टेकु अस्पतालले कोरोना संक्रमितको उपचारका लागि माग्यो धरौटी (रेटसहित)

  हल्कारान्यूज  581 पटक हेरिएको

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि धरौटी लिन थालेको छ।

निश्चित वर्गबाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले जनाएको छ।

अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च तोकेको छ र ५० हजार धरौटी रकम जम्मा गर्न भनेको छ।

आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक ७ हजार ५०० उपचार खर्च लाग्नेछ र ३० हजार धरौटी राख्नुपर्नेछ। क्याबिन आइसोलेसनमा बस्नेले दैनिक ७ हजार ५०० र ग्रास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३५०० उपचार खर्च तिर्नुपर्नेछ। उनीहरूले क्रमशः ३० र २० हजार धरौटी जम्मा गर्नुपर्ने अस्पतालले निकालेको सूचनामा उल्लेख छ।

गरिब परिचय पत्र वा सम्बन्धित पालिकाको सिफारिस, ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएको परिचय पत्र, अशक्तताको प्रमाण पत्र र एकल महिलाको प्रमाण पत्र भएमा उपचार शुल्कमा छुट हुनेछ।

अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेन्ड र निर्देशकको लिखित निर्णयमा विरामीको आर्थिक अवस्था, औचित्यता र आवश्यकताका आधारमा उपचार खर्चमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिन सकिने पनि अस्पतालले बताएको छ।

यस्तो छ कोरोना संक्रमितको उपचार रेट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार