किन रोकियो विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति ?

  हल्कारान्यूज  273 पटक हेरिएको

काठमाडौं । सर्वत्र चासोका रुपमा हेरिएको नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनःनियुक्तिबारे सरकारले कुनै निर्णय गरेको छैन।

ऊर्जामन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा नपरेको बताइएको छ।

सोमबार बेलुकी अबेर सकिएको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने अनुमान गरिएको थियो। तर, उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा नै परेन।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय स्रोतका अनुसार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई दोहोर्याउनका लागि प्रधानमन्त्री कार्यालयमा आइतबार नै प्रस्ताव दर्ता गरिसकिएको थियो। ऊर्जामन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेश गरिसकेको स्रोतको दावी छ।

मन्त्रिपरिषद् बैठकमा औपचारिक प्रस्ताव नआए पनि अनौपचारिक छलफलमा कुलमानको पुनर्नियुक्तिबारे कुरा उठेको थियो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार उक्त विषयमा प्रधानमन्त्री ओलीले त्यसको कानूनी पाटो के कस्तो हुन्छ बुझौं भनेर बताएका थिए।

कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राती सकिएको छ।

यसैबीच कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।

राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरुले मैनबत्ती बालेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार