उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालले दिए उम्मेदवारी

  हल्कारान्यूज  481 पटक हेरिएको

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन्।

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन्।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन लागेको छ।

यसअघि गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो। पछि पटक–पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन।

गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रम गरी ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए।

अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै ढकालले आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व हुनसक्ने दावी गरे।

‘कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबैजसो अवयवहरु क्षतविक्षत भएका छन्। व्यवसाय र व्यवसायी दुवै संकटमा परेका छन्। यस्तो जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालीन प्रभाव पर्छ’, ढकालले भने, ‘व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं।’

उनले मुलुकभर भएको व्यवसायिक सञ्जाल, सानादेखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको बताए।

ढकालले आफ्नो समूहले महासंघलाई ठूला र साना सबै उद्योगी व्यापारीको साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्या र गुनासा सुनुवाई हुने वातावरण बनाउने बताए।

महासंघको चुनावका लागि उम्मेदवारहरुले बुधबारदेखि मंसिर ४ गतेसम्म मनोनयन पत्र दाखिला गर्न सक्नेछन्। मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले पछिल्ला केही वर्षयता वरिष्ठ उपाध्यक्ष पदमा चर्को प्रतिस्पर्धा हुने गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार