सीता महराको अन्तिम बिदाइः अस्पतालदेखि आर्यघाटसम्म [तस्बिर र भिडियो]

  हल्कारान्यूज  8318 पटक हेरिएको

काठमाडौं । पूर्वसभामुख एव प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराको जीवनसंगीनी सीता महराको बुधबार बिहान निधन भयो।

माइस्थेनिया नामक दीर्घ रोगबाट पीडित महरालाई कोरोना भाइरस (कोभिड–१९) को समेत संक्रमण भएपछि बुधबार बिहान ६ः२५ मा नर्भिक अस्पतालमा निधन भएको हो।

वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिनुभएकी सीताको कृष्णबहादुर महरा २०३५ सालमा विवाह भएको थियो। दुई छोरा र दुई छोरीकी आमा महराको ५९ वर्षमै असामयिक निधन भएको छ।

कोरोना संक्रमणबाट निधन भएकाले जनस्वास्थ्य मापदण्ड पूरा गरेर दाहसंस्कार गर्नुपर्ने र नेपाली सेनाले शव व्यवस्थापन गर्ने भएकाले अस्पतालले सीसीएमसीलाई जानकारी गराएपछि बिहान ११ बजे नेपाली सेनाको टोली नर्भिक अस्पताल आइपुगेको थियो। लेफ्टिनेन्ट कर्णेल महेन्द्रबहादुर घर्तीको नेतृत्वमा आएको नेपाली सेनाको टोलीले अस्पतालबाट सीताको शव शववाहनमा राखेर पशुपति आर्यघाटतर्फ कुद्यो।

कोभिड संक्रमणबाट बच्न अपनाइने सबै प्रक्रिया पूरा गरेपछि साढे ११ बजे पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहको आँगनमा नीलो व्यागभित्र राखिएको सीता महराको शव ल्याइयो। विडम्बना ! कोरोना संक्रमणबाट बच्नका लागि अन्तिम बिदाइको त्यस घडिमा पनि परिवारका सदस्यले निधन भएका व्यक्तिको अनुहार हेर्न नमिल्ने रहेछ।

व्यागभित्र प्याक गरिएको शवलाई हातले नछोएर टाढैबाट फूलमाला चढाएर बिदाइ गर्नुपर्ने स्वास्थ्य प्रोटोकलअनुसार पूर्वसभामुख महराले जीवनसंगीनी सीता महराको पार्थिव शरीरमा माला चढाउनु भयो। त्यसै क्रमले छोराहरु निर्मल र राहुल, आर्यघाटसम्म पुगेका आफन्तजन र शुभचिन्तकहरुले पुष्प, माला, अबीर अर्पण गरेर अन्तिम बिदाइ गरे।

अनि नेपाली सेनाको शव व्यवस्थापन टोलीले शवलाई विद्युतीय शव दाहगृहतिर लगेर गयो। क्षणभरमै आकाशमा कालो धूँवा उडिरहेको थियो।

हेर्नुस् अन्तिम बिदाइका केही तस्बिर र भिडियो

तस्बिर/भिडियो: डिल्ली मल्ल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार