संक्रमितको संख्यामा छलाङ, पछिल्लो २४ घण्टामै ५००८ संक्रमण पुष्टि

  हल्कारान्यूज  1262 पटक हेरिएको

काठमाडौं । शनिबार नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरमा १९ हजार ३२० पीसीआर परीक्षण गर्दा थप ५ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो।

शनिबार थपिएकासँगै नेपालमा कूल संक्रमितहरुको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बताएअनुसार शनिबार देशभरमा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ६५४ रहेका छन् भने होम आइसोलेनमा १७ हजार १६४ जना रहेका छन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप जना १ हजार २२९ कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ७४ हजार २५२ पुगेको छ।

त्यस्तै शनिबार थप १४ जना संक्रमितको निधन भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो। योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६१४ पुगेको छ।

त्यसैगरी गम्भीर प्रकृतिमध्ये ३२१ जनालाई आइसीयूमा र ७७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार