जन्मदिनमा दीपाश्री रुँदै फेसबुक लाइभमा, राजेशका फ्यानसँग फेरि मागिन् माफी

  हल्कारान्यूज  312 पटक हेरिएको

काठमाडौं । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले आफ्नो जन्मदिनका अवसरमा आज आइतबार रुँदै फेरि पनि राजेश हमालका फ्यानसँग माफी मागेकी छन्।

फेसबुकमा लाइभ गर्दै उनले आफूभन्दा सिनियर कलाकारका बारेमा टिप्पणी गरेर आफूले ठूलो गल्ती गरेको भन्दै रोएरै माफी मागेकी हुन्। सुरुमै अत्यन्त भावुक रूपमा प्रस्तुत भएकी उनी बीच–बीचमा रोएकी पनि छन्।

फेसबुक लाइभमा उनले कलाकारितामा सफल भए पनि व्यक्तित्व विकासका सवालमा आफू अझै कमजोरी रहेको महसुस भएको बताएकी छन्।

‘मिडियामा कसरी प्रस्तुत हुने, कसरी सरल हुने, मिडियामा बोल्दा चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने भन्ने कुरामा मैले अझैं सिक्नु बाँकी रहेछ,’ उनले भनेकी छन्।

‘मैले त्यो इन्टरभ्युमा तीन गल्ती गरेँ, पहिलो प्रकाशजीले बोलाएको अन्तर्वार्तामा बिना तयारी गएँ, दोस्रो लगातार आरोप लाग्ने खालका प्रश्न आए र मैले आफूलाई कन्ट्रोल गर्न सकिनँ र मेरो शारीरिक हाउभाउमा समस्या आयो, र तेस्रो मिडियामा मैले कूटनीतिक चलाखी देखाउन सकिनँ र एउटा कलाकार भएर अर्को कलाकारको टिप्पणी गर्न पुगें।’

अबदेखि गल्ती नदोहोर्याउने र व्यक्तित्व विकासमा पनि समय लगाउने उल्लेख गर्दै दीपाश्रीले हमालका फ्यानसँग भनेकी छन्, ‘मेरो अभिव्यक्तिले तपाईंको मन दुखेको छ भने मलाई आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनु होला।’

उनले बीचमा भनेकी छिन्, ‘हुन त त्यो कुराहरू नगर्दा पनि हुन्थ्यो होला अब, तर मलाई के लाग्यो भने, पछिल्ला दिनहरूले के सम्झायो भने समस्याबाट भाग्नुभन्दा त्यो समस्या व्यवस्थापन गर्नु ठूलो कुरा हो,’ भिडियोमा उनले भनेकी छन्, २९–‘३० वर्षको यात्रामा आधी समय त मेरो पीडादायी नै भयो। तर जब २०६० सालमा तितोसत्य आयो त्यसपछि मैले पछाडि फर्केर हेर्नु परेन।’

उनले आफूले अझ धेरै सिक्न बाँकी रहेको भन्दै जन्मदिनको मौका पारेर आफूले गरेको गल्तीमा माफी दिन आग्रह गरेकी हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार