खोलागाउँमा शहीद स्मृति नगर अस्पताल सञ्चालनमा

  हल्कारान्यूज  1746 पटक हेरिएको

रुकुम पश्चिम । चौरजहारी नगरपालिका–१० खोलागाउँ नेपानेमा सहिद स्मृति नगर अस्पताल सञ्चालनमा ल्याइएको छ।

नगरपालिकाले नयाँ भवन निर्माण गरी शुक्रबारबाट ५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो।

नगरपालिकाका ५ वटा वडाका स्थानीयलाई गुणस्तरीय उपचार दिन स्थापना गरिएको अस्पतालको कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले उद्घाटन गरेका हुन्।

अस्पतालले नगरपालिकाका वडा नम्बर १०, ११, १२, १३ र १४ सहित सल्यानको दार्मा गाउँपालिकाका बिरामीलाई उपचार सेवा प्रवाह गर्नेछ। अस्पताल निर्माणका लागि स्थानीय टेकबहादुर बुढाथोकी र ममी बुढाथोकीले छोरी ललिताको स्मृतिमा ५ रोपनी जग्गा निःशुल्क दान गरेका थिए। माओवादी कार्यकर्ता ललिता बुढाथोकी जनयुद्धका क्रममा सहिद भएकी थिइन्।

अस्पतालमा डा. विवेक केसीसहित २२ जना स्वास्थ्यकर्मीले सेवा दिनेछन्। २४ सै घण्टा आकस्मिक सेवाका साथै प्रयोगशाला, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ईसीजीलगायतका सेवा अस्पतालबाट उपलब्ध हुने डा. केसीले बताए।

अस्पतालको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्नेछ भने नियमित रेखदेख तथा व्यवस्थित सञ्चालनका लागि व्यवस्थापन समिति गठनको तयारी गरिएको छ।

अस्पतालको भवन निर्माण र उपकरण खरिदका लागि हालसम्म १ करोड ४६ लाख रुपैयाँ खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। उनका अनुसार अस्पतालको भवन निर्माणमा ७१ लाख, उपकरण खरिदमा ५६ लाख र ल्याब सामग्री व्यवस्थापनमा १९ लाख रुपैयाँ खर्च भएको हो। भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारको प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमले ६९ लाख रुपैयाँ खर्चिएको छ।

सहिद स्मृतिसहित चौरजहारीमा अस्पतालको संख्या ३ पुगेको छ। यसअघि चौरजहारी नगरपालिका–१ मा विशेषज्ञ सुविधासहितको चौरजहारी अस्पताल र ७ नम्बर वडामा कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा थिए।

प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि नगर अस्पतालमा स्तरोन्नति गर्न यस वर्ष बजेट विनियोजन गरिएको नगरप्रमुख विशाल शर्माले बताए। जसका लागि संघीय सरकारले १ करोड बजेट पठाएको छ भने थप रकम नगरपालिकाले व्यहोर्नेछ। ‘केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्दैछौं,’ उनले भने, ‘सामान्य उपचारका लागि नगरपालिकाका १४ वटै वडामा स्वास्थ्यचौकी स्थापना गरिएको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार