अब सिएमए, अनमी, ल्याव असिस्टेन्ट पढाइ नहुने, स्वास्थ्यसम्बन्धी १३७ कलेजको सम्बन्धन खारेज

  हल्कारान्यूज  472 पटक हेरिएको

काठमाडौं । सरकारले यही शैक्षिक सत्रदेखि लागू हुने गरी अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायत कार्यक्रममा विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरेको छ।

एसएलसी (एसइई) सरहका यी स्वास्थ्यसम्बन्धी कार्यक्रम पढेका विद्यार्थीले जागिर नै नपाउने अवस्था भएपछि पठनपाठन बन्द गरिएको हो।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसीसरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेसँगै अब यी कार्यक्रमहरु नचल्ने भएका हुन्।

आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको थियो।

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले ऐनकै व्यवस्थाअनुसार सीटीईभीटीले चलाउँदै आएको प्रमाणपत्र तहमुनिका स्वास्थ्य विषयका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन नपाउने निर्णय गरिएको बताउनुभयो। उहाँले चिकित्सा शिक्षा ऐन अनुसार नै त्यस्तो निर्णय आएको बताउनुभयो।

योसँगै अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ। त्यसैगरी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको पीसीएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन नपाउने निर्णय भएको छ।

२ वर्षअघि आएको चिकित्सा शिक्षा ऐनमा प्रमाण तहको स्वास्थ्य शिक्षालाई फेजआउट गर्दै जाने शब्द उल्लेख गरेर तोकिएअनुसार स्तरोन्नतिको व्यवस्था गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार