इमान्दार र निष्ठावान् माओवादी नेताको आकस्मिक निधन !

  हल्कारान्यूज  1517 पटक हेरिएको

६ वर्षअघि २०७१ भदौ ३० गते आजकै दिन- माओवादी आन्दोलनका एक शीर्ष नेता, जनयुद्धका पहलकर्ता, सरल, इमान्दार र निष्ठावान् नेता कमरेड पोष्टबहादुर बोगटी ‘दिवाकर’लाई आकस्मिक तर असमयमै गुमाएको दिन!

पार्टी बैठकमा बसिरहँदा केही स्वास्थ्यमा असहज महसुस गरी आराम गर्न घर फर्किएका बोगटीले आफूलाई हृदयघात भइरहेको छ भन्ने थाहा नै पाउन सकेनन्। राती नै अस्पताल भर्ना गरिएका बोगटीको भदौ ३० गते बिहान नर्भिक हस्पिटलमा निधन भयो। हार्दिक श्रद्धासुमन कमरेड दिवाकर !

माओवादी आन्दोलनमा इमान्दारिता, निष्ठा र कम्युनिष्ट आचरणको राजनीतिक संस्कारको खडेरी परेको बेला पनि बोगटी एक त्यस्ता उदाहरणीय पात्र थिए, जसले कम्युनिष्ट नैतिकता, आचरण र संस्कारमा कतै पनि विचलित नभई पार्टी नीति, नेतृत्व, योजना र लाइनको पक्षमा सदैव प्रतिबद्ध रहन्थे। पार्टीभित्र तीव्र अन्तरसंघर्ष हुँदा सधैं पार्टी एकता बचाउनुपर्छ भनेर चिन्तित रहने र सबैलाई मिलाउन प्रयत्न गरिरहने बोगटी पार्टी अध्यक्ष प्रचण्डलाई निःस्वार्थ सहयोग गर्ने शीर्ष नेता थिए।

जनयुद्धकालमा पश्चिम नेपालका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै माओवादी अध्यक्ष प्रचण्ड, वायाँतर्फ ढाँका टोपी लगाएका (दिवाकर), दायाँतर्फ क्रमशः महरा, विप्लव, शक्ति बस्नेत र वर्षमान पुन

जनयुद्धकालको अधिकांश समय पश्चिम नेपालको नेतृत्व गरेका बोगटीले नुवाकोटको गाउँमा भएको अलिकति सम्पति पनि विद्यालयलाई दान दिएर सम्पूर्ण परिवारलाई नै जनयुद्धमा सहभागी बनाएका थिए। जनयुद्धका क्रममा उनले आफ्नो छोरालाई गुमाए, त्यस्तो पारिवारिक वियोग जनयुद्धमा सहभागी अरु शीर्ष नेताहरु कसैले व्यहोर्नु परेन।

परिचयका हरफमा पोष्टबहादुर बोगटी

नुवाकोट तुप्चे गाविस वडा नं. २ को भित्रिनिटारमा वि.सं. २०१० साल साउन ३ मा बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट पोष्टबहादुर बोगटी निम्नमध्यम परिवारमा जन्मेका थिए।

२०३६ साल मंसिरमा नुवाकोटकै आंगाबुटारकी राममायासँगको उनको बिहे भयो।

२०३८ सालमा पहिलो सन्तानको रुपमा छोरा रबि बोगटीको जन्म भयो भने त्यसपछि दुई छोरी प्रतिभा र प्रभा जन्मिए। जनयुद्धको क्रममा छोरा रविलाई २०५९ असार ७ गते तत्कालीन सरकारी सुरक्षा फौजले नियन्त्रणमा लिई हत्या गर्यो। जेठी छोरी प्रतिभा दाङमा रहेर नेकपामै क्रियाशील छिन् भने कान्छी छोरी प्रभा नेकपानिकट प्रेस संगठन नेपालको केन्द्रीय सदस्यका रुपमा सक्रिय छिन्।

राजनीतिक यात्रा

चीनमा ‘सर्वहारा साास्कृतिक क्रान्ति’का बेला २०२५ साल आसपास आफूमा कम्युनिष्टमा लाग्ने प्ररणा मिलेको बताउने बोगटी २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई २०३७ सालमा संयुक्त चौथो महाधिवेशनमा आबद्ध भएका थिए। पुष्पलाल समूहले २०३५र२०३६ सालको आन्दोलनमा धोका दिएको भन्दै उक्त समूह छाडेर संयुक्त चौथो महाधिवेशनतिर लागेका उनी पार्टीको संयुक्त चौथो महाधिवेशनसम्ममा जिल्ला समिति सदस्य भइसकेका भएको थिए।

२०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गरेका बोगटीकै निर्देशनमा बारा, पर्सा, रौतहटलगायत तराइका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो।

पार्टी राजनीतितर्फ २०४० सालमा मशालको नुवाकोट जिल्ला सेक्रेटरी बनेका बोगटी २०४३ मंसिरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुँदै पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हालेका थिए। शान्ति प्रक्रियामा आउनुअघि उनले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हालेका थिए। त्यसबेला ज्ञानेन्द्र शाही नेतृत्वको सरकारका बेला ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ गण्डक अभियानको बोगटीले नेतृत्व गरेका थिए।

२०६६ सालमा एमाओवादी बहुपदमा गएपछि बोगटी पार्टी सचिव भएका थिए। हेटौडामा २०६९ सालमा एकताको सातौं राष्टि«य महाधिवेशनमा विवादका कारण पद विभाजन हुन सकेन। अन्य व्यक्तिमा सहमति नभएपछि बोगटी महासचिवमा सर्वसम्मत चयन भएका थिए। २०७१ वैशाखमा भएको राष्ट्रिय सम्मेलनपछि भएको केन्द्रीय समिति बैठकले उनलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको थियो।

२०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं. ३ बाट विजयी भएका बोगटी २०७० को संविधान सभा निर्वाचनमा भने सोही ठाउँमा पराजित भएका थिए। ०६४ को संविधान सभामा संसदीय दलको प्रमुख सचेतक भएका बोगटी तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको बेला नौ दिन सञ्चार मन्त्रालय सम्हालेका थिए। त्यसलगत्तै एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि बोगटीले जिम्मेवारी सम्हालेका थिए।

उनको असामयिक, आकस्मिक र असमयमै भएको निधनले माओवादी आन्दोलन मात्रै होइन, नेपाली कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति भएको छ। बोगटीप्रति हार्दिक श्रद्धासुमन !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार