
काठमाडौं । प्रतिनिधि सभा सदस्य सानु शिवा पहाडीको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रदाञ्जली दिनुभएको छ।
बिहीबार पशुपति आर्यघाटमा सभामुख सापकोटाले सांसद् शिवाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो।
त्यसैगरी पहाडीको पार्थिव शरीरमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
सांसद पहाडीको बुधबार उपचारका क्रममा निधन भएको थियो। लामो समयदेखि मिर्गौला र मुटुको रोगबाट पीडित पहाडीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। पहाडी नेकपाकी समानुपातिक सांसद हुनुहुन्थ्यो।
सांसद शिवाले विद्यार्थी राजनीति हुँदै दलित आन्दोलन र जनवादी गीतसंगीतमार्फत साँस्कृतिक आन्दोलनमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ नेकपानिकट जनसाँस्कृतिक संघ नेपालको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो।