कविता लिएर कोइलाबास पुगे साहित्यकार

  हल्कारान्यूज  622 पटक हेरिएको

दाङदेउखुरी । नेपाल–भारत सीमा नाका कोइलाबास पुगेर साहित्यकारहरुले कवितामार्फत् देशको स्वाधीनता, सिमानाको सुरक्षा, सरकारको आलोचना र खण्डहर बनेको कोइलाबासको चर्चा गरेका छन्।

प्रगतिशील साहित्य परिवार तुलसीपुर दाङले आयोजना गरेको साहित्यिक जागरण अभियानका क्रममा साहित्यकारहरुले सीमा नाका कोइलाबास पुगेर आफ्ना रचना सिर्जनामार्फत् देशप्रेमको चर्चा गरेका हुन्।

कुनै समयमा राप्तीकै प्रबेशद्वार र ठूलो भन्सार नाका रहेको कोइलाबासमा उभिएर साहित्यकारहरुले कोइलाबासको पुनर्जागरण आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा कविहरुले कविता वाचन गरेका थिए भने औपचारिक कार्यक्रममा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, प्रगतिशील लेखक संघ दाङका पूर्वअध्यक्ष रामप्रसाद जैशी लगायतले कोइलाबासको नियति, प्रगतिशील साहित्य, सीमा सुरक्षा र राष्ट्रिय स्वाधीनता लगायतका विषयमा मन्तव्य समेत व्यक्त गरेका थिए।

राप्तीको पुरानो बजार र एक समय देशकै चौथो ठूलो राजस्व सङ्कलन हुने भन्सार अड्डा भएको कोइलाबास खण्डहरमा परिणत हुनुमा राज्यव्यवस्था जिम्मेवार रहेको भन्दै इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले दुई लेनको पिचबाटो ३०/४० बर्स अगाडि सम्पन्न भएको भए कोइलाबास खण्डहर र जङ्गलमा परिणत नहुने विचार व्यक्त गरे।

कोइलाबासको महत्व दर्साउँदै भने, ‘भारतको दशगजा क्षेत्रमा रहेको कोइलाबासले एकातिर देशका लागि राजस्व सङ्कलन गर्ने भूमिका खेलेको थियो भने अर्कातर्फ सिमा सुरक्षाकवजको भूमिका पनि खेलेको’ बताए।

इच्छुकले कोइलाबासमा रहेको साल्ट ट्रेडिङमा जागिरे जीबन बिताउँदा कम्युनिस्ट पार्टी निर्माणको अभियान सञ्चालन गरेको स्मरण गर्दै दुःखीले भने, ‘कृष्ण सेन इच्छुकले साहित्यको आरम्भ यहीँबाट गरेको र त्यतिबेला दाङबाट प्रकाशित हुने साप्ताहिक पत्रिका युगचेतनामा प्रकाशित इच्छुकका कविता पढेर धेरै युवा कम्युनिस्ट आन्दोलनमा आकर्षित भएका थिए।’ आफ्नो सङ्क्षिप्त मन्तव्यपछि दुःखीले इच्छुकको सम्झनामा उहाँकै कविता ‘इतिहासको यस घडिमा’ शीर्षकमा रचना गरेको आफ्नो कविता सुनाएका थिए।

कार्यक्रममा प्रलेस दाङका पूर्व अध्यक्ष एवं कवि रामप्रसाद जैसीले विगतमा कोइलाबास हरेक दृष्टिकोणले हराभरा रहेकोमा अहिले खण्डहरमा परिणत भएको देख्दा निकै पीडा भएको बताउँदै यस बजारमा घोडा, राँगा र डोकाबाट ब्यापार गर्न आउने र भारतमा ज्याला मजदूरी गर्न गएका तथा पल्टनी लाहुरेहरूको आवतजावत बाक्लो हुने भएकाले कोइलाबासको रमझम र चहलपहल निकै रहेको बताए।

त्यसैगरी अर्का वक्ता पत्रकार निमबहादुर थापाले नेपालका पुराना नाकाहरूमा चौथो नाका भनेर चिनिने कोइलाबास पहिला २४सै घण्टा झलमल्ल रहेको आफैले देखेकामा अहिले सुनसान रहेको बताए। उनले यहाँ भन्सार, सटही काउन्टर, साल्ट ट्रेडिङ, प्रहरी चौकी, विद्यालय, विद्युत अफिस, खाद्यगोदाम, स्वास्थ्य चौकी जस्ता थुप्रै सरकारी कार्यालयहरू रहेको तथा निकासी र पैठारीका निम्ति राप्तीकै सबैभन्दा ठूलो ब्यापारिक केन्द्र रहेको चर्चा गरे।

कार्यक्रममा कविहरू रामप्रसाद जैसी, प्रमोद धिताल, खगेश्वर भण्डारी, छविलाल कोपिला, टीका बस्नेत, दीपक समिर, गुरूप्रसाद कुमाल ‘बुलबुल’, यम रेग्मी, सुदृष्टि लक्ष्मी, राधिका परियार, रमा नेपाली, इश्वरी गैरे र मनोज थापाले कविता वाचन गरेका थिए। कविहरूले आफ्ना कविताहरूमा कोइलाबासको चर्चा, राष्ट्रिय स्वाधीनता, वर्तमान सरकारको आलोचना, सिमा सुरक्षा जस्ता विषयहरू समेटेका थिए।

संस्थाका अध्यक्ष खगेश्वर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव दूर्गा विकले गरेका थिए। दाङको सबैभन्दा अग्लो र जिल्लाको उत्तरी सिमाना थर्कोटबाट सुरु गरेको ‘साहित्यिक जागरण अभियान’ शनिबार जिल्लाको दक्षिणी सिमाना कोइलाबासको यहीँ कार्यक्रमसँगै समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार