बाहिर निस्किदै हुनुहुन्छ ? उपत्यकामा आज यी रुट बन्द हुन सक्छन्

  हल्कारा नेपाल  356 पटक हेरिएको

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहका कारण आज (बुधबार) काठमाडौं उपत्यकाको यातायात प्रभावित हुने भएको छ।

उद्घाटनअघि निस्किने र्याली र राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिको सवारी हुने भएकाले दिउँसो २ बजेपछि कालीमाटीदेखि जमलसम्म यातायात प्रभावित हुने भएको हो।

ट्राफिक प्रहरी महाशखाका अनुसार दिउँसो २ बजेपछि ठमेललगायत क्षेत्रबाट भ्रमण वर्ष उद्घाटका अवसरमा र्‍याली निस्किँदै छ। जसका कारण कालीमाटी, सहिदगेट, थापाथली, त्रिपुरेश्वर, जमल, केशरमहल क्षेत्रका सडकमा सवारी आवागमन प्रभावित हुने भएको हो।

त्यसैले यसको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ।

ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

दशरथ रंगशालामा आयोजना हुने भव्य समारोहका बीच आज अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा विभिन्न देशका मन्त्रीलगायत विशेष अतिथि सहभागी हुँदै छन्।

यो भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार