नेकपा एकता महाधिवेशन चैतमा, कस्तो छ तयारी ?

  हल्कारान्यूज  203 पटक हेरिएको

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा हुने निर्णय भएको छ। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच दुुई वर्षअघि एकता भएपछि पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

यसैगरी बैठकले एकता महाधिवेशनका लागि आवश्यक तयारी गर्न आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ। बैठकमा महाधिवेशन आयोजना गर्न दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट
विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गरिनेछ।

सदस्यता नवीकरण मङ्सिरभित्र

पार्टी सङ्गठन विभागको कार्ययोजनामा आगामी कात्तिक महिनाभित्र सम्बन्धित जिल्ला कमिटीले पार्टीको सङ्गठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश हुँदै केन्द्रीय सङ्गठन विभागमा पठाउने र मङ्सिर महिनाभित्र सङ्गठित सदस्यता नवीकरण सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ। महाधिवेशनको तयारी बारेमा सङ्गठन विभागको बैठक भदौ २८ गते बस्ने छ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको बैठकमा १५ बुँदे प्रस्ताव स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्नुभएको थियो। सो प्रस्ताव भदौ २४ गते नै स्थायी कमिटीका सदस्यलाई अध्ययन गर्न उपलब्ध गराइएको थियो।

बैठकको सुरुमा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई पूर्ण रूपमा समाधान गरेको र पार्टी एकतालाई नयाँ उचाइमा पु¥याएको विचार व्यक्त गर्नुभएको थियो। देशी तथा विदेशी शक्तिले पार्टीलाई कमजोर बनाउन र तोडफोड गराउन जे अपेक्षा गरेका थिए त्यो असफल भएको भनाइ प्रधानमन्त्रीले राख्नुभएको जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो।

त्यस्तै, अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाएर एकताको रक्षा गरी विचारको बहस गर्दै वैचारिक रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीलाई साङ्गठनिक रूपमा अझ बढी बलियो बनाउने काम यो बैठकले गरेको धारणा राख्नुभयो। पार्टीलाई अझै बढी सुदृढ गर्न एकता महाधिवेशनमा बहसको प्रक्रिया उन्नत ढङ्गले अगाडि बढाएर महाधिवेशन सफल बनाउन सबैसँग आह्वान पनि अध्यक्ष प्रचण्डले गर्नुभयो।

अध्यक्षद्वयको कार्य विभाजन

स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको कार्य विभाजन अझै स्पष्ट पारेको छ। गत मङ्सिर ४ गते पार्टी अध्यक्षद्वयको बीचमा कार्य विभाजनबारे भएको निर्णयलाई स्थायी कमिटीको बैठकले अझ स्पष्ट पारेको हो। प्रधानमन्त्री ओली सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढङ्गले सफल पारी त्यसको नेतृत्व गर्ने बैठकले निर्णय गरेको जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो। उहाँका अनुसार अध्यक्ष ओली प्रतिनिधि सभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व र काममा केन्द्रित हुनुहुनेछ।

त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको कार्यकारी अधिकारसहित पार्टीको कामको नेतृत्व गर्नुहुनेछ। कार्यकारी अधिकारसहित पार्टीका बैठकको सञ्चालन, निर्णयको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित रहने निर्णय भएको छ। साथै पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन हुनेछ। सरकारको दैनिक काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन। आधारभूत नीति र राष्ट्रिय महत्वको विषयमा निर्णय लिँदा पार्टीको मार्ग निर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने स्थायी कमिटीले निर्णय गरेको छ।

यसैगरी बैठकले राष्ट्रिय महत्वको निर्णयको हकमा सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्श तथा सहमतिका आधारमा निर्णय गर्ने पनि बैठकले निर्णय गरेको छ।

सरकारले प्रस्तुत गर्ने विधेयक

सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक वा प्रस्तुत गर्ने नीतिको सैद्धान्तिक पक्षबारे पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालयमा छलफल गरेर अगाडि बढ्ने बैठकले निष्कर्ष निकालेको छ। सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम, बजेट, विधेयक र अन्य महत्वपूर्ण विषयमा संसदीय दलका सदस्यमाझ छलफल गर्ने र सुझाव लिने निर्णय बैठकले गरेको छ।

संसदीय दलको निर्णयका आधारमा संसद तथा समितिमा सांसदको भूमिकालाई एकरूप र प्रभावकारी बनाउने तथा सांसदले सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम, बजेट, विधेयक, सन्धि लगायत प्रस्ताव पारित गर्न सक्रिय भूमिका निर्वाह गर्ने सहमति पनि भएको छ।

भारतीय सेना फिर्ता पठाउन पहल गर्ने

नेपाल र भारत बीचमा सीमा समस्या मूलतः लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमित भूभागमा हकभोग स्थापित गर्नेगरी नेपाली भूमिमा भएका भारतीय सुरक्षाकर्मी फिर्ता पठाउने गरी सरकारले काम थाल्ने निर्णय भएको छ। नयाँ नक्सा बमोजिम संविधानमा संशोधन गर्ने काम गरेकोमा त्यसका निम्ति स्थायी कमिटीको बैठकले सरकारलाई धन्यवाद प्रदान गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

यसैगरी सीमासँग सम्बन्धित विषयमा पार्टीले देखाएको राष्ट्रिय एकताका निम्ति तथा जनचेतना जागृत गर्ने सबै बुद्धिजीवी तथा नागरिक समाज र सांसद सबैलाई बैठकले आभार व्यक्त गरेको छ। अब भारतसँग राजनीतिक, कूटनीतिक वार्ताद्वारा नै नेपालको सार्वभौम र अखण्डताका निम्ति समाधान निकाल्ने निष्कर्ष पार्टीले निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

कोरोनाविरुद्ध राष्ट्रिय एकता

कोरोना भाइरसबारे सरकारले अहिलेसम्म रोकथाम तथा नियन्त्रण गर्न जे नीति, योजना, कार्यक्रम र निर्णय अगाडि बढाएको छ, त्यसलाई बैठकले सकारात्मक रूपमा लिँदै त्यसको प्रभावकारी नियन्त्रण गर्न राष्ट्रिय एकताका साथ अगाडि बढ्न बैठकले सुझाव दिएको छ। बैठकले अझै व्यवस्थित ढङ्गले रोकथाम नियन्त्रण र उपचारको पद्धति अगाडि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। अग्रमोर्चामा खटिने चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको मनोबल उठाउने आवश्यकता पनि औँल्याएको छ।

एमसीसी सम्झौता संशोधन र परिमार्जन गरि लागू गर्ने

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गर्ने निर्णय बैठकले गरेको छ। त्यो परिमार्जन र संशोधन गर्नेबारे पार्टीले सचिवालयका सदस्य झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर चाँडै निष्कर्ष निकालिने जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो। त्यसका लागि छिट्टै प्रक्रिया अगाडि बढाइनेछ।

गौतमलाई राष्ट्रिय सभामा लिनेबारे प्रधानमन्त्रीले दिए जानकारी

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लिने कुरा प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराउनुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार