अस्ताए राष्ट्रिय सभाका पूर्वसांसद् एवं गणितका डाक्टर राममान श्रेष्ठ

  हल्कारान्यूज  1272 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय सभाका पूर्वसांसद प्रा.डा. राममान श्रेष्ठको निधन भएको छ। उहाँको काठमाडौं भीमसेनगोलास्थित निवासमा ८२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

श्रेष्ठले त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिविका पूर्वशिक्षाध्यक्षको जिम्मेवारी समेत पूरा गरिसक्नुभएको थियो। ३५ वर्ष त्रिभुवन विश्वविद्यालयमा विभिन्न जिम्मेवारीमा प्राध्यापन तथा अन्य जिम्मेवारी पूरा गर्नुभएका उहाँ विशेष गरी गणित विषयको ज्ञाताका रुपमा चिनिनुहुन्थ्यो।

२०५४ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित उहाँ २०६० सालसम्म उक्त जिम्मेवारीमा रहनुभएको थियो।

२०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी)को तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्नुभएको श्रेष्ठलाई कांग्रेसका प्रकाशमान सिंहले पराजित गरेका थिए।

को हुन् राममान श्रेष्ठ ?

काठमाडौं बसन्तपुर नजिकैको ओमबहाल टोलमा वि.सं. १९९५ बैशाख २२ गते जन्मिनुभएका श्रेष्ठले २०११ सालमा दरबार हाइस्कुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो। त्रिचन्द्रबाट आईएस्सी र बीएस्सी पास गरेका श्रेष्ठले त्रिभुवन कलेजबाट एमएस्सी पास गर्नुभएको थियो।

त्यसपछि अमृत साइन्स क्याम्पसमा गणितको शिक्षक भएर जागिरे जीवन शुरु गर्नुभएका उहाँले वि.सं. २०२२ सालमा भारतको वनारसबाट गणितमै पीचएडी गर्नुभएको थियो। नेपालमा गणित शिक्षाको विकास, प्रवद्र्धन र विस्तारमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको जानकारहरु बताउँछन्।

प्राध्यापनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, डा. बाबुराम भट्टराई, राप्रपा नेता कमल थापा लगायतका शीर्ष नेताहरुलाई पनि श्रेष्ठले पढाउनुभएको थियो।

वि.सं. २०१० सालमै कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका श्रेष्ठको पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका नेताहरुसँग राम्रो सम्बन्ध थियो। जागिरको सिलसिलामा त्रिभुवन विश्वविद्यालय गएपछि त्यहाँ प्रगतिशील प्राध्यापक संघको अध्यक्ष भएर प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको हक हितका पक्षमा आवाज बुलन्द बनाउनुहुन्थ्यो।

सभामुख र राष्ट्रिय सभा उपाध्यक्षद्वारा श्रद्धाञ्जली व्यक्त

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले राष्ट्रिय सभाका पूर्वसदस्य श्रेष्ठको निधनले आफूहरु मर्माहत भएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा सभामुख सापकोटा र उपाध्यक्ष दहालले श्रेष्ठका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ।

नेकपा अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्व केन्द्रीय सल्लाहकार, राष्ट्रिय सभाका पूर्व सांसद, प्राज्ञिक व्यक्तित्व प्रा.डा. राममान श्रेष्ठको असामयिक निधनको निकै दुखित बनाएको उल्लेख गर्नुभएको छ। अध्यक्ष प्रचण्डले फेसबुक तथा ट्वीटरमा श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार एवम् आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार