पहिलो हुन्छ भनेको खोपमै देखियो खोट, खोप लगाएका व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो परीक्षण

  एजेन्सी  612 पटक हेरिएको

लन्डन । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण हाललाई स्थगित गरिएको छ। कोरोना भाइरसविरुद्धको खोप अन्तिम परीक्षणका क्रममा रहेको बेला खोप लगाइएका व्यक्तिमा समस्या देखिएपछि रोकिएको हो।

एस्ट्राजेनेकाका अनुसार परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएकाले तत्कालका लागि खोप परीक्षण स्थगित गरिएको हो। ती व्यक्ति कसरी बिरामी भए भन्ने अनुसन्धान भइरहेको र त्यो पत्ता लागेपछि मात्रै खोपको परीक्षणलाई पुनः सञ्चालन गरिने एस्ट्राजेनेकाले बताएको छ।

बीबीसीका अनुसार अब यसको स्वतन्त्र जाँच हुनेछ। सुरक्षा मापदण्डका बारेमा समीक्षापछि मात्रै खोपको पुनः परीक्षण हुने नहुने टुंगो लाग्ने बीबीसीका मेडिकल सम्पादक फर्गस वाल्सले बताएका छन्।

अक्सफोर्ड र एस्ट्रेजेनेकाले विकास गरेको खोपमा विश्वकै ध्यान केन्द्रित थियो। विश्वका विभिन्न देशमा करिब एक दर्जन जति खोप परीक्षणमा रहे पनि अक्सफोर्डले बनाइरहेको खोप सबैभन्दा अगाडि रहेको बताइएको थियो। पहिलो र दोस्रो चरणको परीक्षण सफल भएपछि छिट्टै नै अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको खोप आम प्रयोगमा आउन सक्ने अनुमान गरिएको थियो। बीबीसीका अनुसार तेस्रो चरणको परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी करिब ३० हजार जनालाई सहभागी गराइएको थियो।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावअघि नै खोप उपलब्ध हुने दाबी गरेका छन्। तर सुरक्षा मापदण्डलाई भन्दा पनि राजनीतिक फाइदाका लागि हतारमा खोप ल्याइए त्यसले झन् चुनौती थपिने वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्।

त्यसैगरी जोन्सन एन्ड जोन्सन, बायो एनटेक, ग्लाक्सो स्मिथ क्लाइन, फिजर, मर्क, मोडर्ना, सानोफी, नोभाभाक्सलगायतका कम्पनीले पनि कोरोना खोपको परीक्षण गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वभर करिब १८० वटा खोपका बारेमा अध्ययन अनुसन्धान भइरहेको छ। तर कुनै खोपको पनि ‘क्लिनिकल ट्रायल’ पूरा भएको छैन। डब्लूएचओले आवश्यक चरण र सुरक्षा मापदण्डबिना कोरोना खोप प्रयोगमा ल्याए त्यसले गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार