लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा

  हल्कारान्यूज  139 पटक हेरिएको

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आजदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन्। त्यहाँ उनीहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधासहित बस्नेछन्।

यससँगै अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ। यही भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुग्नुभएका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताउनुभएको थियो।

सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोली भदौ १६ जिल्लाको बाँसखर्क पुगेर वडा अध्यक्ष लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो। सबै प्रक्रिया पूरा भएपछि आज सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिनुभयो।

पहिरोमा अभिभावक गुमाएका पाँचदेखि बाह्र बर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिनुभयो। लामाका अनुसार बालग्राम पठाइएकाहरुमा छ जना बालक र एक बालिका छन्।

पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका वडा नं १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयहरुबाट आवश्यक काजगपत्र तयार गरी पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको थियो। सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओसएस बालग्राम पनौतीका निर्देशक अमगाईं, विनोदमणि भट्टराई लगायतका टोलीसँग पठाइएको अध्यक्ष लामाले बताउनुभयो।

गत साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिका मध्ये १२ बर्ष माथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत् सहयोग गरिने एसओएस बालग्राम पनौतीका निर्देशक अमगाईले जानकारी दिनुभयो।

जुगल गाउँपालिका वडा नं २ को लिदी पहिरोले ३७ घर पुरिंदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ। दुई जना अझै बेपत्ता छन्। पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ। विस्थापितहरुको स्थायी बसोबासका लागि पहल भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार