सकियो कुलमान घिसिङको कार्यकाल, सरकारले फेरि घिसिङलाई नियुक्ति गर्ला ?

  हल्कारान्यूज  186 पटक हेरिएको

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएको छ। चार वर्षे कार्यकालको रुपमा २०७३ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए।

उनको ४ वर्षे कार्यकाल पूरा भएसँगै अबको कार्यकारी निर्देशक को हुन्छ भन्ने आम चासो जागेको छ। सामाजिक सञ्जालमा घिसिङलाई थप एक कार्यकाल काम गर्ने अवसर दिनुपर्ने भन्दै अभियान नै चलाइएको छ। उसो त ऊर्जा मन्त्री वर्षमान पुनले पनि घिसिङलाई नै पुनः कार्यकारी निर्देशकको रुपमा नियुक्ति दिने तयारी गरिरहेको बताइएको छ।

स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भइसकेको छ। उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ। ऊर्जमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको ऊर्जामन्त्रीका प्रेस सल्लाहकार दयानिधि भट्टले समेत पुष्टि गर्नुभएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फेरि जिम्मेवारी दिने सहमति भइसकेको छ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, अध्यक्ष दाहाल र मन्त्री पुन निकटका स्रोतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई दोहोर्‍याइने बताएका छन् । प्रधानमन्त्रीका एक सल्लाहकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मन्त्री पुनले जसलाई अगाडि बढायो उसैलाई स्वीकार गर्ने र प्रधानमन्त्रीको तर्फबाट कुनै व्यक्ति नभएको बताएका छन्। घिसिङले आइतबार ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेको बताइएको छ।

गत भदौ १९ गते यता मन्त्रिपरिषद् बैठक बसेको छैन। भदौ २५ गते बस्ने भनिएको बैठक नेकपा स्थायी कमिटी बैठकले प्रभावित भएको थियो।

प्रधानमन्त्रीको व्यस्तताले पछिल्लो समय मन्त्रिपरिषद्को बैठक बस्न नसकेको बताइएको छ। सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकबारे निर्णय हुने ऊर्जा मन्त्रालयले जनाएको छ।

त्यस्तै अब बस्ने बैठकले सरकारको प्रवक्ता र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नेबारे पनि निर्णय गर्नसक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार