अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी, पछारिए ट्रम्प

  हल्कारान्यूज  379 पटक हेरिएको

न्यूर्योक । २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन्। पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा विजयी भएका हुन्।

जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने देखिएको छ।

औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी रहे पनि अहिलेसम्मको मत परिणाम अनुसार बाइडेनलाई विजयी घोषणा गरिएको हो। इलेक्टोरल कलेजहरुले आगामी डिसेम्बरमा बाइडेनलाई औपचारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नेछन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ।

तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ।

दोस्रो विश्वयुद्धपछि दोस्रो कार्यकालमा लागि निर्वाचित हुन नसक्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्।

त्यस्तै जर्जियामा पनि बाइडेनले जित्ने सम्भावना उच्च रहेको छ। जर्जियामा अहिलेसम्मको मत परिणाम अनुसार बाइडेनले २४ लाख ६१ हजार ४ सय ५५ मत ल्याएका छन्। ट्रम्पले २४ लाख ५४ हजार २ सय ७ मत ल्याएका छन्। बाइडेनले शून्य दशमलव २ प्रतिशतले अग्रता कायम गरेका छन्।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन्। तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन्। त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन्। तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ।

कसरी हुन्छ अमेरिकी राष्ट्रपतिको चुनाव ?

अमेरिकी राष्ट्रपति चुनाव अमेरिकाभरबाट प्राप्त हुने कुल पपुलर मतका आधारमा निर्धारण हुँदैन। बरु विजेता हुनका लागि आफूले जितेका राज्यहरुबाट इलेक्टोरल कलेज मत संकलन गरेर कम्तीमा २७० पुराउनुपर्छ। हरेक राज्यमा फरक फरक इलेक्टोरल कलेज मतसंख्या रहेको हुन्छ भने कुल मतसंख्या ५३८ रहेको छ।

अमेरिकन मुख्य संचारमाध्यमले मतगणनाको परिणाम, गणना हुन बाँकी मत लगायतका कैयन तत्वहरु हेरेर उम्मेदवारका लागि विजयी राज्यहरुको घोषणा गर्छन्।

यसपटक कोरोनाको महामारीका कारण कुल मतदानको ६८ प्रतिशतभन्दा धेरै अग्रिम र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरियो। व्यक्ति उपस्थित भएर गरिएका अग्रिम मतदानको नतिजा छिटो निकाल्न सम्भव हुने भए पनि हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानको नतिजा निकाल्नमा समय लागेको हो।

हुलाकबाट प्राप्त मतपत्रमा सुरुमा खाम खोलेर सुरुमा साक्षी र मतदाताको हस्ताक्षर भए नभएको चेक गर्नुपर्छ। त्यसपछि ठेगाना चेक गर्नुका साथै उक्त मतदाताले चुनावको दिन वा अग्रिम मतदानमा पनि उपस्थित भएर मतदान गरे नगरेको चेक गर्नुपर्छ। त्यसपछि मात्र योग्य मतपत्रलाई स्क्यान मेसिनमा हालेर गणना गरिन्छ। यो सबै गर्दा झन्झटिलो भएकाले हुलाकबाट प्राप्त मतहरु गणनामा लामो समय लागेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार