
काठमाडौं । बेला बेलामा भूकम्पको पराकम्पले तर्सारहने काठमाडौंलाई बुधबार बिहानै फेरि एकपटक नराम्ररी तर्साएको छ।
बिहान ५ बजेर १९ मिनेट जाँदा आएको भूकम्पको धक्काले काठमाडौंलगायत आसपासका जिल्लाहरुमा भूकम्पको कडा धक्का महसुस गरिएको हो।
बिहानै भूकम्पको कडा झड्का आएपछि काठमाडौं उपत्यकाका सर्वसाधारण केही समय सडक र खुला ठाउँतर्फ निस्किएका थिए। भूकम्पको विस्तृत जानकारी पाएसँगै अहिले सबै घर फर्किएका छन्।
नेपालस्थित भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको बताउनुभयो।
भूकम्पको केन्द्रविन्दु देखिएको राम्चे क्षेत्र पछिल्लो पटक पहिरोले ठूलो क्षति पुर्याएको सिन्धुपाल्चोकको घुन्थाङ नजिकै पर्दछ।
उसो त नेसनल सेन्टर फर सिस्मोलोजी अफ इन्डियाले नेपालमा गएको भूइचालो ५.३ म्याग्नेच्यूडको भएको आफ्नो वेवसाइटमा उल्लेख गरेको छ।
अमेरिकाको भूकम्प मापन केन्द्र युएसजीएसले आफ्नो वेवसाइटमा कोदारीदेखि १० किमी दक्षिणतर्फ केन्द्रविन्दु भई ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।
भूकम्प मापनसम्बन्धी काम गर्ने धेरै वेवसाइटहरुले भूकम्पको केन्द्रविन्दु सेन्झ्याङ नेपाल बोर्डर क्षेत्र उल्लेख गरिरहेका छन्।