लोकसंस्कृति जोगाउन दार्मा गाउँपालिकाले ल्यायो ‘दर्माली घाउटा’ पुस्तक, के हो घाउटा ?

  हल्कारान्यूज  923 पटक हेरिएको

सल्यान । लोक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले दार्मा गाउँपालिकाले ‘दर्माली घाउटा’ प्रकाशन गरेको छ।

दार्मा गाउँपालिका र आसपासका क्षेत्रमा जनजिब्रोमा रहेका लोकगीत (घाउटा)हरुको संकलन गरी प्रकाशन गरिएको हो।

बिहीबार गाउँपालिकाको केन्द्र फारुलाचौरमा विशेष कार्यक्रमको आयोजना गरी ‘दर्माली घाउटा’ पुस्तकको लोकार्पण गरिएको छ।

कार्यक्रममा सल्यानको लोक संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आएका बुद्धिजीवी, प्राध्यापक, संस्कृतिविद्हरुका साथै लोकगीत (घाउटा) गाउने वृद्ध बाआमाहरु लगायतको उल्लेख्य उपस्थिति थियो। उनीहरुले कार्यक्रममा लोक गीत (घाउटा)का बारेमा चर्चा परिचर्चा गर्नुका साथै वृद्ध बाआमाहरुले घाउटा गाएर सुनाएका थिए।

दार्मा गाउँपालिकाले प्रकाशन गरेको ‘दर्माली घाउटा’ पुस्तकको संकलक पत्रकार हिरालाल केसीले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि लोकवार्ता केन्द्र परिषद सचिवालय सदस्य, प्रगतिशील लेखक संघ सल्यानका संयोजक एवं राप्ती साहित्य परिषदका सल्लाहकार डा. पूर्ण भण्डारी ‘पङ्कज’, साहित्यकार वीरेन्द्र शाही र दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले पुस्तकको लोकार्पण गरेका थिए।

पुस्तकको समालोचनात्मक मन्तव्य साहित्यकार वीरेन्द्र शाहीले गरेका थिए भने कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुगमन मूल्याङ्कन विज्ञ पवनराज देवकोटा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, राप्ती साहित्य परिषद् सल्यान शाखा उपाध्यक्ष डिल्लीराज रावत, बागचौर नगर साहित्य परिषद् अध्यक्ष इन्द्र भण्डारी ‘अंकित’, कलाकार विनोदबाबु केसी लगायतको सहभागिता रहेको थियो।

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी ‘अरुण’को अध्यक्षतामा आयोजित कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले स्वागत मन्तव्य र सञ्चालन एसपी ढकालले गरेका थिए।

के हो घाउटा ?

जनजिब्रोमा रहेका र पुस्तान्तरण हुँदै आएका लोककविता/लोकसाहित्यलाई पश्चिम नेपाल र विशेष गरी सल्यानमा घाउटा भनेर चिनिन्छ।

पुस्तकमा उल्लेख गरिए अनुसार ‘रसिलो, भरिलो, हँस्यौलो, ठट्यौलो र अड्काउ शब्दहरुले सिर्जना भएका गीतका टुक्काहरुलाई घाउटा भनिन्छ। घाउटामा छेडछाड, बात सवाल र अड्काउ बढी हुन्छ। कतै कतै यसलाई अड्को पनि भनिन्छ। घाउटालाई कसैले गाउँखाने कथाको संज्ञा दिए पनि यो गीतमा सीमित भएकोले सोध्दा वा उत्तर दिँदा गाउँ लिने दिने चलन छैन।

घाउटालाई कतै कतै भाका हालेर गाउने गरिए पनि धेरै जसो ठाउँहरुमा लय मात्र मिलाएर ओठे सवाल जवाफको रुपमा व्यक्त गरिन्छ। घाउटाको रुपमा हेर्दा ठट्यौलो भए पनि सारमा गहिरो अर्थ दिने खालका बौद्धिक टुक्काहरु हुन्छन्। कुनै कुनै दोहोरी घाउटाका टुक्का भने नबुझिने र प्रश्नको उत्तर नै नभेटिएका पनि हुन्छन्।

खासगरी जुम्लाको सिँजाबाट नेपाली खस भाषाको उत्पत्ति हुँदै गर्दा स्थान अनुसार त्यो भाषाको विकास भई घाउटा साहित्य र लोकभाकाको शुरुवात भएको अनुमान गरिन्छ। विभिन्न स्रोतहरुका अनुसार भेरीकर्णाली क्षेत्रमा बढी प्रयोग हुने घाउटा साहित्यको उद्गम थलो जाजरकोट जिल्लाको मजकोट दरा हो।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार