घरमै बसेर तीज पर्व मनाउन राष्ट्रिय सभा उपाध्यक्षको आग्रह

  हल्कारान्यूज  672 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष माननीय शशिकला दहालले कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न घरमै बसेर तीज पर्व मनाउन आग्रह गर्नुभएको छ।

तीज पर्वका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उपाध्यक्ष दहालले महामारीबाट बच्न सके चाडपर्वहरु फेरि आउने भएकाले घरमै सुरक्षित भई मनाउन आग्रह गर्नुभएको हो।

तीज पर्व महिलाहरुको स्वतन्त्रता, दिदीबहिनीहरुको भेटघाट र सुख, दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको उल्लेख गर्दै उपाध्यक्ष दहालले सन्देशमा भन्नुभएको छ, ‘परम्पराका नाममा कतिपय अन्धविश्वासलाई छोडेर हरितालिका तीज महिलाहरुको स्वतन्त्रता, दिदीबहिनीहरुको भेटघाट र सुख, दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व हो। कुनै बेला गीतमार्फत् महिलाले भोगेका दुःख, पीडा र विरहका वेदना पोख्ने थलोको रुपमा रहेको तीज पर्व अहिले महिलाका हक अधिकार, समानता र सहअस्तित्वको आवाज उठाउने स्थान बनेको छ।’

पछिल्लो समयमा देखिएका साँस्कृतिक, आर्थिक विकृतिप्रति सचेत रहँदै तीज पर्वको मौलिक पहिचानसहित मनाउनुपर्ने दहालको भनाई छ। तीज पर्वले महिलाहरुलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक बनाउन प्रेरणा प्रदान गर्ने उपाध्यक्ष दहालले विश्वास व्यक्त गर्नुभएको छ।

साथै उहाँले तीजको भोलिपल्ट मधेशी समुदायले मनाउने चौथी (चौरचन) पर्वका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार