११ डाक्टरसहित ३९ मा कोरोना पुष्टि भएपछि वीर अस्पताल दुई दिन बन्द

  हल्कारान्यूज  317 पटक हेरिएको

काठमाडौँ । ११ डाक्टरसहित ३९ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि वीर अस्पतालले दुई दिन ओपीडी सेवा बन्द गरेको छ।

आज (मंगलबार) एक सूचना जारी गरी अस्पताल प्रशासनले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको भन्दै भोलि भदौ १७ र १८ गते दुई दिनका लागि ओपीडी सेवा बन्द गरेको हो।

अस्पतालमा ११ जना डाक्टरसहित ३९ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरुसँगै काम गरेका अरु ७५ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ।

एउटै अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीको यति ठूलो संख्यामा संक्रमण देखिएको र ट्रेसिङमा परेका अरु स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राख्नुपरेको नेपालमा यो पहिलो घटना हो।

ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि बिरामीको उपचारमा खटिने जनशक्तिको अभाव भएको र संक्रमित स्वास्थ्यकर्मी सबैको वीर अस्पतालमै उपचार भइरहेको वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले जानकारी दिनुभयो।

वीर अस्पतालका स्वास्थ्यकर्मीहरु कोही भाडामा बस्ने र कोही घरमा आइसोलेट भएर बस्ने स्थान अभावले लक्षण नभएकालाई पनि अस्पतालमै राख्नुपरेको सेञ्चुरीले बताउनुभयो। सबै अस्पतालले कोरोनाका बिरामी हेर्नैपर्ने अवस्था भएको तर सुरक्षा सामग्री पर्याप्त नहुँदा स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमित हुने स्थिति आएको उहाँको भनाई छ।

अस्पतालको इमर्जेन्सीका तीन जना डाक्टर, ल्याव र लेखाका कर्मचारीमा समेत संक्रमण देखिएपछि ओपीडी सेवा पनि बन्द गर्नुपरेको अस्पताल स्रोतको भनाई छ। कोभिड र अन्य बिरामीहरुको एउटै ठाउँमा उपचार गर्नुपर्दा पनि संक्रमण ठूलो मात्रामा फैलिएको वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको गुनासो छ।

‘एउटै पञ्जाको भरमा दिनैभर सबै वार्डमा बिरामी हेर्नुपर्छ। यसरी स्वास्थ्यकर्मी र बिरामी दुवै जोखिममा परिरहेका छन्,’ एक स्वास्थ्यकर्मीले भने, ‘यस्तो अवस्थामा स्वास्थ्यकर्मी आफू पनि जोखिममा छन्, अन्य बिरामीहरुलाई पनि कोरोना संक्रमण हुने खतरा उत्तिकै छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार