पर्यटनमन्त्री भट्टराईले सार्वजनिक गरे अघिल्लो आर्थिक वर्षको प्रगति

  हल्कारान्यूज  82 पटक हेरिएको

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीका बीच अघिल्लो आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले भर्चुअल बैठकमार्फत् सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति पुस्तिकामा समग्र ६० प्रतिशत प्रगति हासिल गरेको उल्लेख गरेको छ।

भर्चुअल बैठकमार्फत् वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दा बढी पूँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताउनुभयो।

‘कोभिड–१९ महामारीका कारण पुस–माघदेखि असार–साउनसम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पूँजीगत खर्च ६४ प्रतिसत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ। चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ।’

मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ संघीय संसदमा पेश भई छलफलको क्रममा रहेको जनाएको छ भने हवाई नीतिको मस्यौदा बनेको उल्लेख गरेको छ।

मन्त्रालयको आब २०७५/०७६ मा कूल बजेट रु ३३ अर्ब १३ करोड ३७ लाख रहेको थियो। आब २०७६/०७७ मा २१ अर्ब २१ करोड ६९ लाख कूल बजेट रहेको छ। आब २०७५/०७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुक्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको हो। यसका साथै कोभिड–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई असर पारेकाले मन्त्रालयको अपेक्षित नतिजा हासिल हुन नसकेको मन्त्रालयका अधिकारी बताउँछन्। तर, कोरोना महामारीकै बीचमा केही महत्वपूर्ण काम भएको पुस्तिकामा उल्लेख गरिएको छ।

जसमा पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको बताइएको छ। ती मध्ये पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काम महामारीकै बीचमा भइरहेको र गौतम बुद्ध विमानस्थल छिट्टै सञ्चालनको तयारीमा रहेको बताइएको छ। पर्यटनमन्त्री भट्टराईका अनुसार बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ। अबको तीन देखि ६ महिनाभित्र विमानस्थल व्यावसायिक सञ्चालनमा आउने भट्टराईले बताउनुभयो।

भूकम्पछिको पुनःनिर्माणमा तीव्रता

भूकम्पबाट क्षतिग्रस्त ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको बताइएको छ। सुन्धारास्थित निर्माणाधीन २२ तले धरहराको काम तीब्र गतिमा भइरहेको र हालसम्म ११ तला बनिसकेको मन्त्री भट्टराईले बताउनुभयो। उहाँका अनुसार रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ भने ग्रेट हिमालयन ट्रेलको ७७ किलोमिटर निर्माण सकिएको छ।

मन्त्रालयले घोषणा गरेका १९२ गन्तव्यमध्ये १२२ को सतप्रतिशत र ७० गन्तव्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम भइसकेको मन्त्री भट्टराईले बताउनुभयो।

निगमको सम्पत्ति ५४ अर्ब १७ करोड

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कूल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको पुस्तिकामा उल्लेख गरिएको छ। त्यस्तै, ४५ अर्ब ९४ करोड ऋण रहेको निगमको खुद सम्पत्ति रु. आठ अर्ब २३ करोड बराबरको रहेको छ। निगमले जापानको नारितामा सिधा उडान शुरु गरेको र कोभिड–१९ महामारी अन्त्यपछि साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको बताइएको छ।

निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री भट्टराईले बताउनुभयो। आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको उहाँले जानकारी दिनुभयो।

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरिएको र योसँगै चार्टर्ड उडान क्रमशः कम हुने मन्त्रालयले जनाएको छ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै मन्त्रालयले हिमाली र पहाडी क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा जुटेको मन्त्री भट्टराईले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार