वामदेवको मुद्धामा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासमा, पक्ष र विपक्षमा दुई दर्जन वकीलले बहस गर्ने

  हल्कारान्यूज  248 पटक हेरिएको

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको मनोनयनविरुद्ध परेको मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुने भएको छ।

गत असोज ७ गते सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनू भनेर अन्तरिम आदेश दिनुका साथै उक्त मुद्धा संवैधानिक इजलासमा पठाएको थियो।

आजदेखि बहस सुरू हुने प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस र राष्ट्रपतिबाट भएको मनोनयन बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर गरेका थिए।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र वामदेव गौतमलाई विपक्षी बनाइएको छ।

२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं. १ बाट पराजित भएका गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

सर्वोच्चले सोसम्बन्धमा छलफलका लागि असोज १४ गते ९आज० दुवै पक्षलाई बोलाएको थियो । बुधबारको बहसमा पक्ष र विपक्षबाट गरी करिब २ दर्जन अधिवक्ताहरु सहभागी हुने जनाइएको छ ।

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरि उप्रेतीसहित करिब ९ जना अधिवक्ताहरुले वकालत गर्ने गरी वकालतनामा दर्ता गराएका छन्।

त्यस्तै, विपक्षी वामदेव गौतमका तर्फबाट वरिष्ठ अधिवक्तासहित १३ जनाले वहस गर्ने गरी वकालतनामा दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार