वाणिज्य बैंकले सार्वजनिक गरे निक्षेप र कर्जाको ब्याजदर, कुन बैंकको कति?

  हल्कारान्यूज  715 पटक हेरिएको

काठमाडौं । ७ वटा वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर दुवै परिवर्तन गरेका छन्। चालू आर्थिक सुरु भएको दुई महिना बितेपछि यी बैंकहरुले वित्तीय कारोबार पनि बढ्ने आँकलनमा नयाँ दर सार्वजनिक गरेका हुन्।

बुधबार राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका हुन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ। यो बैंकले मुद्धति निक्षेपमा भने व्यक्तिगत ६ प्रतिशत र संस्थागत ५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म दिने जनाएको छ। कर्जातर्फ भने बैंकले बेस रेटमा न्युनतम् १.२५ प्रतिशतदेखि अधिकतम ३.२५ प्रतिशत लिने जनाएको छ। बैंकको असार मसान्तमा बेस रेट ५.८० प्रतिशत रहेको छ।

यसैगरी एभरेष्ट बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज दिने बताएको छ। मुद्धति निक्षेपमा भने एभरेष्ट बैंकले ५.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने बताएको छ। कर्जाको ब्याजदर भने बेस रेटमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर लिने उल्लेख गरेको छ। एभरेष्ट बैंकको बेस रेट साउन मसान्तसम्म ७.४८ प्रतिशत रहेको छ।

यसैगरी सनराइज बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म र मुद्धति निक्षेपमा ७.७५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ। कर्जातर्फ भने सनराइजले बेस रेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने बताएको छ। सनराइजको असार मसान्तसम्म ८.९५ प्रतिशत बेस रेट रहेको छ।

हिमालयन बैंकले साधारण निक्षेपमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ३ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ।

एनसीसी बैंकले साधारण निक्षेपमा ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ८.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ। कर्जातर्फ भने एनसीसीले बेसरेटमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम लिने बैंकले जनाएको छ। एनसीसी बैंकको असार मसान्तसम्म ९.०३ प्रतिशत बेस रेट रहेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा अधिकतम ६.७५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ। कर्जातर्फ भने स्टाण्डर्ड चार्टड बैंकले बेस रेटमा २ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म प्रिमियम जोडेल लिने बताएको छ। यस बैंकको बेस रेट असार मसान्तसम्म ७ प्रतिशत रहेको छ।

बुधबार सार्वजनिक गरिएको सूचना अनुसार नेपाल एसबीआई बैंकले साधारण निक्षेपमा अधिकतम ५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ। मुद्दति निक्षेपमा भने ७.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ। कर्जामा भने एसबीआई बैंकले बेस रेटमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर लिने सूचनामा उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार