दशैं टीकाको साइतः कुन देशमा कति बेला ?

  हल्कारान्यूज  807 पटक हेरिएको

काठमाडौं । दशैंको टीकाको साइत कति बेला? दशैं आउन थालेपछि यो आम चासोको विषय बन्ने गरेको छ। नेपालीहरुका लागि पहिले नेपालमा मात्रै टीकाको साइत खोज्ने गरिन्थ्यो तर अहिले विश्वका कुनै बाँकी छैनन्, जहाँ नेपाली नपुगेको होस्। त्यसैले अब दशैंको टीकाको साइत पनि अन्तर्राष्ट्रिय रुपमै हेर्न थालिएको छ।

सोही अनुसार यस वर्ष अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ। समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले बताउनुभयो।

उहाँका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा मागबमोजिम ती देशमा टीकाको साइत तयार पारिएको हो। अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने कामसमेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दसैँको टीकामा अन्यौल नहोस् भनेर त्यहीँको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको उहाँले जानकारी दिनुभयो।

समितिका सदस्य सचिव आचार्य सन्तोष वशिष्ठले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम २४ वटा देशमा टीका लगाउने साइत जुराइएको बताउनुभयो।

कुन देशमा कति बजे लगाउने टीका?

समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २५ तारिखमा टीकाको शुभ साइत जुरेको छ। जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ। बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ।

यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ अक्टोम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ।

यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्डलगायतका देशमा भने अक्टोबर २६ को स्थानीय समयअनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार