ।।
….राम ब्रह्म ब्यापक जग जाना । परमानंद परेस पुराना ।। (रामचरितमानस, १.११५.१– १.११५.०)

अर्थात् सगुण र निर्गुणमा खास भेद छैन भनी मुनिजन, पुराण, ज्ञानीजन र वेदमा भनिएको छ। जुन निर्गुण, निराकार, अलख वा नदेखिने, अजन्मा छ त्यो भक्तका प्रेमको वशमा परेर सगुण वा साकार हुन्छ। जुन निर्गुण छ त्यही सगुण कसरी भयो? यो पानी र असिना जस्तै हो। हुन त दुबै एउटै हुन् तर असिनालाई पगाल्नका लागि सूर्यका किरणको आवश्यकता हुन्छ त्यस्तै मनुष्यलाई पनि गुरुरुपी सूर्यका प्रकाशले यी दुबैको भ्रम निवारण हुन्छ। राम त ब्रह्म नै हुन् उनी संसारमा व्यापक छन्। पुराणहरुमा यही भनिएको छ। उनी आनन्दका स्रोत हुन्। यसबाट मोतीराम भानुभक्तको भक्ति परम्पराका होइनन् बरु तुसलीदासका नजिक छन् भन्ने कुरा सिद्ध हुन्छ। त्यसैले यहाँ रामको तात्पर्य सर्वव्यापक ईश्वरीय शक्तिसँग सम्बन्धित रहेको छ भनी बुझ्नु उपयुक्त हुन्छ।

कथ्य

मोतीरामको विश्लेष्य गजल प्राथमिककालीन नेपाली साहित्यका सगुण र निर्गुण धाराभन्दा अलग धारमा आधारित भएर रचना भएको देखिन्छ। यस गजलमा भट्टले ईश्वरलाई न त सगुण मानेका छन् न त निर्गुण मानेका छन्। उनी भन्छन्– यता हे¥यो यतै मेरा जनरमा राम प्यारा छन्’ अर्थात् आफ्ना दृष्टिमा राम यता पनि छन् उता पनि छन्। रामको उपस्थिति मेरा वरिपरि देखिन्छ यसको अर्थ रामको सगुण भक्ति नभएर यो सर्वव्यापक ईश्वरलाई हेर्ने दृष्टिकोणमा आधारित निर्गुणसँग केही मात्रामा मिल्दोजुल्दो देखिन्छ। विशुद्ध सगुन भक्तिधारामा आधारित गजल नभएर निर्गुण भक्तिधाराको पक्षपोषण गर्ने खालको गजल हो। मोतीरामका राम सर्वव्यापक छन्, उनी देश कालको सीमामा नभएर सर्वव्यापक, सर्वपक्षीय र सर्वत्र उनको उपस्थिति देखिन्छ। उनी आफ्ना रामलाई हर वस्तुमा देख्छन्– उनी भन्छन् यसो भन्छौ त फलफूलमा उसो भन्छौ त जलथलमा अर्थात् फल, फूल, जल, थल सबै ठाउँमा मेरा रामबाहेक अरु केही पनि छैन। सर्वत्र रामको व्यापकता छ, राम सबै ठाउँमा छन् रामको उपस्थिति त्रिलोक, चौध भुवनमा सर्वत्र छ। जहाँ खोज्यो, जहाँ हे¥यो त्यहाँ त्यहाँ रामको उपस्थिति छ।

राममात्रै होइनन् रामको नाम पनि रसिलो छ अर्थात् आनन्ददायक छ। रामको नाममा अझ ठुलो तागत छ। जसले संसारमा पाइने सबै खालका आनन्दमध्ये उच्च र सबैभन्दा माथिल्लो आनन्द प्रदान गर्दछ त्यो तिनै रामको नाम हो। त्यसैले गजलकार भन्छन् रामको नाम र त्यसको भजन म सधैँ गाऊँ। यसले मलाई सबैभन्दा स्वादिलो र सबैभन्दा रसिलो आनन्द दिन्छ। म हरबखत हजुरको दर्शन पाऊँ भनी रामसँग अनुरोध गर्दछन्। उनका दृष्टिमा कुनै स्थान विशेषमा, कुनै देश विशेषमा, कुनै काल विशेषमा दर्शन गरिने व्यक्ति ईश्वर हुन सक्दैन अथवा त्यो सर्वव्यापक परंब्रह्म हुन सक्दैन जो देश कालको सीमामा बाँधिन्छ। त्यसैले यहाँ मोतीराम रामलाई सर्वव्यापक र हरेक ठाउँमा, हरदम दर्शनको चाहना गर्छन्। त्यसरी हर ठाउँमा दर्शन दिन सक्ने रामप्रति नै मोतीरामले ‘प्यारा राम’ भनेको देखिन्छ। उनी भन्छन्– यस्ता राम मेरा लागि सधैँ प्यारा होऊन्। उनी मेरा मनमा सधैँ डेरा गरेर बसून्। अब उनको निवास स्थान कहाँ हो भन्दा उनी भन्छन्– मनमा। जसका अन्तरहृदयमा त्यस्ता राम बस्छन् उसले रामलाई जहाँसुकै पनि देख्न सक्छ, जुनसुकै ठाउँमा पनि प्राप्त गर्नसक्छ, जुनसुकै ठाउँमा पनि अनुभूत गर्न सक्छ। त्यसैले मोतीरामका राम देश, कालको सीमामा बाँधिएका छैनन् अनि सगुण नभएर उनी निर्गुण निराकार छन्। निराकार भएर पनि सबै ठाउँमा देखिन्छन्। ती सर्वव्यापक सबै ठाउँमा उपस्थित छन् उनको खोजी गरेमा उनलाई जहाँ सुकै पनि पाउन सकिन्छ।

मोतीरामका राम उनका आफ्ना निजी नभएर यी सबै संसारका राम हुन्, त्यसैले सबैका हुन्, उनी कसैका होइनन् किनभने उनलाई कसैले आफ्नो बनाइहाले पनि उनीमाथि कसैको अधिकार रहँदैन। राम कुनै व्यक्ति विशेषका भएनन्, कुनै धर्म विशेषका होइनन् जात विशेषका होइनन् न त उनी कुनै समूह वा सीमामा बाँधिन्छन्। उनी सबैका हुन् सर्वव्यापक हुन्। उनी जहाँतहीँ छन् त्यसैले सबैका प्यारा छन् अनि जहाँ पनि देखिन्छन्। उनको सर्वव्यापकता छ भन्ने धारणा मोतीरामको देखिन्छ। त्यसैले गजलकार मोतीराम भट्ट सर्वव्यापक, विश्वव्यापी, सर्वस्वीकार्य अनुभूति हुने ईश्वरीय जुन रुप हो त्यसैलाई उनले यहाँ ‘राम’ भनेर सम्बोधन गरेका छन्। यसरी देश कालको सीमाभन्दा परको दृष्टिकोण राखेर मात्रै ‘प्यारा राम’ गजलको कथ्य पहिल्याउन सकिने देखिन्छ।

भाषाशैली

पहिलो सेरमा ‘यता र यतै’, ‘उता र उतै’ बाहेक बाँकी सबै समान शब्द छन् तर तिनले अर्थमा गहनता थपेका छन्। ‘नजर्मा, फल्फूल्, जल्थल्, त्रिलोक्, चौधे, भुवन्, माहाँ, व्यापक्, सम्मन्, ञाहाँ, भजन्, तिन्को, दरस्, हर्बखत्, पियारा, मन्मा, सन्सार’ जस्ता विशुद्ध कथ्य/उच्चार्य शब्दहरुको चयन गरिएको छ। यो माध्यमिक कालीन गजल भएकाले यसो हुनु स्वाभाविक पनि हो। यसमा अजन्तलाई हलन्त र हलन्तलाई अजन्त तथा ह्रस्व र दीर्घ लय मिलाउन आवश्यकताअनुसार प्रयोग गरिएको छ। शब्द सरल, स्वाभाविक र भाव अनुकूलका छन्। रामको सर्वव्यापकतालाई छोटो गजलका माध्यमबाट बुझाउन सक्नु नै यस गजलको भाषिक सामथ्र्य हो। यसमा गजलको संरचनामा आउनु पर्ने रदिफ, काफिया र तखुल्लुसको उचित सार्थक प्रयोग गरिएको छ। यसले राम विषयक भावलाई सहज तरिकाले सम्प्रेषण गर्ने सामथ्र्य राखेको हुँदा यसको शैली प्रभावकारी देखिन्छ। यसरी हेर्दा यसको भाषा र शैली दुबैको उचित तरिकाले संयोजन गरिएको देखिन्छ।

निष्कर्ष

यस लेखमा मोतीराम भट्टको सामान्य जीवनीगत परिचय दिई उनको ‘प्यारा राम’ गजलको समीक्षा गर्ने उद्देश्य र त्यसको कथ्य पहिल्याउने समस्यालाई लिएर यो समीक्षात्मक लेख तयार पारिएको हो। यसमा मातीरामले औँल्याउन खोजेका राम को हुन् भन्ने विषयमा पनि खोज्ने कोसिस गरिएको छ। यसबाट उनका राम ईश्वर नै हुन् भन्ने देखिएको छ। खासगरी माध्यमिक कालीन अवस्थामा मोतीरामले अँगालेको रामभक्ति साधारण मानवसँग मात्रै सम्बन्धित नभई सर्वशक्तिमान् ईश्वरसँग सम्बन्धित रहेको छ भन्ने कुरालाई उदाहरण, तर्क र छलफलका माध्यमबाट पुष्टि गर्ने काम गरिएको छ। यसको समीक्षा गर्दा गजलका कुनै खास तत्त्वहरु पहिल्याउनतिर नगई त्यसको कथ्य उजागर गर्नतिर बढी ध्यान केन्द्रित गरिएको छ। यसबाट नेपाली साहित्यको रामभक्तिमा गजल लेख्ने मोतीरामले अँगालेका राम परंब्रह्म नै हुन्। उनी भानुभक्तीय रामभक्ति धाराका कवि होइनन्। मोतीरामले रामलाई देश र कालको सीमामा आबद्ध नगरी सर्वव्यापक ईश्वरका अर्थमा नै रामलाई चित्रण गरेका छन् भन्ने निष्कर्ष निकालिएको छ।

सन्दर्भ सामग्रीसूची
१. आचार्य, भानुभक्त (२०६७). भानुभक्तको रामायण, ललितपुर : साझा प्रकाशन ।
२. आप्टे, वामन शिवराम (सम्पा.), (सन् १९९५). संस्कृत हिन्दी कोश, (छात्रसंस्करण), दिल्ली : नाक प्रकाशक ।
३. गोस्वामी तुलसीदास (सन् १९८६) रामचरितमानस, गोरखपुर : गीता प्रेस ।
४. पाण्डेय, नरदेव (२०३६) कवि मोतीराम भट्टको जीवन चरित्र, काठमाडौँ : साझा प्रकाशन ।
५. पोखरेल, बालकृष्ण र अन्य (सम्पा.), (२०७५). नेपाली बृहत् शब्दकोश, काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठान ।
६. बन्धु, चूडामणि (२०२५) साझा कविता, काठमाडौँ : साझा प्रकाशन ।
७. बराल, कृष्णहरि (२०४९/०५०). ‘मोतीराम भट्टको गजलकारिता’, वाङ्मय–६, पृ.७०–८१ ।
८. बराल, कृष्णहरि (२०६०). गीत सिद्धान्त र विश्लेषण : काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
९. भट्ट, मोतीराम (सम्पा.) (सन् १९५१) ठुलो सङ्गीत चन्द्रोदय, वाराणसी : सुब्बाहोमनाथ केदारनाथ ।
१०. भट्टराई, घटराज (२०५१) प्रतिभैप्रतिभा र नेपाली साहित्य, काठमाडौँ : एकता बुक्स डिस्ट्रिव्युटर्स प्रालि ।
११. महर्षि वाल्मीकि (सन् २००२).वाल्मीकि रामायण, गोरखपुर : गीता प्रेस ।
१२. शर्मा, तारानाथ (२०२७). नेपाली साहित्यको इतिहास, काठमाडौँ : सहयोगी प्रकाशन ।

लेखक घोडासैनी जनता विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार