
महेन्द्रनगर । बैतडीमा बिहीबार राति बस दुर्घटना हुँदा ९ जनाको निधन भएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन्।
बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको र उपचारको क्रममा डडेल्धुरा अस्पतालमा १ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले बताए।
दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा बिहीबार राती करिब साढे १० बजेतिर दुर्घटनामा परेको थियो। अधिकारीका अनुसार बस सडकभन्दा झण्डै ६ सय मिटर तल खसेर पूरै क्षतिग्रस्त बनेको छ।
रातीको समयमा दुर्घटना भएकाले उद्धारमा निकै कठिनाइ भएको र घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको अधिकारीले बताए।
बसमा ४९ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। निधन भएका र घाइतेहरुको पहिचान तथा दुर्घटनाको कारण समेत खुल्न नसकेको प्रहरीले जनाएको छ।