कोरोनाभन्दा खतरनाक महामारीका लागि तयार रहन डब्लूएचओको चेतावनी

  एजेन्सी  1023 पटक हेरिएको

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन्।

सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले कोरोनाभन्दा ठूला महामारीको सामना गर्न तयार रहनुपर्ने भन्दै सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन्।

कोरोनाले सबैलाई पाठ सिकाएको उल्लेख गर्दै टेड्रोसले भने, ‘कोरोनाले सिकाएको एउटा कुरा के हो भने स्वास्थ्य भनेको विलासिताको बस्तु होइन। यो आवश्यकताको कुरा हो र यो एउटा मानव अधिकार हो।’ महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको बताए।

उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए। ‘यो नै अन्तिम महामारी हुँदैन, इतिहासले बताउँछ कि महामारी हाम्रो जीवनको वास्तविकता हो। अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्छ,’ उनले भने। उनले केही देशले सार्स, मर्स, पोलियो, इबोला र फ्लुलगायतका महामारीबाट सिकेर तुलनात्मक रुपमा राम्रो काम गरेको बताए। केही देशले मेडिसिनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउँदै महानिर्देशक टेड्रोसले धेरै देशले भने आधारभूत जनस्वास्थ्यका क्षेत्रमा पनि हेलचेक्य्राइँ गरेको बताए।

उनले कोरोना नियन्त्रण तथा रोकथाममा कम्बोडिया, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, रुवान्डा, सेनेगल, स्पेन, भियतनामलगायतका देशले प्रभावकारी कदम चालेको बताए। महामारी नियन्त्रणका विषयमा जर्मनीबाट पनि धेरै कुरा सिक्न सकिने उनले बताए।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना महामारी विश्वका एकाध देशबाहेक सबैतिर फैलिएको छ। मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७३ लाख नाघेको छ। त्यस्तै कोरोनाबाट ८ लाख ९२ हजारभन्दा बढीको मृत्यु भएको छ भने कोरोना पुष्टि भएकामध्ये करिब एक करोड ८३ लाख जना संक्रमणमुक्त भएका छन्।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ६३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। अमेरिकामा कोरोनाबाट एक लाख ८९ हजारभन्दा बढीको मृत्यु भएको छ भने २३ लाख ३३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्।

त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा अहिलेसम्म ४२ लाख ८० हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ हजारभन्दा बढी रहेको छ। संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब ३३ लाख २३ हजारभन्दा बढी निको भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार