पहिलोपटक अमेरिकामा उपराष्ट्रपतिमा महिला निर्वाचित, को हुन् कमला ह्यारिस?

  हल्कारान्यूज  2217 पटक हेरिएको

अमेरिकी उपराष्ट्रपतिमा विजयी भएर कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन्। राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएको हो।

कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुन्।

कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन्। उनका बुबा जमैकाबाट अमेरिका गएका थिए भने आमा भारतबाट अमेरिका गएकी थिइन्।

इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन्। तर पछि उनी राष्ट्रपतिको चुनावी दौडबाट आफै पछाडि हटेकी थिइन्।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो। बाइडेनले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाका कारण उनी समाचारका शीर्षकहरुमा रहेकी थिइन्। एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटेकी थिइन्।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी छिन्।

अमेरिकामा हालसम्म अन्य दुई जना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए। सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन्। तर दुवै जनाले चुनाव जित्न सकेनन्।

अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुनका लागि अमेरिकामा नै जन्मेको अमेरिकी नागरिक हुनुपर्छ। अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुन पाउँदैन। यो प्रावधान विदेशी प्रभावबाट मुलुकलाई बचाउने उद्देश्यले राखिदै आएको हो।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए। आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन्। हिन्दु देवी लक्ष्मीको अर्को नाम पनि कमला हो।

जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो। आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो। अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन्।

कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन्। उनी बाल्यकालमा भारत पनि आएकी थिइन्। उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन्।

कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन्। कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई एक अमेरिकी भन्ने गर्छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार