
अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्।
अघिल्लो चुनावमा यी राज्य उनीहरूको हातबाट फुस्केको थियो। यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको छ।
राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।
अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन्।
अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ। हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ।
बाइडनले आफ्नो जित स्पष्ट भइसकेको बताएका छन्। तर ट्रम्पले भने केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने बताएका छन्।
महत्वपूर्ण स्थानको परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति चुनिनका लागि पर्याप्त राज्यमा आफूले जित्ने बताएका छन्। मिशिगनमा बाइडनले जित्ने प्रक्षेपण सीएनएनबाट सार्वजनिक भएलगत्तै समाचार एजेन्सी एपीसँग संक्षिप्त कुरा गर्दै उनले भनेका छन्, ‘जब सबै गणना सकिन्छ, हामीलाई विश्वास छ, हामी नै विजेता हुन्छौं।’
कसैले सत्ता हत्याउन नसक्ने बरु जनताले सुम्पिने उल्लेख गर्दै बाइडनले भनेका छन्, ‘हाम्रो लोकतन्त्रलाई कसैले खोस्न सक्दैन।’ उनले सबै अमेरिकीको एकतामा पनि जोड दिएका छन्। ‘हामीले जितेमा राता र नीला राज्यहरु हुने छैनन्, संयुक्त राज्य अमेरिका मात्र हुनेछ,’ उनले भने।
अमेरिकाको राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले पेन्सल्भेनियामा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न माग गरेका छन् । यद्यपि उनले धाँधली भएको स्पष्ट प्रमाण पेश गरेका छैनन्। उनले मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएका छन्। राष्ट्रपति ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ।
बाइडन पक्षले भने ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै मतगणना नरोकिने जनाएको छ।
पेन्सलभेनियाको मतगणनाको अन्तिम नतिजा आइसकेको छैन। तर ट्रम्प पक्षले पेन्सलभेनियामा आफूहरुले जितेको घोषणा गरेको छ।