पेरिसडाँडामा नेकपा सचिवालय बैठक शुरु

  हल्कारान्यूज  730 पटक हेरिएको

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ। पार्टी एकतापछि पहिलोपटक नेकपा बैठक पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालय रहेकोा भवनमा शुरु भएको हो।

पार्टी एकताका साढे दुई वर्षसम्म पेरिसडाँडा नपुगेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत बैठकमा सहभागी छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलोपटक पेरिसडाँडामा बैठक बोलाइएको हो। यसअघि सचिवालयका बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए भने स्थायी कमिटी बैठक भने कहिले पार्टी कार्यालय धुम्बाराही त कहिले वालुवाटारमै बस्ने गरेका थिए।

पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बैठक शुरु गरिएको छ।

सचिवालय बैठकमा स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गराउने विषयमा छलफल हुने बताइएको छ।

गत भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका कामलाई सम्पन्न गर्ने निर्णय गरेको थियो। त्यस्तै, पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो। साथै पार्टी र सरकारको कामलाई संस्थागत ढंगले अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो।

सोही निर्णय कार्यान्वयनका लागि उपयुक्त मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार