कसले पाउँछन् निःशुल्क कोरोना उपचार? यस्तो छ सरकारी मापदण्ड

  हल्कारान्यूज  796 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गर्दै सरकारले निःशुल्क उपचारका लागि मापदण्ड बनाएको छ।

आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने मापदण्ड बनाई अरु सबैलाई आफ्नै खर्चमा परीक्षण तथा उपचार गर्नुपर्ने बताएको हो।

निःशुल्क परीक्षण तथा उपचारको सुविधा पाउने भनिएकाहरुलाई पनि कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिने मापदण्डमा उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा यहीँ कात्तिक २ गते अर्थात् हिजोदेखि नै लागू गरिएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सोमबार सबै कोभिड अस्पताललाई पठाएको छ। मापदण्ड अनुसार निःशुल्क उपचार पाउने विपन्नमा विपन्न परिचय पत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशका अनुसारको सिफारिस वा स्वयं घोषणा गर्नुपर्ने हुन्छ।

यस्तै अशक्तको प्रमाणपत्र भएका वा स्वयं घोषणा गरेका, असहायको सिफारिस भएका वा स्वयं घोषणा गर्ने, एकल महिलाको प्रमाणपत्र भएका वा स्वयं घोषणा गर्ने र अपाङ्गताको प्रमाणपत्र भएकाले पनि निःशुल्क परीक्षण र उपचार पाउनेछन्।

७० वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्र भएका वा स्वयं घोषणा गर्नेहरुले पनि कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउने मापदण्डमा उल्लेख छ।

यस्तै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा कोरोनाको निःशुल्क परीक्षण र उपचार गरिने मन्त्रालयले जनाएको छ।

तर आकस्मिक उपचारका लागि आधार प्रमाणहरु नभएकै कारण कसैलाई पनि उपचारबाट बञ्चित गर्न नपाइने मन्त्रालयले अस्पतालहरुलाई पठाएको परिपत्रमा उल्लेख छ।

यस्तो छ मापदण्ड

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार