देशभर पाँच हजार बढी स्वास्थ्यकर्मी नै संक्रमित, चिकित्सकसहित ३ को गयो ज्यान

  हल्कारान्यूज  282 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सबैभन्दा जोखिममा रहेका स्वास्थ्यकर्मीहरु नै धेरै संख्यामा संक्रमित हुन थालेका छन्। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै बढी समूहगत रुपमा संक्रमणको शिकार हुन थालेका हुन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म देशभर पाँच हजार बढी स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन्। त्यस्तै, संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीन जना स्वास्थ्यकर्मीको ज्यानै गइसकेको छ।

दिनहुँ संक्रमितको उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी नै संक्रमित भएको र संक्रमण पुष्टि भएकाहरुको संख्या ५ हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ बताउँछन्। त्यसरी संक्रमित भएकाहरु करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी निको भइसकेका छन्।

सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौं उपत्यकामा दुई महिनायता दिनहुँ करिब ४० जना स्वास्थ्यकर्मी संक्रमित भइरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।

सुरक्षित लुगा, फेस मास्क, पन्जालगायत लगाउँदा पनि डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरू अन्य व्यक्तिको तुलनामा बढी संक्रमित भएको श्रेष्ठले बताए। सेवामा खट्दाखट्दै स्वास्थ्यकर्मीमा गम्भीर रूपले बिरामी हुने जोखिम बढिरहेको उनको भनाइ छ।

स्वास्थ्यकर्मी गम्भीर रूपले संक्रमित हुनुको एउटा कारण बिरामीको निकट रहेर काम गर्नु रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउँछन्। ‘गम्भीर रूपमा संक्रमित बिरामीहरूको ज्यान जोगाउने प्रक्रियाअन्तर्गत अत्यन्त नजिकमा स्वास्थ्यकर्मी हुन्छन्,’ उनले भने, ‘ती बिरामीहरूमा उच्च मात्रामा भाइरस हुन्छ। अर्थात् बढी भाइरल लोड भएका बिरामीको नजिक रहँदा स्वास्थ्यकर्मी बढी जोखिममा देखिएका छन्।’

हालसम्म संक्रमणमा परेका ५ हजार स्वास्थ्यकर्मीमध्ये करिब २ हजार जति चिकित्सक रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार