
चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्ष डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको निधन भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्न जानकारी दिएको छ।
गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८७ लाख ७ हजार ७८० व्यक्ति सङ्क्रमित भइसकेका छन्। तीमध्ये ३ करोड १९ लाख ४५ हजार ५५० व्यक्ति कोरोनामुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ।
कोरोना भाइरसको संक्रमणबाट बिहीबार, एकै दिनमा विश्वभरि ८ हजार ८७५ जनाको निधन भएको छ भने ६ लाख ८ हजार ८६९ जना नयाँ संक्रमित थपिएका छन्। एएफपीले लिएको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म सबैभन्दा बढी व्यक्तिहरु निधन हुने देशमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेका छन्।
अमेरिकामा बिहीबार एकै दिनमा १ हजार २२६ जनाको निधन भएको छ भने भारतमा ६७० र ब्राजिलका ६३० को ज्यान गएको छ। अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३४ हजार ९४४ जनको ज्यान गइसकेको छ। अमोरिकामा ९६ लाख १० हजार ९६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।
अमेरिकापछि ब्राजिलमा १ लाख ६१ हजार ७३६ व्यक्तिको कोरोना भाइरसबाट निधन भएको छ । यहाँ ५६ लाख १२ हजार ३१९ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २४ हजार ९८५ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण निधन भएको छ। यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन्।
मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार ७७२ जनाको ज्यान गएको छ भने ९ लाख ४९ हजार १९७ जना सङ्क्रमित भएका छन्। संयुक्त अधिराज्यमा ४८ हजार १२० जनाको मृत्यु भएको छ भने ११ लाख २३ हजार १९७ जनाको कोरोना भाइरस संक्रमित भएका छन्।
चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण निधन भएको थियो। ल्याटिन अमेरिका र क्यारिबेनमा ४ लाख ८ हजार ७३५ जनाको निधन भएको छ भने १ करोड १४ लाख ८६ हजार ८९६ संक्रमित रहेका छन्।
युरोपमा २ लाख ९७ हजार ७५७ जनाको निधन भएको छ भने १ करोड १९ लाख २१ हजार ३५५ जना संक्रमित भएका छन्। एसियामा कोरोना भाइरसबाट १ लाख ७४ हजार ९४५ जनाको निधन भएको छ भने १ करोड ८ लाख ७९ हजार ३०० कोरोना भाइरस संक्रमित भएका छन्।
मध्यपूर्वमा यस भाइरसबाट ६३ हजार २०७ जनाको निधन भएको छ भने २६ लाख ८४ हजार २०३ जना संक्रमित भएका छन्। अफ्रिकामा ४४ हजार २३८ जनाको निधन भएको छ भने १८ लाख ४४ हजार ३८४ जना संक्रमित भएका छन्। ओसियानामा ९४१ जनाको ज्यान गएको छ भने २९ हजार ८९७ जना संक्रिमित भएका छन्।
एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको एएफपीले जानकारी दिएको छ। धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको बिरामीको मात्र परीक्षण गरिरहेका जनाएको छ।