कमरेड प्रकाश तिम्रो अभाव खड्किरहन्छ

  रमेश मल्ल  759 पटक हेरिएको

देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो। पार्टीको सम्पूर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो। पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिमसहित पश्चिम नेपालबाट क्रमशः पूर्वतिरका कार्यक्रममा सरिक हुँदै हुनुहुन्थ्यो।

पार्टीका सिनियर नेताहरु देशबाहिरका कार्यक्रममा सरिक हुन सम्भव नभएकोले समाजवादी पार्टी अफ बङ्गलादेशको निम्तोमा पार्टीको प्रतिनिधित्व गर्दै युवराज चौलागाई र म ढाका पुगेका थियौं। महान अक्टुबर क्रान्तिको सतबार्षिकीको अवसरमा बंगलादेश समाजवादी पार्टीले ढाकामा दुई दिवसीय अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको थियो।

अघिल्लो दिन ढाकाको प्रमण्डलस्तरीय आन्तरिक अन्तरक्रिया र नारायणगन्ज जिल्लाको भेटघाट कार्यक्रम, यी दुवै कार्यक्रम सकेर विश्रामस्थलमा फर्किदा करिब रातको दुई बजिसकेको थियो।

साँझ अबेरसम्मको कार्यक्रमको चापले बिहान निद्रा ढिला खुल्यो। काठमाडौंबाट भतिज लेखराज शाहको फोनले गर्दा ब्यूँझायो। घडिमा सात बजेको थियो। उनले प्रकाश दाहालको ह्रदयघात भएको र नर्भिक हस्पिटलमा पु¥याइएको खबर सुनाए। म आत्तिएँ र युवराज चौलागाईलाई उठाएँ र खबर सुनाएँ। उहाँलाई पनि मलाई झैं यो खबर पत्याउन कठिन भयो।

काठमाडौंमा अरु श्रोतहरुबाट खबरको आधिकारिकता बुझ्ने प्रयास थाल्यौं। क्षणभरमै फेसबुकका भित्ताहरु रंगिइसकेका थिए। अनलाइन र टेलिभिजनको ब्रेकिङ न्युज प्रकाश दाहाल रहेनन्, अल बिदा प्रकाश दाहाल, समाचारको स्क्रीनबाट आँखा निकालें, आफूलाई सम्हाल्न गाह्रो भयो। बाथरुम पसें। युवराजजी पनि मसँग बोल्न नसकेर एकोहोरो बन्नुभएको थियो।

फेसबुकमा एउटा स्टाटस लेखें। शब्द धेरै व्यक्त गर्न सकिनँ। आयोजकलाई भनेर काठमाडौं फिर्ता हुने टिकट खोज्न लगायौं, भेटिएन। आफैले काठमाडौंमा सम्पर्क ग¥यौं, संभव भएन। तत्पश्चात एसपीबीका कमरेडहरुको योजनाअनुसार उक्त औपचारिक कार्यक्रममै कमरेड प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरियो। हामी गम्भीर शोक र पीडासहित भौतिक रुपमा ढाकाको कार्यक्रम हलमा थियौं तर सम्पूर्ण दृष्टि नर्भिक हस्पिटल, पेरिसडाँडा र पशुपति आर्यघाटमा केन्द्रीत भैरह्यो। साथीहरु शोकसागरको दृष्य लाइभ गरिरहेका थिए, मोबाइलको स्क्रिनमा हेर्न कठिन थियो। ढाकाको कार्यक्रम हलमा बगेको शोकाँश्रु आज सम्झँदा पनि सम्हालिन गाह्रो हुन्छ।

हामी माझबाट प्रिय कमरेड साकार दाहाल ‘प्रकाश’ भौतिक रूपमा बिदा भएको पनि तीन बर्ष पूरा भइसकेको छ। उनको अनुपस्थितिमा आज जति पनि राजनीतिक परिवर्तन भएका छन्– उनको यो सपना थियो, जुन उनले आफ्नै आँखा अगाडि देख्न पाएनन्।

सायद आज प्रकाश भएको भए, एकताको यो प्रक्रियाले अलि बढी गति लिन्थ्यो होला। नेताहरु बीचमा संवादको वातावरण अझ बढी सहज र सरल हुन्थ्यो होला। पार्टी कार्यालय र अध्यक्षको सचिवालयको काममा बढी सहज र सरल हुन्थ्यो होला। नेतृत्वको पारिवारिक तनावको त कुरै नगरौं, एक सबल योद्धा, जिम्मेवार सदस्य, एक जिम्मेवार बाबु, श्रीमान, पारिवारिक दायित्व काँधमा बोकेको छोरा, भातृत्वको भावना र मातृत्वको मुटुको टुक्रा जसको अभावमा अध्यक्षको परिवार कसरी गुज्रिरहेको छ मसँग व्यक्त गर्ने कुनै शब्द छैन। यो क्षति वर्तमानको भोगाई मात्र होइन, कम्युनिष्ट आन्दोलनमा भविष्यको यात्रामा भएको महशुस गर्न सकिने धक्का हो।

उनले मलाई सम्बोधन गर्दा सधैं दाई भनेर शुरु गर्थे। ‘दाई तपाई कता हो? के छ सिंहदरबारतिर? बुवाले कुरा गर्न खोज्नुभएको छ? विद्यार्थीको के छ? निर्वाचनमा त्यहाँ के हुन्छ? ल बुवासँग कुरा गर्नुस रे। दाई ल आइहाल्नुस् त बुवाले खोज्नुभएको छ’ लगायतका विभिन्न संवाद मात्र होइन, ‘दाई अब हाम्रो अगाडि अन्तिम अवसर छ कि गर या मर। यसपालि त जस्तोसुकै चुनौती सामना गरेर हामी सफल हुनैपर्छ। यो पार्टीको लागि, नेतृत्वको लागि र हाम्रो वर्गको लागि पुनः लयमा फर्कने अवसर हुन सक्छ। व्यक्तिगत चाहनाहरुलाई फेरि एकपटक शूलीमा नचढाई सफल बनिदैन है दाई।’

एक परिपक्व राजनीतिक कार्यकर्ताको रुपमा उनको प्रस्तुति कम मूल्यवान् थिएन। विद्यार्थी संगठनको मूल नेतृत्वको टिममा आएपछि र मुलतः संगठनको मुख्य नेतृत्व सम्हालेपछि म अध्यक्ष र उहाँको सचिवालयसँगको सम्बन्धमा बढी निकट भएँ। विद्यार्थी मोर्चाको अध्यक्षबाट विदाई भएको सातौं दिन मात्र बितेको थियो, अध्यक्ष कमरेड प्रचण्डले देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुग्नुभयो। प्रधानमन्त्रीको यो चुनौतीपूर्ण यात्राको एक सदस्य भएर जिम्मेवारी सम्हाल्ने अवसरकै सिलसिलामा कमरेड प्रकाशसँग बढी निकट रहेर काम गर्ने अवसर जुटेको हो।

कमरेड प्रकाश सामान्य परिवारमा जन्मे, संघर्षपूर्ण आँधीमय दिनहरू छिचोल्दै आफूलाई आमूल परिवर्तनको क्रान्तिकारी अभियानको सारथि बनाए। सर्वहारा हेडक्वार्टरको रक्षार्थ व्यक्तिगत जीवनलाई तिलाञ्जली दिए। पार्टीभित्र र बाहिरका सबैखाले गलत प्रवृत्तिसँग चनाखो भएर संघर्षमा खरो उत्रिए। मान्छे हुनुको नाता उनले कतिपय मानवीय कमजोरीका बाबजुद ती कमजोरीबाट सवक सिक्दै अघि बढेका थिए।

जतिबेला उनी हाम्रा बीचबाट अस्ताए, म दावाका साथ भन्न सक्छु, उनी सामान्य मान्छे मात्र थिएनन्। उनीसँग जीवन र जगतलाई बुझ्ने र बदल्ने नयाँ चेत र जाँगर थियो। त्यसलाई समायोजन गर्ने कौशलता थियो। समाजका विभिन्न अवयवहरुसँगको उनको घुलनशीलता मुलतः युवाहरु बीचमा उनको उपस्थिति एक उदीयमान विम्ब बनेर खडा हुँदै थियो। उनी अध्यक्षको पारिवारिक जीवनमा मात्र होइन राजनीतिक जीवनमा समेत सारथिको रुपमा खडा हुँदै थिए। उनका जीवनका झाँकीबारे यहाँ धेरै भनिरहनु पर्दैन होला।

जब म प्रधानमन्त्रीको टिममा रहेर काम गरिरहेको थिएँ। प्रधानमन्त्री दोश्रोपटक भए पनि हाम्रो टिम भने पहिलो पटकको र काँचै थियो। हामी सबै सिकारु नै थियौं। हामीले सहज कार्यविभाजन ग¥यौं। देशलाई नयाँ सन्देश दिनु थियो, विश्वासको। राजनीतिका थुप्रै प्रश्नहरुको काम गरेर उत्तर दिनु थियो। कार्यविभाजन अनुसारको काम गर्ने मियो प्रकाश नै बन्न पुगे। रातदिन नभनी प्रधानमन्त्रीसँग साथमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धका मुद्धाहरु डिल गर्नुपर्ने काम चानचुने थिएन। सायद प्रकाश जी नभएको भए व्यवहारिक कोणबाट हेर्दा यो सम्भव थिएन। उनले नै यो सब भूमिका पूरा गरे।

विभिन्न कवच लिएर गलत मनसायका साथ प्रधानमन्त्री कार्यालय वा निवासमा छिर्ने मान्छेको कमी थिएन। त्यसबाट प्रधानमन्त्री र उनको टिमलाई बचाउने कुरा पनि चानचुने विषय थिएन। आफ्नै नजिकका देखि पहुँचवाला राजनीतिक नेतृत्व किन नहोऊन्, त्यस्तो मनसाय छ भन्ने आँकलन गरि ढोकाबन्दको नीति अख्तियार गर्ने कुरामा प्रकाश कठोर बन्न तयार भए। प्रकाश आफै भन्थे, ‘बिचौलियाको बिगबिगी भएको आजको समाजमा बिचौलियाहरु पहुँचवाला नेतृत्व र आफन्तको फुर्को समातेर पस्न खोज्छन्, चनाखो हुनुपर्छ, यिनले हामीलाई डुबाउँछन्।’ यो उनको राजनीतिक परिपक्वताको द्योतक थियो।

पत्रकारिता क्षेत्र कुनै बेला उनको कटु आलोचक थियो। प्रधानमन्त्री कार्यालयमा हुँदा धेरैले त्यो सम्बन्ध प्रधानमन्त्रीको लागि बाधा बन्छ कि भन्ने आशंका गरेका थिए। तर हामीले धेरै समय कुर्न परेन। उनको सहज सम्बन्ध सञ्चालनको प्लेटफर्ममा देशका ठूला मिडियादेखि श्रमजीवी पत्रकारहरुको समूह केन्द्रीत भई रचनात्मक सहयोगको मोर्चामा उभियो। सत्तापक्षदेखि प्रतिपक्षसम्मका उच्चस्तरीय नेतृत्वदेखि देशका विद्धत वर्गको सहज सूचना आदान प्रदान र सम्बन्ध सञ्चालनमा उनी धेरै काविल देखिए। परराष्ट्र सम्बन्ध सञ्चालनमा पनि उनले आफ्नो बुवा र देशको प्रधानमन्त्रीलाई राम्रो साथ र हात दिए। तसर्थ मैले कमरेड प्रकाशको बारेमा मेरो पुस्तक छिमेक यात्रामा उल्लेख गरेको छु कि, ‘उनी नभएको भए हाम्रो सचिवालय र प्रधानमन्त्रीको सफलतामा धेरै ठूलो अभाव रहन्थ्यो होला।’

आज उनी छैनन् र हामीलाई त्यहीँ अभाव खड्किरहेको छ। बुवाको सहयोगी मात्र होइन सल्लाहकारको भूमिकामा उठिसकेको एक जिम्मेवार कमरेडको अभाव पार्टी अध्यक्षकोमा पक्कै होला। यसलाई पूरा गर्न भएका साथीहरु सफल हुनुहुनेछ। उनका योगदानबाट हामीले सिक्नेछौं, यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।

२०७७ मंसिर ३, काठमाडौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार