सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सम्झौता (समझदारी पत्रको पूर्णपाठसहित)

  हल्कारान्यूज  709 पटक हेरिएको

सुर्खेत । कर्णाली प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति हुने भएको छ।

बिहीबार प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्रालय र संघीय सरकारको तर्फबाट नेपाल नागरिक उड्ययन प्राधिकरणबीच काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले हस्ताक्षर गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र पर्यटन सचिव केदार अधिकारीको रोहबरमा उक्त समझदारीमा हस्ताक्षर भएको हो।

समझदारी अनुसार सुर्खेत विमानस्थल १ हजार ५ सय मिटर पुर्‍याइनेछ। समझदारीमा जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास कार्य गरिने उल्लेख गरिएको छ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका अनुसार यी कामको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० करोड रुपैयाँ छुट्याएको छ। ‘दुई सरकारको संयुक्त लगानीमा विमानस्थलको विकास गरिनेछ,’ उनले भने, ‘केही सयममै टेन्डर गरेर काम सुरु हुनेछ।’

समझदारीपत्रमा प्रदेश सरकारले जग्गा अधिग्रहणका साथै अन्य कार्यमा सहजीकरण तथा समन्वय गर्ने र जग्गा अधिग्रहणमा लाग्ने खर्चको ५० प्रतिशत नागरिक उड्ययन प्राधिकरणलाई दिने उल्लेख छ। त्यस्तै प्राधिकरणले विमानस्थल विकास, विस्तार र स्तरोन्नतिको प्राविधिक प्रतिवेदन तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गर्ने, अधिग्रहण गर्नुपर्ने जग्गाको पहिचान गर्ने, विमानस्थल विस्तार, विकास र स्तरोन्नतिको लागि आवश्यक कार्य गर्ने उल्लेख छ।

अहिले सुर्खेत विमानस्थलको धावनमार्ग १ हजार २ सय ५५ मिटर रहेको छ। धावनमार्ग सानो भएकाले सुर्खेत विमानस्थलमा ठूला जहाजहरूको सेवा सुचारू गर्न गाह्रो भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार