नेकपा सचेतक शान्ता चौधरी आइसीयूमा, निमोनिया पनि देखियो

  हल्कारान्यूज  1214 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ।

लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि वीर अस्पतालमा भर्ना भएकी चौधरीलाई स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा राखिएको हो।

चौथो दिन पनि स्वास्थ्यमा केही सुधार नआएपछि चौधरीलाई शुक्रबार रातिदेखि आइसीयूमा सारिएको चौधरीका स्वकीय सचिव सन्तोषा दहितले बताउनुभयो। उहाँले शनिबार निमोनिया पनि देखिएको जानकारी दिनुभयो।

गत असोज १९ गते कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएकी सचेतक चौधरीले आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन फेसबुकमार्फत् आग्रह गर्नुभएको थियो। स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुले फोनको साटो म्यासेज गरिदिन पनि उहाँले अनुरोध गर्नुभएको थियो।

चौधरी यसअघि क्यान्सरबाट समेत पीडित हुनुभएको थियो। उहाँले भारतको नयाँ दिल्लीमा क्यान्सरको उपचार गराएर निको हुनुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार