बागमती प्रदेशमा मात्रै २५ सय बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

  हल्कारान्यूज  623 पटक हेरिएको

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट बागमती प्रदेशमा २ हजार ५ सय ५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

प्रदेशको १३ वटा जिल्लामा यति धेरै संख्यामा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेडाइले बताएका छन्।

पछिल्लो समय बागमती प्रदेश कोरोना संक्रमणको इपिसेन्टरको रुपमा रहेको छ। देशभर संक्रमित हुने संख्याको आधाभन्दा बढी संख्या बागमती प्रदेशमा रहेका छन्।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा ५४ हजार ४ सय जना संक्रमित रहेका छन्। देशभर संक्रमितको संख्या १ लाख १५ हजार २ सय ३८ जना पुगेका छन्।

बागमती प्रदेशमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या सबैभन्दा बढी काठमाडौंमा रहेको छ। काठमाडौंमा १ हजार ३ सय ३८ जना रहेका छन्। काठमाडौं कोरोना संक्रमित हुने जिल्लामा पनि संख्यात्मक रुपमा सबैभन्दा अगाडि रहेको छ।

सबैभन्दा कम रसुवामा १ जना, सिन्धुपाल्चोकमा २ जना तथा दोलखा र नुवाकोटमा ३/३ जना रहेका छन्। त्यस्तै रामेछापका ४ जना, सिन्धुलीमा ११ जना र मकवानपुरमा १६ जना रहेका छन्।

प्रदेशका स्वास्थ्यकर्मीमा कोरोना संक्रमित हुने दोस्रो जिल्लामा ललितपुर रहेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ललितपुरमा मात्र ४ सय २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ। त्यस्तै चितवनमा ३ सय ६३ र भक्तपुरमा २ सय ११ जना रहेका छन्। काभ्रेमा १ सय ४२ र धादिङमा १९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार केही स्वास्थ्यकर्मीहरु अहिले पनि उपचाररत रहेको तर धेरैजसो संक्रमणमुक्त भएर काममा फर्किइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार