नेकपा कर्णाली प्रदेश विवादः नेपाल समूहसँग सहमतिपछि अविश्वास प्रस्ताव अलपत्र, सचेतकमा कुर्मराज शाही नियुक्त

  हल्कारान्यूज  2538 पटक हेरिएको

काठमाडौं । नेपाल समूहका सांसदहरु पछि हटेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव अलपत्र परेको छ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन्।

प्रस्तावमा हस्ताक्षर गरेका १८ जना सांसदहरुमध्ये नेपाल पक्षका ७ जना पछि हटेपछि अविश्वास प्रस्ताव समेत अलपत्र परेको छ। यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले औपचारिक रुपमा आफ्नो समर्थन फिर्ता लिनेछन्।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार (आज) बिहान १ बजे संसदीय दलको बैठक बोलाएका थिए। शाहले बोलाएको उक्त बैठकमा नेपाल समूहका ७ जना सांसदहरु अनुपस्थित भएपछि कोरम नपुगेर बस्न नसकेको बताइएको छ।

कुर्मराज सचेतक नियुक्त

छलफल सकिएलगत्तै मुख्यमन्त्री शाहीले नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई नेकपा संसदीय दलको सचेतकमा नियुक्त गरिसकेका छन्। स्रोतका अनुसार थप तीन जनालाई मन्त्री बनाउने सहमति भएको बताइएको छ।

उसो त नेपाल समूहका सांसदहरुले मन्त्रीका लागि चन्द्र शाही र करवीर शाहीको नाम बुझाइसकेको स्रोतको दावी छ। हाल कर्णाली प्रदेश मन्त्रिपरिषद्मा माधव नेपाल पक्षका प्रकाश ज्वाला मात्रै छन् भने ओली पक्षका दल रावल र नन्द बुढा रहेका छन्। त्यसैगरी पूर्वमाओवादी नेताहरुमा मुख्यमन्त्री शाहीसहित नरेश भण्डारी र विमला केसी मन्त्री रहेका छन्।

ओली पक्षका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्री बैंकिङ कसूरमा पक्राऊ परेपछि बर्खास्त भएका थिए। खत्रीको बचाऊ समेत नगरेको भन्दै ओली पक्ष मुख्यमन्त्री शाहीसँग थप क्रूद्ध बनेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार