शान्ति प्रक्रियाका बाँकी काम छिटो टुङ्ग्याउन आयोगलाई आग्रह

  हल्कारान्यूज  228 पटक हेरिएको

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई आग्रह गर्नुभएको छ।

आयोगले बुधवार सुर्खेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न आग्रह गर्नुभएको हो।

देशमा भएको राजनीतिक परिवर्तनमा सहिद र बेपत्ता पारिएका योद्धाहरुको मुख्य भूमिका रहेको बताउँदै मुख्यमन्त्री शाहीले बेपत्ता पारिएका व्यक्तिका परिवारले लामो समयसम्म न्याय नपाउनु दुखद भएको बताउनुभयो। फर्केर आउने आशैआशामा वाँच्नु निकै पिडादायी हुने भन्दै मुख्यमन्त्री शाहीले बेपत्ता पारिएका परिवारजनलाई छिटोभन्दा छिटो न्याय दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

राजधानीमा मात्र कार्यक्रम गरेर आयोगको काम उपलब्धिमूलक हुन नसक्ने धारणा भन्दै मुख्यमन्त्री शाहीले हरेक जिल्लामा गएर पीडितका कुरा सुन्न आयोगलाई आग्रह गर्नुभयो।

मुख्यमन्त्री शाहीले बेपत्ता परिवारको लागि राहत र परिपूरणका कामका लागि प्रदेश सरकारले आवश्यक वजेट तथा कार्यक्रमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शिक्षा, स्वास्थ्यको नि:शुल्क गर्ने र रोजगारीको व्यवस्थाका लागि आवश्यक नीति बनाइने उहाँको भनाई थियो।

करार सेवामा समेत सहिद र वेपत्ता पारिएका परिवारजनका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा ऐनमा पनि त्यस्तो प्राथमिकताको लागि व्यवस्था गरिने बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार